- ✍️ आचार्य अमृत
के के आइलाग्छ के के ! सोचेको कुरो पनि भएको छ, नसोचेको कुरो पनि भएकै छ । यो दिमागले पनि कति थाम्ने हो ! कहिलेकाहीँ त बोल्नसम्म पनि सकिँदैन जस्तो लाग्छ, तर नबोली पनि धर पाइने होइन । गत राति पनि त्यस्तै परिस्थितिको सामना गर्नुपर्यो । सम्पूर्ण प्राणीले गरेका पाप र पुण्यको लेखाजोखा दुरुस्त राख्ने चित्रगुप्त महाराजको फन्दामा परियो । एक्कासि पुगिएछ उनकै कार्यकक्षमा । अब के चाहियो ? देख्नासाथ बूढाले अनेक प्रश्न सोध्न थालिहाले । भागेर उम्कने ठाउँ कतै नदेखेपछि उनले सोधेका प्रश्नको जबाफ नदिई धरै पाइएन ।
अब प्रस्तुत छ हाम्रा बिचमा भएको सवाल जबाफ ।
- तिमी कहाँबाट यहाँ आइपुग्यौ ?
- पृथ्वीबाट भगवन् ।
- पृथ्वी भनेर मात्र हुन्छ ? पृथ्वीको कुन देशबाट ?
- हिमाली देश नेपालबाट ।
- के तिमीलाई लिन यमदूत गएका थिए ?
- थाहा छैन । म ता अकस्मात् यहाँ आइपुगेँछु, भगवन् ।
- त्यो कसरी सम्भव छ ? आफूखुसी कुनै प्राणी पनि यहाँ आउन सक्तैन । साँचो कुरा के हो, नलुकाईकन भन, नत्र तिमीले धेरै दु:ख पाउनेछौ ।
- मैले ता जति पाउनुपर्ने दु:ख उहीँ पाइसकेको छु, अब थप दु:ख के नै होला र !
- के के दु:ख पायौ त ? खुलस्तसँग भन ।
- ( रिसाउनुपर्ने अवस्था भएर पनि आफूलाई मध्यम आदरार्थी सर्वनाम र क्रियापद प्रयोग गरेको पाउँदा चित्रगुप्त सभ्य रहेछन् जस्तो लागेछ ) सानैमा मातापिताको निधन भयो, आफ्नो खेतबारी केही थिएन । खानका लागि अर्काका घरमा गएर रातदिन काम गरेँ । बिहान ५ बजेदेखि राति १० बजेसम्म नबिसाईकन काम गर्दा पनि मालिकले एकदिन पनि खुसी प्रकट गरेनन् । पढ्न पनि पाइनँ । मलाई कालो अक्षर भैँसी बराबर छ । कोही मान्छे देख्यो भने उससँग डर र धक लागेर झाडीतिर पस्ने गर्छु । यहाँ हजुरसँग पो फटाफट बोल्दै छु, उहाँ त के आउँथ्यो र बोल्नु ! मान्छे भएर पनि पशुको भन्दा पनि गएगुज्रेको जिन्दगी बाँच्तै आएको छु, भगवन् ।
- तिमीलाई सबभन्दा को राम्रो लाग्छ ?
- अरूले यो प्रश्न सोधेका थिए भने सोध्नेलाई तिमी नै राम्रो भनिदिने थिएँ हुँला । हजुरलाई म ढाँट्तिनँ । मलाई सबभन्दा मनपर्ने म आफैँ हुँ किनभने मैले आफूलाई मन नपराउने हो भने कसरी अरूलाई मन पराउन सक्छु ? यदि मैले आफूलाई मन पराउँदैनथेँ भने आजसम्मन् टिक्न सक्तैनथेँ, सायद आत्महत्या गरिसक्थेँ हुँला ।
- आफूपछि नि ?
- आफूपछि आफ्नो परिवार, साथीसँगी, छरछिमेकी, नातेदारहरू, समाज, राष्ट्र र विश्वलाई मन पराउँछु ।
- अरू अरू त तिमीले भनेको पछाडिबाट पो सुरु गरेर आफूलाई अन्तिममा मन पराउने भन्छन् त, तिमीचाहिँ आफूलाई अगाडि र विश्वलाई अन्तिममा राख्ता रहेछौ ।
- त्यो तिनीहरूको ढोँग मात्र हो । बाहिर त्यसरी भने पनि भित्र उनीहरू मैले बाहिर भनेजस्तै हुन्, म यो कुरा ठोकेरै भन्न सक्छु ।
- अनि तिमीले कस्ता कस्ता मान्छे देखेका छौ ?
- मैले जे बोल्ने त्यही गर्ने मान्छे पनि देखेको छु, एक थोक बोल्ने अर्को थोक गर्ने पनि देखेको छु, देशभक्तहरू पनि देखेको छु, देशद्रोहीहरू पनि देखेको छु, अर्काबाट सापट लिएर नतिर्ने लिच्चडहरू पनि देखेको छु, भगवन् ।
- तिमीचाहिँ आफूलाई यीमध्ये कुनमा राख्छौ ?
- त्यो पर्गेल्ने क्षमता ममा छैन । बरु हजुरकै त्यस खातामा होला ।
- ( खाता पल्टाएर हेर्दै ) तिमीले राम्रो नराम्रो कुनैको पनि रेकर्ड बनाउन सकेका रहेनछौ । त्यसैले तिमीलाई स्वर्गलोक पठाउन पनि सकिँदैन र यमलोक पठाउन पनि सकिँदैन तर तिमीले सबभन्दा आफूलाई माया गर्ने जुन कारण बतायौ, त्यो मलाई मन पर्यो । यस्तो सत्य अरू कसैले बोलेको अहिलेसम्म मलाई थाहा छैन । तिमीले यहाँ आफू कसरी आयौ भन्ने कुरा प्रस्ट नगरेका हुनाले तिम्रो आयु पुगेको रहेनछ भन्ने पक्का भयो । त्यसैले अहिलेलाई तिमी पृथ्वीतिरै झर, झरिहाल । अहिलेसम्म तिम्रो आम्दानी शून्य नै देखियो । यस वार्तालापबाट फाइदा लिन सक्यौ भने तिम्रो आयु पुगेपछि धर्मराजका दूतहरू तिमीलाई लिन आउनेछन् र स्वर्गतिर लैजानेछन्, होइन र प्राणीहितविरोधी कामतिर लाग्यौ भने दाह्रानङ्ग्रा भएका यमदूतहरू आएर तिमीलाई नरकतिर लैजानेछन्, यी दुवै कुरा तिमीमै भर पर्छन् ।
- प्रभु, म तिलबराबर मात्र भए पनि प्राणीहितकै पक्षमा काम गर्नेछु र पुन: हजुरलाई भेटेर योभन्दा पनि राम्ररी आफ्ना कुरा राख्नेछु ।
त्यसैबेला कसैले एक्कासि माथि उचालेर पानीमा चोबलेजस्तो भयो । आच्छुछुछु मात्र के भनेँछु, छ्याङ्गै उज्यालो भइसकेको रहेछ ।



















