✍️आचार्य अमृत
मान्छेसँग जे छ, उसले त्यही मात्र अरूलाई दिन सक्छ । आफूसँग नभएको चिज कसैले कसैलाई पनि दिन सक्तैन, यो अकाट्य साँचो कुरो हो ।
मैले चासो राख्ने भनेको भाषा हो, खासगरी आफ्नै मातृभाषा नेपाली । आज नेपालीमा 'ऐन' भन्न नसक्नेहरू ज्यास्ती नै हुँदै गए । उनीहरू 'ऐन' लाई अलिकति पनि लज्जाबोध नगरीकन 'एन' भन्छन् । त्यसैगरी उद्योग, विद्या, विद्यार्थी, विद्यालय, विद्युत् आदि 'द' र 'य' संयुक्त रूपवाला व्यञ्जन वर्णहरू सोझै 'ध' उच्चरित हुने गरेका छन् । 'उधोग', 'बिधा', 'बिधार्थी', 'बिधालय', 'बिधुत' लेख्ने र बोल्ने गर्नाले नेपाली भाषा विद्रूप बन्दै जाँदै छ । अरू त अरू, स्वयं शिक्षकको पेसामा रहेर काम गर्नेहरू पनि यस्तै प्रयोगको सिकार भएको देख्ता मलाई दु:ख र कुरीकुरी दुवै लाग्ने गरेको छ । हुँदा हुँदा कैयौँ समय आफ्नै सहकर्मी रहेका मित्रजीहरूसमेत यो कुरो उठाउँदा 'अब पार लाग्दैन' भनेर भन्न थाल्नुभएको छ भने अब मैले अरण्य रोदन गर्नुबाहेक अरू केही बाँकी रहेको देख्तिनँ । अझै पनि केही होला कि भन्ने झिनो आशा रहेकाले यतिसम्म लेखिटोपलेको हुँ । भाषासम्बन्धी अनेक बखेडा झिक्तै 'भाषाको विकासक्रम' सिकाउने उपबुज्रुकहरू छ्यास्छ्यास्ती भएको समय हो यो । मजस्ता अल्पशिक्षितलाई त बोल्न पनि दिँदैनन् । मेरो स्टाटसप्रति कसैको सकारात्मक दृष्टिकोण बन्यो भने केही ठोस तर्क राखेर भाषा मास्न तम्सनेहरूलाई केही सबक सिकाउनुहोला । होइन र यहाँहरूको सोचाइ पनि 'अब पार लाग्दैन' भन्ने नै छ भने यस्ता कुरामा आफ्नो बौद्धिक ऊर्जा अलिकति पनि खर्च नगर्नुहोला भन्ने पनि मेरो आग्रह छ ।
एक जना सुमधुर स्वरवाला वाचकबाट जगन्नाथ उपाध्याय गुरागाञीविरचित 'गुणरत्नमाला' मा रहेको 'प्रश्न र उत्तर' शीर्षकको कविता सुनेँ । त्यसमा 'निरुद्योगले' भन्ने शब्द पनि रहेछ । त्यसलाई वाचकले शुद्धसँग उच्चारण गर्न नसकी 'निरुध्योगले' नै भन्नुभयो । त्यत्तिको स्तर बनाइसकेका व्यक्तिको त त्यो हाल छ भने अरूको त के कुरा गरिरहनु र !



















