प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताको काम असार मसान्तभित्रै सकिने बताएका छन्।
पार्टी एकता टुंग्याउन केही अलमल देखिएको स्वीकार गर्दै अध्यक्ष ओलीले यो आर्थिक वर्षभित्रै पार्टी एकता पूर्ण रुपमा सक्ने बताए।
मदन भण्डारीको ६८ औं जन्मजयन्तिको अबसरमा मदन भण्डारी फाउन्डेशनले शनिबार काठमाडौंमा गरेको विचार गोष्ठीमा अध्यक्ष ओलीले जनताको बहुदलिय जनवाद नै पार्टीको सिद्धान्त भएको बताए।
उनले एकता टुंगिन केही समय लाग्दा खिसीट्युरी गरिएको बताए। ‘हामीले जनताको बहुदलिय जनवाद कार्यक्रमको नाम राखेका छौं,’ उनले भने, ‘केहीले अलिकति हामीलाई खिसीट्युरी गरेका छन्, एकता टुंगिएको छैन भनेर। ठूलो काम गरेका छौं त्यसले अलिकति अलमल सिर्जना भएको छ।’
यो आवभित्रै पार्टी एकता सकेर नयाँ आवदेखि उत्साहसाथ सरकार अघि बढ्ने उनले बताए। ‘निराश हुनुपर्ने कुनै कारण छैन। यो आवभित्र एकता प्रक्रिया पूरा हुन्छ,’ उनले भने, ‘अर्को आर्थिक वर्षमा नयाँ उत्साहसाथ हामी अघि बढ्छौं।’ उनले काठमाडौंमा धुलो हट्दै गएको, सडक कालोपत्रे गरिएको बताए। ‘सरकारले राम्रो काम गरेको छ। सरकार महान उद्देश्यमा दृढ छ। काठमाडौंमा माक्स लगाएर नाक थुनेर कोही हिड्दैन,’ उनले भने।


