काठमाडौँ ,९ माघ ।  केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययनका लागि आएको चिनियाँ प्राविधिक टोली चीन फर्किएको छ । तीन साता नेपाल बसेर सम्भाव्यता अध्ययन कसरी गर्ने, भौगोलिक अवस्था के–कस्तो छ आदि विषयमा टोलीले रेल विभागका इन्जिनियरसँग जानकारी लिएको थियो ।

गत पुस २५ र २६ मा रसुवा पुगी अध्ययन गर्ने ठाउँसमेत हेरेर टोली फर्किएको छ । अध्ययनका लागि आएको प्राविधिक टोली चिनियाँ नयाँ वर्ष मनाउन तीन दिनअघि बेइजिङतर्फ गएको विभागका महानिर्देशक रोहित बिसुरालले जनाए ।

‘प्राविधिक टोली नआउँदासम्म अन्योल नै थियो । तर अब अन्योल छैन, अध्ययनको काम सुरु भएको छ,’ उनले भने, ‘प्राविधिक टोलीले अध्ययन गर्ने ठाउँ हेरेर फर्किएको छ । चिनियाँ नयाँ वर्ष मनाएर आएपछि अध्ययनको काम अघि बढ्छ ।’ प्राविधिक टोली फागुन दोस्रो सातातिर नेपाल फर्किनेछ । ‘अहिले ठाउँ हेर्ने काम मात्र भयो, दुई दिन लगाएर आयोजना क्षेत्रको सामान्य जानकारी लिने काम पनि भएको छ,’ उनले भने, ‘जसका लागि प्राविधिक स्याफ्रुबेंसी, धुन्चे र रसुवागढीसम्म पुगेको थियो ।’

चीनबाट आएको टोलीसँग रेल विभागका महानिर्देशक बिसुरालसहित विभागका सिनियर डिभिजनल इन्जिनियर अमन चित्रकारलगायत अधिकारी रसुवा पुगेका थिए । रेलमार्गको सम्भाव्यता अध्ययनका लागि गत पुस १२ मा चिनियाँ प्राविधिक टोली काठमाडौं आइपुगेको थियो । दुई देशबीचमा रेलमार्ग निर्माणको आर्थिक मोडालिटीबारे टुंगो नलागे पनि सम्भाव्यता अध्ययनको सम्पूर्ण खर्च भने चीन सरकारले बेहोर्ने प्रतिबद्धता गरेको छ । चाइना रेलवे फस्ट सर्भे एन्ड डिजाइन इन्स्टिच्युट ग्रुपका ६ जना प्राविधिक अध्ययनका लागि आएका थिए । उक्त रेलमार्गको चर्चा निकै पहिलादेखि भए पनि यसमा थप प्रगति हुन सकेको छैन । प्रारम्भिक अध्ययनअनुसार यसको सम्भाव्यता अध्ययन सक्न ४२ महिना लाग्नेछ ।

दुई वर्षअघिदेखि रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने भनिए पनि कोभिडका कारण चिनियाँ प्राविधिक टोली नेपाल आउन सकेको थिएन । यसअघि गरिएको पूर्वसम्भाव्यता अध्ययनमा प्रारम्भिक विषय मात्र आएका र अब हुने सम्भाव्यता अध्ययनबाट रेलमार्गको वास्तविक दूरी, सुरुङ, लागत, पुलको उचाइ, स्टेसनलगायत विषय टुंगिने जनाइएको छ । गत ०७८ चैतमा काठमाडौं–केरुङ रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने सहमति भएको थियो । चैतमा चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका बेला दुई देशका उच्च अधिकारीबीच छिट्टै अध्ययन गर्ने गरी समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।