हेटौंडा,२१ माघ । नेकपा एमालेको पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले वर्तमान समयको मुलुकको राजनीतिको मुख्य हिरो एमाले अध्यक्ष केपी शर्मा ओली भएको दावी गर्नुभएको छ ।

हेटौंडामा आयोजित राष्ट्रिय युवा संघ नेपालको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै नेता बस्नेतले मुलुकको नेतृत्वसँगै परिवर्तनको खाका तयार गरी कार्यान्वयवन गर्ने हिम्मत बालकोटको रहेको प्रष्टा पार्नुभयो । राष्ट्र, राष्ट्रियता र राष्ट्रिय स्वाधितको नेतृत्व गर्न सक्ने अहिलेको मुख्य नेता भनेको नै केपी ओली भएको दावी गर्नुभयो । केपी ओलीकै नेतृत्वमा मुलुकलाई नयाँ युगमा प्रवेश गराएको स्मरण गर्दै नेता बस्नेतले ओलीको नेतृत्वमा नै विश्वसामु नेपालको शिर उचो भएको बताउनुभयो ।

mahesh-basnet-yfउहाँले भन्नुभयो, ‘यो गठबन्धन बन्दा को प्रधानमन्त्री बन्छ, को राष्ट्रपति बन्छ, को सभामुख बन्छ ? भन्दा पनि यो गठबन्धन बन्दा केपी ओली मेन हिरो बन्नुहुन्छ भन्ने कुरा सवैभन्दा पहिला हामीले स्थापीत गरेको हो । बार्दलीमा राखेर प्रचण्डलाई कि चिया खुवाउनुहुन्छ की केही बनाउनुहुन्छ भनेर मैले पहिले पनि भनेको थिँए, नभन्दै बालकोटको बार्दलीमा बसेर अभिवादन गर्दै प्रधानमन्त्री बनाउनुभयो ।’

कांग्रेसको दम्भ र घमण्डलाई तोड्न र कांग्रेससँगै साम्राज्यवादी शक्तिहरुले नेपालको राजनीतिमा खेलेको नकारात्मक प्रभावलाई रोक्न अहिलेको गठबन्धन बनेको उहाँले बताउनुभयो । सामाजिक सञ्जालमा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने लगायतका केही व्यक्तिहरुका समुहले एमालेको नेता तथा नेतृत्वलाई गर्ने गरेका साइवर आक्रमणलाई रोक्न युवा संघका नेता तथा कार्यकर्ताहरुले देशभर लाग्नुपर्ने समेत उहाँले बताउनुभयो ।

मुलुक परिवर्तनको लागि युवाले गर्नुपर्ने आन्दोलनलाई आवश्यकता र रचनात्मक रुपमा अगाडी बढाउनुपर्नेमा जोड दिँदै उहाँले संघको अध्यक्ष वा पदाधिकारी नै हुनुपर्छ भन्ने भन्दा पनि मुलुकका युवाको माग र आवश्यकता अनुसार नेतृत्वले विदा लिन हिम्मत गर्नुपर्ने बताउनुभयो । युवा संघको नेतृत्वले गर्दा नै एमालेलाई निषेध भनिएको मधेष प्रदेशमा एमाले पहिलो पार्टी बन्न सफल भएको उल्लेख गर्दै उहाँले आगामी दिनमा पहिलो पार्टी भन्दा मािथ उठी बहुमत पार्टी बनाउने गरी लाग्न निर्देशन समेत दिनुभयो ।

एमाले बाहेक राष्ट्रपतिमा कसैको उम्मेदवार राष्ट्रिय सहमति नहुने उल्लेख गर्दै उहाँले भुकम्प, विभिन्न विपत्ती, महिला हिंसा, भ्रष्टाचार लगायतका कार्यहरुमा राष्ट्रिय सहमति नचाहिने कांग्रेसले राष्ट्रपतिको दावी गर्न समेत नसुहाउने बताउनुभयो । कांग्रेसले राज्यमन्त्री पाए पनि सरकारमा जाने भन्दै उहाँले कांग्रेस सत्ता र पदको लागि लम्पसार पर्ने बताउनुभयो ।