प्रेममा समर्पण, इमान्दारिता अनि लज्जा, युद्धमा मानवीयता र राजनीतिमा नैतिकता भएन भने त्यो भद्दा, अश्लिल अनि अनैतिक देखिन्छ । कांग्रेसले हिजो प्रतिनिधिसभामा सरकारलाई विश्वासको मत दिएर यही अनैतिकताको पृष्ठपोषण गरेको छ । हुन त, कांग्रेस सभापति देउवासंग नैतिकता खोज्नु भनेको निरर्थक नै हो । नेपालको राजनीतिमा सबैखाले विकृति, विसंगति भित्र्याउने देउवा नै भएको इतिहास साक्षी छ ।
- यसिमा महत
आफूलाई लोकतन्त्रको मसिहा ठान्ने नेपाली काँग्रसले संसदलाई प्रतिपक्षीबिहीन बनाएको छ । कांग्रेसले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरे पनि आफू प्रतिपक्षमै रहने बताएको छ, जुन लोकतन्त्रको विश्वव्यापी मूल्य, मान्यता र नेपालको संविधानको भावना विपरित छ । नेपालको संविधानले सरकारलाई समर्थन गर्ने दल प्रतिपक्षी नहुने प्रष्ट भनेको छ ।
नेपालको संविधानमा संसदमा कुल सदस्य संख्याको कम्तिमा १० प्रतिशत बढी सदस्य भएको र सरकारलाई समर्थन नगरेको दल प्रतिपक्षी हुने उल्लेख छ । अब कांग्रेसले आफूलाई प्रतिपक्षमा राख्यो र संवैधानिक परिषद्मा विपक्षी दलको नेताको रूपमा उपस्थिति जनायो भने त्यो संविधानको खिलाप हुनेछ । यो संवैधानिक र कानुनी प्रश्न पनि हुनेछ र अदालतसम्म पुग्ने प्रष्ट छ ।
हुन त कांग्रेसमा राजनीतिक पण्डितहरू २०५१ सालमा तत्कालिन एमाले अध्यक्ष मनमोहन अधिकारीको अल्पमतको सरकारलाई पनि कांग्रेसले फ्लोरबाट समर्थन गरेर प्रतिपक्षमा बसेको उदाहरण पेश गर्दै सरकारलाई समर्थन गर्नेले सरकारमा हिस्सेदारी लिनै पर्छ वा सत्ता पक्षमै बस्नुपर्छ भन्ने नभएको तर्क गर्छन् ।
यसो भनिरहँदा कांग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको संसद विघटन ठिक थियो भन्ने निष्कर्षमा पुगेको भेउ पाएन । किनभने तत्कालिन अवस्थामा ‘नेपाल अधिराज्यको संविधान २०४७’ क्रियाशिल थियो । त्यो संविधानले प्रधानमन्त्रीलाई जुनसुकै बेला संसद विघटनको अधिकार दिएको थियो ।
‘नेपालको संविधान २०७२’ ले न विकल्प रहुन्जेल न संसद विघटनको अधिकार प्रधानमन्त्रीलाई दिएको छ, न त सरकारलाई समर्थन गरेर प्रतिपक्षमा बस्न । अझ प्रधानमन्त्रीले संसद विघटन गर्न पाउने अधिकार ‘संसदीय लोकतन्त्र’ भएका मुलुकमा संसारभरी बहसको विषय छ । त्यसको कुनै बेला छुट्टै विवेचना गरौंला । अहिले एमाले अध्यक्ष ओलीले हिजो संसदमा बोल्नुभएको ‘काँग्रेसको ढोक्सा’ बारेमा चर्चा गरौं ।
प्रधानमन्त्रीमा नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहनुभएको पुष्पकमल दाहाल ‘प्रचण्ल’ लाई विश्वासको मत दिएर काँग्रेसले ‘ढोक्सा’ थापेको एमाले अध्यक्ष ओलीले हिजै संसद्को रोष्टममा बताउनुभयो । स–साना खोल्सा, कुलो वा पानी बग्ने कान्लामा माछालाई पासोमा पार्ने उदेश्यले बाँसको चोयाले बनेको सोली आकारको ढोक्सा थाप्ने चलन छ ।
काँग्रेसले प्रचण्ड सरकारलाई समर्थनरूपी ढोक्सामा माछा पर्छ कि पर्दैन त्यसका लागि भने केही समय प्रतिक्षा गर्नु पर्ला ! तर, नेपाली राजनीतिका चतुर खेलाडी मानिने एमाले अध्यक्ष ओलीले भने यसमा माछो नपर्ने दाबी गरिसक्नु भएको छ । केही दिनअघि सभामुख पाए काँग्रेसले सरकारलाई समर्थन गर्ने राजनीतिक बजार हल्ला चलेको थियो । सो हल्लाअनुसार माओवादीका केही नेताले कांग्रेसलाई त्यसको आश्वासन पनि दिएको चर्चा थियो ।
अहिले राष्ट्रपतिको पनि चर्चा छ । यद्यपी प्रचण्डले प्रधानमन्त्रीमा दाबी गर्नुअघि नै राष्ट्रपति एमालेको भागमा र सभामुख तथा प्रधानमन्त्री आलोपालोको सहमति भएकाले सिधा हिसाबमा कांग्रेसको ढोक्सामा राष्ट्रपति र सभामुख दुबै नपर्ने भन्न सकिन्छ । तर, ‘प्रेम, युद्ध र राजनीतिमा जे पनि जायज’ भन्ने निर्लज्जता देखाउने हो भने ढोक्सामा माछो पर्दैन भन्न सकिन्न ।
प्रेममा समर्पण, इमान्दारिता अनि लज्जा, युद्धमा मानवीयता र राजनीतिमा नैतिकता भएन भने त्यो भद्दा, अश्लिल अनि अनैतिक देखिन्छ । कांग्रेसले हिजो प्रतिनिधिसभामा सरकारलाई विश्वासको मत दिएर यही अनैतिकताको पृष्ठपोषण गरेको छ । हुन त, कांग्रेस सभापति देउवासंग नैतिकता खोज्नु भनेको निरर्थक नै हो । नेपालको राजनीतिमा सबैखाले विकृति, विसंगति भित्र्याउने देउवा नै भएको इतिहास साक्षी छ ।
त्यसो त नेपालको सत्ता राजनीति एमाले अध्यक्ष ओलीको पकडमा गएकामा सबैभन्दा दुःखी दक्षिण थियो । एमालेको समर्थनमा प्रचण्ड प्रधानमन्त्री नियुक्त भएदेखि नै उसले सक्रियता बढाएको थियो । यही मेसो पाउनुभएको अध्यक्ष ओलीले धुलीखेलमा जनसंगठन सुदृटिकरण कार्याशालालाई सम्बोधन गर्ने क्रममा राजनीतिमा केही षड्यन्त्र हुँदैछ भन्ने छनक दिनु भएको थियो ।
उहाँले ‘पर्खालमाथिबाट पसेर हस्तक्षेप नगर्न’ भारतको नाम नलिइकनै प्रष्ट भाषामा चेतावनी दिनु भएको थियो । काँग्रेसले हिजो बिहान संसदीय दलको बैठक बसेर समर्थन गर्ने निर्णय गरेको थियो । तर, त्यसको ७२ घण्टा अघि नै ओली यसबारे जानकार हुनुहुन्थ्यो । यसमा प्रष्ट के भएको छ भने, भारत ओलीको ग्रिपमा नेपालको राजनीति भएको मन पराउँदैन । ऊ सत्तामा काँग्रेसको पडक चाहन्छ, यसमा उसलाई सुविधा छ ।
किनभने ‘नाकाबन्दी’ लाई नाकाबन्दी भन्न भारतको डर मान्ने काँग्रेस, चुच्चे नक्सालाई अनावश्यक बखेडा ठान्ने काँग्रेस, चीनको ‘बेल्ट एण्ड रोड’ कार्यक्रमलाई मुल्तवीमा राख्ने काँग्रेस, चीनसंग हुँदै नभएको सीमा विवाद झिकेर भारतसँग चोचोमोचो मिलाउने कठपुतली काँग्रेस प्यारो लाग्नु स्वभाविक हो ।
नाकाबन्दी नखोली अन्य कुरामा प्रवेशै गर्दिन भन्ने ओली, मिचिएको भू–भागलाई नक्सामा समेटेर संसदको दुईतिहाइले पास गरेर संविधानको अंग बनाउने ओली, चीनसँग ब्यापार तथा पारवहनको सम्झौता गरेर अब कहिल्यै कसैले नाकाबन्दी लगाउन नसक्ने अवस्थामा पुर्याउने ओेली, चीनियाँ राष्ट्रपतिलाई नेपालमा बोलाएर भव्य स्वागत गर्ने ओली उसको लागि टाउको दुखाईको विषय हुनु स्वभाविक हो ।
नेपालमा नेपाली कांग्रेस बुढो पार्टी मानिन्छ । भारतको छिमेक नीति पनि कांग्रेसजस्तै बुढो भएको उसले पत्तो पाएको छैन । नेपाल जस्तो क्षेत्रफल र जनसंख्याको हिसावले सानो देशबाट पनि पटक–पटक झट्का लाग्दा पनि उसले छिमेक नीति सुधार्ने नाम लिएको छैन । ऊ नेपालको राजनीतिमा प्रतक्ष्य हस्तक्षेपकारी रोल चाहन्छ । सन् १९५० यता नेपालका नदी, नालामा धेरे पानी बगिसकेको उसले अझे पत्तो नपाएको देखिदैंछ ।
नेपाली जनताको चेतनास्तर अब १९५० ताकाको नरहेको उसले नबुझेसम्म यस्तै खेल अनेकौं पटक देख्न पाइन्छ । भारत नेपालको अभिभावक हुँ भन्ने घमण्डबाट मुक्त नभएसम्म नेपालमा राजनीतिक स्थिरता आउने छैन । नेपाल अस्थिर हुँदा भारत पनि सुरक्षित हुने छैन भनेर उसले बुझ्न जरुरी छ ।
छिमेकीको घरमा आगो झोस्दा झिल्को उडेर आफ्नै घरको छानामा आउनसक्ने कुरा उसले अब कहिले बुझ्ने ? खिचडी संसद (हंग पार्लियामेन्ट) हुँदा देउवाले भित्र्याएको सुरा, सुन्दरी र पजेरो काण्डले नेपाली राजनीति अहिलेसम्म दुर्गन्धित छ । अब पनि त्यसैको पुनरावृत्ति गर्ने देउवाको चाहना देखिएको छ । यसले नेपाली जनतामा निराशा बढाउने छ । व्यवस्था, नेता र दलहरूप्रति वितृष्णा बढाउँनेछ ।
दल र व्यवस्थाप्रति वितृष्णा बढ्नु लोकतन्त्रप्रति खतरा बढ्नु हो । जनताको वितृष्णाका कारण ल्याउने सुनामीले लोकतन्त्र त बगाउँनेछ र कुनै दल वा नेता सुरक्षित हुने छैनन् । यही मेसोमा हिन्दू राज्य र राजतन्त्र फर्काउने भारतको दाउ हुन पनि सक्छ । यदि त्यस्तो भए अब त्यसको जिम्मेवार देउवा र कांग्रेसहरू हुनुपर्नेछ ।



















