आज उपभोक्तावाद विश्वमा विकराल काल बनेर हामीसामु आएको छ । मानिसलाई आवश्यक नै नपर्ने वस्तुहरू जबर्जस्ती उत्पादन गरी ती वस्तुहरू आवश्यक छन् भन्ने भान पार्न विशाल धनराशि खर्च गरेर तिनको व्यापक विज्ञापन गर्ने गरिन्छ । आम मानिसको दिमाग एक प्रकारले भुटिँदै गएको अनुभव हुन्छ । नेपालजस्तो विदेशी ऋणले थिचिएको मुलुकका नागरिकहरू निजी सवारी साधनबिना पाइलै सार्न नसक्ने अवस्थामा पुर्याइएका छन् । दुई जोरदेखि तीन जोरसम्म साधारण कपडा भए पुग्नेमा दर्जनौँ जोर कपडा नभई नहुने पारिएको छ ।
केटाकेटीहरूलाई घरमा बनेका पोषणयुक्त खानेकुरा दिने गरिएकामा आज उनीहरूको स्वास्थ्यमा हानि पुर्याउने खाद्यवस्तुको बजारमा मारामार छ । जति धेरै विलासिताका सामान प्रदर्शन गर्न सक्यो, त्यति नै आफ्नो इज्जत बढ्छ भन्ने मिथ्या ज्ञानले कथित सभ्य मानिसहरूको दिमाग र मन पूरै बिटुलिएको छ । आडम्बरलाई नै सभ्यताको प्रतीक ठान्नाले चाहिनेभन्दा नचाहिने वस्तुको खरिद र प्रयोगले मुलुक ढाकिएको छ । उत्पादन केही छैन, उपभोगचाहिँ खप्नै नसकिने किसिमको छ । यसलाई नियन्त्रण गर्ने कुरामा सरकार पूरै उदासीन छ ।
सबै होहोरेमा कुदेका/कुदाइएका छन् । उपभोक्तावादी चिन्तनका कारणले बाहिर जानु नपर्ने खरबौँ रकम बाहिर गइरहेको छ । बोलीविहीन देशभक्तबाहेक अरू कसैलाई यसको चासो छैन । हरेक वस्तुका मोडेलहरू ३/३ महिनामा फेरिइरहेका हुन्छन् । नयाँ मोडेल बजारमा आउनासाथ ३ महिनाअगाडि किनेको वस्तु कि त फोहोरका थुप्रामा फालिन्छ, कि त कबाडी सामानका रूपमा कौडीमा मिल्काइन्छ । अब मुलुकले कसरी धान्न सक्छ ? अर्थशास्त्रीहरू यी सब कुरा बुझ्छन्, तर बोल्दैनन् किनभने उनीहरू पनि जानी नजानी उपभोक्तावादकै पक्षमा आफू रहनु उपयुक्त ठान्दा हुन् । बुद्धिजीवीहरू त माथि रहेका बराजुहरूले जे जे गर्छन्, त्यसलाई ताली ठोकेर समर्थन गर्ने नातिका रूपमा आफूलाई चिनाउने भइसकेका छन् ।
निर्वाचनमा असीमित खर्च गरेर जनप्रतिनिधि बनेकाहरूलाई त्यो खर्च उठाएर आगामी निर्वाचनका लागि जोहो गर्ने कुरा सोच्तैमा ठिक्क छ, तिनले देश र जनताका लागि कुनै माखो मार्ने सम्भावना देखिँदैन । मितव्ययिता के हो र यसलाई कसरी क्रियान्वित गर्न सकिन्छ भन्ने सोच्ने कुनै अधिकारप्राप्त व्यक्ति भेटिँन छोड्यो । दुई दशक अगाडिसम्म खाद्यान्नमा आत्मनिर्भर मुलुक अहिले खाद्यान्न आयात नगरी अडिन नसक्ने भयो । पार्टीकाहरूलाई पार्टी जोगाउँदै ठिक्क छ । कुन पार्टीको कुन मान्छे कहिले कुन पार्टीमा उपियाँफड्काइ गर्छ भनेर भन्न नसकिने भयो । अब कसले मुलुकका ज्वलन्त समस्याको पहिचान गर्ने र तिनको समाधानका लागि कदम चाल्ने ?
अब मुलुकमा यस्तो व्यक्तिको उदय हुनुपर्छ जो राष्ट्र र राष्ट्रवासीको हितका लागि जे पनि गर्न सक्ने होस् । मुलुकलाई रसातलमा लैजानेहरूमाथि पूर्ण रूपले विजय प्राप्त नगरुन्जेल उसले कुनै हालतमा पनि विश्राम नलेओस् । यदि त्यस्तो मान्छे अगाडि आउने हो भने उसले सबै देशभक्त जनताको साथसहयोग पाउन सक्छ, यसमा कुनै सन्देह नै छैन । मुलुक अधिकांश कुरामा आत्मनिर्भर नहोउन्जेल मुलुकमा जे छ, त्यसैले मात्र काम चलाउने र उत्पादन बढाउन सकिने जति कुरामा उत्पादन बढाउन सक्ने हो भने मात्र नेपाललाई कङ्गाल बनाउन कम्मर कसेर लागेको विश्व-उपभोक्तावादी साम्राज्यको चङ्गुलबाट मुक्त हुन सकिएला, होइन भने निकट भविष्यमा नै हामी उपभोक्तावादी मन्दविषका सिकार भएरै छोड्नेछौँ ।
यो पढ्ने मेरा सबै मित्रहरूले यसलाई सस्तो स्टाटस मान्नुहुने छैन भन्ने विश्वासमा छु । नयाँ पुस्तालाई सचेत गराउन सकिएन भने उपभोक्तावादले हाम्रो अस्तित्व नै मेटाइदेला भन्ने डर मलाई मात्र लागेको हो कि यहाँलाई पनि लागेको छ, त्यो जान्न पनि मलाई मन छ ।



















