काठमाडौं,२१ कात्तिक  । अवसरको खोजीमा विदेशीएका नेपालीलाई उनीहरूको पहिचानसँग जोड्दै नेपथ्यको दुबई कन्सर्ट सम्पन्न भएको छ । युनाइटेड अरब इमिरेट्स अन्तर्गत विश्वकै एक प्रमुख व्यापारिक केन्द्र हो दुबई । यो शहरभित्र विभिन्नखाले खेलकुद स्टेडियमहरू समेटेको विशाल परिसर ‘अल नासेर लिजरल्याण्ड’मै आइतबार नेपथ्य तेस्राेपटक प्रस्तुत भएको थियो ।

अघिल्ला कन्सर्टहरूभन्दा थोरै बेग्लै यसपाला नेपथ्यले पहिलो गीत नै दर्शकलाई उफार्नेगरी ‘हो रामा रामा’बाट सुरु गरेको थियो । यसरी प्रारम्भबाटै तीव्रता बोकेको सांगीतिक माहोलले गर्दा अरुबेला ‘आइस हक्की’ खेलिने ‘कार्पेटले ढाकिएको बरफ मैदान’ सुरुदेखि तातिन पुग्यो ।

खाडी राष्ट्रहरू नेपाली कामदारका निम्ति प्रमुख गन्तब्य बन्दै आएका छन् । यूएईले भने पछिल्लो समय नेपाली विद्यार्थीहरूलाई पनि आकर्षित गर्दैआएको छ । अमेरिकाको ‘न्यूयोर्क युनिभर्सिटी’ले एक दसकअघि स्थापना गरेको अबुधाबीस्थित विश्वविद्यालयमा पढ्दैआएका एक हुल विद्यार्थीहरू दुइ घन्टा लामो राजमार्ग यात्रा गरेर नेपथ्य अनुभवका लागि दुबई आइपुगेका पनि भेटिए ।

‘हामी १७ जना साथीहरू समूह बनाएरै आएका छौं,’ अल नासेरको परिसर भित्र भेटिएका संयम लामिछाने भनिरहेका थिए, ‘इन्टरनेटबाट नेपथ्य आउने खबर पाउनासाथ संगीतमा रुची राख्ने साथीहरू यो यात्राको तयारीमा जुट्न सुरुगरेका थियौं ।’

संयम एक वर्षदेखि उक्त विश्वविद्यालयमा कम्प्युटर र गणितका विद्यार्थी हुन् । सानैदेखि नेपथ्यको गीत सुनेर हुर्किएको भएता पनि बूढानिलकण्ठ स्कुलको होस्टल जीवनले गर्दा कन्सर्ट हेर्ने मौका पाएको थिइनँ,’ संयम भनिरहेका थिए, ‘उच्च शिक्षाका लागि विदेश आएपछि भने बल्ल यो मौका जुरेको छ ।’

संयम र उनीसँगै आएका थुप्रै छात्रछात्राहरूको हुल कन्सर्टभरि नाच्ने मात्र होइन, सकिएपछि ब्याण्डका सदस्यहरूसँग भेट्न पनि निकै आतुर देखिन्थे ।

कात्तिकको तेस्रो साता सकिँदा पनि दुबई अझै न्यानो छ । यस्तो शहरमा एक त दर्शक श्रोताहरूले टेकेको भुइँ मुनितिर जमेको बरफ तापक्रम र खुट्टाका चापले टुक्रिँदै गरिरहेको आभास मिलिरहेको थियो भने यस्तो मैदानमा फेरि माथिबाट हिउँ परेकै भान पार्नेगरि कृत्रिम हिउँको वर्षा हुन थाल्यो । अर्थात्, दोस्रो गीत थियो ‘भेँडाको ऊन जस्तो’

तेस्रो गीत नेपथ्यको सर्वकालीक लोकप्रिय ‘छेक्यो छेक्यो’ सम्म आइपुग्दा मैदानभरि जताततै नृत्य गर्नेहरू मात्र होइन, साथीहरूबाट बोकिएर नाच्न खोज्नेहरूको दृश्य पनि देखिन सुरु भइसकेको थियो ।

खाडी राष्ट्रका बारेमा ब्याप्त कतिपय धारणाहरूले दुबई शहर आइपुगेपछि बेग्लै अवतार ग्रहण गर्छ । यहाँ कन्सर्टमा रमाउन आउने युवा युवतीको पहिरन र उन्मुक्तता कतिपय पश्चिमा मुलुकहरूसँग तुलना गर्न मिल्ने स्तरको देखिन्छ । 

यसरी यतैको वातावरणमा ढालिँदै गएका प्रत्येक फरक आकृतिहरूलाई झक्झक्याउने गरी गायक अमृत गुरुङले ‘तपाइहरूलाई तपाइको देशको माया लाग्छ र’ भनेर सोध्दा भएभरका दर्शकहरू एकाकार भएर ‘लाग्छ’ भन्न छुटाउँदैन थिए ।

चौथो गीत अर्थात् ‘लामपाते सुरती’ गाउने बेलासम्म पनि हलमा दर्शकहरू आउने क्रम जारी थियो । यसरी प्रवेश गर्दैगरेका दर्शकहरू गेटैदेखि समूूहमा नाच्दै भित्रिएको दृश्य रोचक देखिन्थ्यो ।

‘चरी मर्‍यो’, ‘यो जिन्दगानी’ र भर्खरैको ‘शिरफूल शिरैमा’ जस्ता गीतहरू एकपछि अर्को बढ्दै गए । त्यसपछि घरपरिवार छाडेर खाडीको तातो मरुभूमिमा कमाउन आएकाहरूको चित्र अंकित भिडियोलाई पृष्ठमा देखाउँदै ब्याण्डले गाउन सुरुगर्‍यो:

‘मै मरि जाउँला, जीवन छोट्टो छ’

यो क्रमलाई निरन्तरता दिँदै फेरि अर्को गीत आयो:

‘आमाको कोखमा बास मात्रै पाएँ नि, कुन देशको मरन हौ हजुर’

घरि मायालु त घरि आमाको सम्झना गराउने आफूहरूको परिस्थितिलाई टपक्क टिपेर तयार पारिएका यस्ता गीत गाइरहँदा अरबको हलमा उपस्थित नेपाली आँखा सलबलाइरहेको देखिन्थ्यो।

‘लाहुर जाने परम्परा उहिलेदेखिको हो,’ दर्शक भावनासँगै एकाकार हुँदै मञ्चबाट गायक अमृत भनिरहेका थिए, ‘संसार फेरियो, तर हाम्रो भाग्य फेरिएन । जेजस्तो भए पनि त्यो नेपाल आमालाई चाहिँ नबिर्सिदिनुस् है ।’ त्यसपछि उही लाहुरे परम्परालाई सम्झाउने गरी भर्खर सार्वजनिक अर्को मिठो गीत उनले प्रस्तुत गरे :

‘नैना ताल नैना ताल

घुमि आयो रेल

आँखामा लाउने कालो गाजल

बुलबुलेमा तेल

नैना ताल’

मुलुकको राजनीतिमा धेरै उथलपुथल भएता पनि नेपालीको अवस्थामा कुनै परिवर्तन नआएको उल्लेख गरिरहँदा अमृतले यसरी विदेशमा बसेका नेपालीहरू फर्केपछि सबै मिलेर एकदिन जनस्तरबाटै मुलुकको भाग्यरेखा फेरिने आशा व्यक्त गरे ।

Nepathya-Amrit-Gurung-Photo

यसरी गीत सँगसँगै एउटा कथा पनि अघि बढिरहेको भान पार्ने कन्सर्टमा अबको पालो थियो राजनीतिक चेतनासँगै जोडिएको गीत ‘गाउँ गाउँबाट उठ– बस्ती बस्तीबाट उठ’

यतिन्जेल मानिसहरू मात्र होइन, सिंगो हल उफ्रिरहेको भान पर्न थालिसकेको थियो ।  दर्शकहरूमा जागेको नृत्यको यो तीव्र लयलाई समात्दै ब्याण्डले ‘मै नाँचे छमछमी’, ‘तालको पानी’ र ‘रेशम’ गाउन्जेल जे जस्ता दृश्य देखिए त्यसले नेपथ्य कन्सर्ट उत्तेजक बनाउनुमा प्रस्तोता मात्रै होइन दर्शकको पनि उत्तिकै भूमिका रहन्छ भन्ने पुष्टि गरिरहेको देखिन्थ्यो ।

अन्तिममा ‘रातो र चन्द्रसूर्जे’ प्रस्तुत गरिरहँदा हलभरि जताततै साथीको काँधमाथि चढेर राष्ट्रिय झण्डा हल्लाउनेहरूले चरमोत्कर्षको अनुभूति गराइरहेका थिए ।

02 Nepathya performing at the Al Nasr Ice Rink in Dubai. Photo-Kiran Rai1667819983

‘नेपथ्यको उपस्थितिसँगै संगीत र देशप्रतिको माया दुवै जोडिएर आउने गर्छ,’ कन्सर्ट सकिएपछि पत्रकार महासंघ यूएईका अध्यक्ष लक्ष्मण खनालको प्रतिक्रिया थियो, ‘प्रस्तुतीको हिसाबले यसपटक नेपथ्य कन्सर्ट अघिल्लो अनुभव भन्दा अझ उत्कृष्ठ पाएँ ।’ अन्यत्रका कन्सर्टहरूभन्दा अलिक बेग्लै अर्को दृश्य पनि दुबइमा देखिन्थ्यो, त्यो हो आयोजक स्वयं दर्शकहरूको हुलमा बसेर असिनपसिन हुँदै नाँचिरहेको देखिनु ।

‘यो व्यावसायिक सोँच भन्दा पनि लामो समयदेखिको सपनामा उभिएको आयोजना थियो,’ आयोजक आशिष पुरुष भनिरहेका थिए, ‘नेपथ्यलाई ल्याएर एउटा राम्रो कन्सर्ट प्रस्तुत गर्ने मेरो त्यो सपना पुरा भएको छ ।’

व्यवस्थापन, प्राविधिक लगायत १४ जनाको टोली बोकेर दुबई आइपुगेको ‘टिम नेपथ्य’मध्ये मञ्चमा भने गायक अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेसमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए । नेपथ्य टोली कत्तिक २३ गते स्वदेश फर्कने छ । शिलापत्र बाट