• ✍️  आचार्य अमृत 

शैक्षिक वर्ष २०३९ - २०४१ ( रहलपहल २०४२ का सुरुका केही महिना पनि ) मा म विश्वविद्यालय क्याम्पस, कीर्तिपुरमा रहेँ । क्याम्पसमा प्रवेश लिएका विद्यार्थीहरूका लागि भनेर त्यसभन्दा निकै अघिदेखि सहुलियत रकममा क्याफ्टेरिया ( क्याफे) को व्यवस्था गरिँदै आएको रहेछ ।

त्यो सहुलियत भनेको छाकको रु. २.५० का दरले क्याफ्टेरियालाई बुझाई महिना दिनको कुपन लिनुपर्ने व्यवस्था गरिएको थियो र हरेक छाक बैङ्कको चेक काटेजस्तो गरी कुपन च्यातेर लिई खाना खान क्याफ्टेरिया जानुपर्थ्यो । कसैका पाहुना आए भने प्रतिपाहुना रु. ३.५० छुट्टै बुझाउनुपर्थ्यो । हरेक बुधवार बिहानको खाना विशेष ( special ) हुने गर्थ्यो, त्यसका लागि थप पैसा तिर्नु पर्दैनथ्यो । विशेष खानाको दिन विद्यार्थीहरू ९ बजेदेखि नै लाइनमा बस्ने गरिन्थ्यो, अलिक भिडजस्तो अनुभव हुन्थ्यो ।

रहँदा बस्ता के सुनिन थाल्यो भने अब विश्वविद्यालयले क्याफ्टेरिया धान्न सक्तैन किनभने यो बर्सौँदेखि घाटामा गइरहेको छ । बेलाबेला क्याफे बन्द गर्ने अरे भन्ने पनि सुनिन्थ्यो तर त्यस कुराको छनक पाउनासाथ विद्यार्थी सङ्‌गठनहरू त्यसको विरोधमा सक्रिय भइहाल्थे । जसोतसो हामी रहुन्जेलसम्म अन्यथा केही हुन पाएन वा भएन । हामीले छोडेको १/२ वर्षपछि उक्त क्याफे बन्द गर्न विश्वविद्यालय प्रशासन बाध्य भइछोडेछ ।

लामो समयपछि हिजो र आज म कीर्तिपुर पुगेँ । केही बिल्डिङ बन्नुबाहेक खासै परिवर्तन भएजस्तो मलाई लागेन । झन्डै अढाई वर्षसम्म पाँच मोहरको खाना खाएको क्याफ्टेरियाको चिनिबानो केही रहेनछ, बरु अहिले त्यहाँ २/३ ओटा विशाल बिल्डिङ बन्दै गरेका रहेछन् । विगतको सम्झनाले मलाई केही भावुक पनि बनाएजस्तो लाग्यो । सबै कुरा इतिहास हुँदै जाने नै हुन्, त्यसबेलाका कुरा पनि आज  इतिहास नै भएछन् भन्ने ठानेर केही नमिठोपनको अनुभव गरी डेरातिर फर्केँ ।