पथरी,१२ फागुन । वाल्मीकि मेमोरियल सेकेन्डरी बोडिङ्ग स्कूलले विविध कार्यक्रमको आयोजना गरी २५ औं वर्षगाँठ ( रजत जयन्ती) मनाएको छ। मावि तहसम्मको गुणस्तर शिक्षा प्रदान गर्दै आएको विद्यालयको प्राङ्गणमा विद्यालयका विद्यार्थी,अभिभावक तथा आगन्तुक सहित् सहभागीको माझमा उक्त विद्यालयले रजत जयन्ती समारोह मनाएको हो ।
माेरङको पथरीशनिश्चरे-२ मा अवस्थित विधालयले बिहिबार देखि औपचारीक कार्यक्रम गर्दै सुरु भएको रजत जयन्तीको शुक्रबार सम्पन्न गरेको छ । जयन्तीको समापन कार्यक्रममा विद्यालयका निर्देशक नोवल किशोर खनालले एक अन्तर्राष्ट्रिय गुणस्तर मापक संस्था - आई.एस. ओ.(ISO)बाट विद्यालयले सर्टिफिकेट प्राप्त गरेको कुरा सार्वजनिक गरे ।
सोहि अवसरमा संस्थापकत्रय केदार खनाल, अमर काफ्ले र तुलसी पौडेललाई दोसल्ला ओढाएर सम्मानित गरिएको थियो भने विद्यालय स्थापना कालका ८१ जना अभिभावकहरू तथा विद्यालय व्यवस्थापन समितिका संस्थापक अध्यक्ष डम्बर बहादुर राईलाई पनि सम्मान गरिएको थियो। सोही क्रममा लामो समयसम्म विद्यालयमा कार्यरत रही विशिष्ट योगदान पुर्याउने भुतपूर्व शिक्षक- शिक्षिकाहरू क्रमशः सम्झना भट्टराई, उर्मिला थापा, विरेन्द्र अधिकारी र कविता भण्डारी तिम्सिना लगायत २८ जना सम्मानित भएका थिए।
शिक्षक अभिभावक संघका अध्यक्ष नेत्र प्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सोहि विद्यालयका प्रिन्सिपल चन्द्र प्रसाद दुलालले वार्षिक प्रतिवेदन तथा भावि ५० वर्षे कार्ययोजना समेत पेश गरेका थिए। सोहि अवसरमा प्रदेश नं १ का प्याव्सन अध्यक्ष टिकाराम ढकालले मोरङ जिल्ला स्तरमा आफूलाई एक अग्रणी विद्यालयको रूपमा स्थापित गर्दै अन्तर्राष्ट्रिय स्तरमा पुर्याएकोमा खुशी लागेको बताए। त्यस्तै, पथरीशनिश्चरे नगरपालिकाका शिक्षा यूवा तथा खेलकूद शाखाका अधिकृत नवीन खुलालले " विद्यालयले राम्रो संस्कारको विकास गरेको भन्दै आगामी वर्षहरूमा समेत विद्यालयले यस्तै गरी सफलता चुम्दै जाने विश्वास व्यक्त गरे ।
हाल ११ कठ्ठा ५ धुर जमिनको क्षेत्रमा तीन वटा भवन र खेल मैदान निर्माण गरी विद्यालयका एस.ई.ई. सहित कक्षा ११ तथा १२ तर्फ उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई पनि पुरस्कृत गरिएको थियो।
उक्त अवसरमा पथरी बहुमुखी क्याम्पसका प्रमुख शान्तिराम तिम्सिना, ईलाका प्रहरी कार्यालय पथरीका प्रमुख डिएसपी लक्ष्मी भण्डारी, वडा नं २ का नैना साम्पाङ राई, लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागी विद्यार्थीहरुलेख विज्ञानसंग सम्बन्धी विभिन्न प्रयोगशालाहरू समेत प्रदर्शन गर्नुका साथै विभिन्न जातजातिका झाँकी, भेषभूषा सहित आ आफ्नो गायन, नृत्य तथा सांस्कृतिक कलाहरू प्रस्तुत गरेका थिए।



















