✍️आचार्य अमृत 

प्रायश: सामान्य मानिसहरू र हवाइयात्रुहरूलाई पनि लाग्दो हो, विमान परिचारिकहरूको जीवन रमाइलै हुँदो हो किनभने नागरिक उड्डयन प्राधिकरणले परिचारिकाहरूको छनोट आन्तरिक क्षमता र बाह्य रूपाकृतिसमेतका आधारमा गरेको हुन्छ । सम्बन्धित परीक्षामा अब्बल स्थान प्राप्त गर्नेहरू मात्र विमान परिचारिकाको जिम्मेवारी वहन गर्न सक्षम हुन्छन्  र तिनै सफल उम्मेदवारहरूमध्येबाट उक्त पदका लागि परिचारिकाको चयन गरिन्छ । उनीहरू विमान चालकका अनन्य सहयोगी भएर आफ्नो कर्तव्यको निर्वाह गर्दछन् ।

मिति २०७९/१२/११ को 'कान्तिपुर' को लेख पढ्नुभन्दा अगाडि मलाई पनि लाग्थ्यो, उनीहरू सुखी जिन्दगी नै बाँचिरहेका होलान्  किनभने जुन जुन विमानमा चढेर जति पटक यात्रा गर्दा पनि उनीहरूमध्ये कसैको  अनुहार पनि अँध्यारो देखिँदैनथ्यो । यात्रुहरूलाई सहज मुस्कानका साथ विमानमा स्वागत गर्नु, उनीहरूलाई सिट फेला पार्न सहयोग पुर्‍याउनु, उनीहरूले आफूसँग लगेका हातेझोलाहरू सिटमाथिको स्थानमा राख्न सघाउनु, सिटबेल्ट बाँध्ने तरिका प्रयोग गरेर देखाउनु, बिरामी यात्रुको विशेष रेखदेख गर्नु, उडान र अवतरणको सूचना दिनु, बेलाबेलामा उचाइबारे पनि अवगत गराउनु, विमान कम्पनीले उपलब्ध गराएको पानी र केही खाद्यवस्तुहरू यात्रुहरूलाई वितरण गर्नु, अवतरणको समय हुन लागेपछि यात्रुहरूलाई विशेष सजग गराउनु आदि नै यात्रुहरूले अनुभव गर्ने विमान परिचारिकाका काम हुन् । 

उक्त 'कान्तिपुर' को पहिलो पृष्ठमा नै "एयरहोस्टेसले सुनाए विभेद र दुर्व्यवहारका कथा" शीर्षकमा सुरज कुँवरद्वारा लेखिएको एउटा लेख प्रकाशित छ । उक्त लेख पढ्दै जाँदा उनीहरू कति पीडामा बाँचिरहेका हुँदा रहेछन् भन्ने स्पष्ट भयो । उनीहरू मूलत: क्याबिन क्रुका पुरुषहरूद्वारा सताइँदा रहेछन् । कहिले घुम्न जान प्रस्ताव गर्ने, कहिले अनावश्यक रूपले पानी मागिरहने, कहिले ककपिटमा बोलाएर केरकार गर्ने, पिर पर्ने खालका शब्दको प्रयोग गर्दै काममा लगाउने, हेप्ने आदि कुरा लेखमा उल्लेख गरिएको छ । हुनत 'गोप्य रिपोर्टिङ सिस्टम" को पनि देखावटी व्यवस्था त भएकै हुँदो रहेछ, तर आफूलाई दुर्व्यवहार वा अपमान गर्नेका विरुद्ध धेरै परिचारिकाहरू त जानै डराउँदा रहेछन् किनभने  जतिसुकै गोप्य भनिए पनि रिपोर्टिङ गर्ने को हो भनेर त पत्ता लागिहाल्ने रहेछ । पितृसत्तात्मक समाजमा आफैँलाई दोषी देखाइने प्रबल सम्भावना भएकाले परिचारिकाहरू आँसु पिएरै आफ्ना काममा लागिरहँदा रहेछन् । त्यो लेख पढेपछि त मलाई लाग्यो, उनीहरूको मुस्कानभित्र त असह्य पीडा र वेदनाले पो घर गरिरहेको रहेछ ।

अब यहाँ बोल्नै पर्ने कुरो के हो भने जहाँ पनि केही दुष्ट मानिसहरूको कुकृत्यका कारणले गर्दा त्यही पेसामा रहेका गुणी र इमानदार मानिसहरूलाई पनि "एउटा बिराउने, शाखा पिराउने" जस्तो हुने गरेको छ तर फेरि "नबिराउनु, नडराउनु" भन्ने अर्को कहावत पनि उत्तिकै प्रभावी छँदै छ । यदि राज्य जनताप्रति पूर्ण उत्तरदायी हुन्थ्यो भने सञ्चार माध्यममा यस्ता कुरा आउनासाथ त्यसलाई गम्भीर रूपमा लिएर त्यस्ता क्रियाकलापलाई निर्मूल गर्ने संयन्त्रको निर्माण गरी अघि बढिहाल्थ्यो, तर हाम्रामा  "मरेका भोलिपल्ट दुई दिन" भनेजस्तै मिडियामा आयो आयो, त्यसको औचित्य त्यसै दिन सकियो । अर्को दिनदेखि पीडितबाहेकका मानिसहरूलाई "त्यस्तो समाचार पनि थियो र ?" भन्ने लाग्ने नै भयो । पीडितहरूले उन्मुक्ति पाउने त कहाँ हो कहाँ !!