काठमाडौं । सिस्डोलमा स्थानीयको निरन्तर अवरोधका कारण उपत्यकामा फोहोर थुप्रिएको छ । पाँच दिनदेखि उपत्यकामा फोहोर व्यवस्थापनमा समस्या आउँदा संक्रमणको खतरा बढेको छ । संक्रमणका कारण उपत्यकामा गम्भीर खालका रोग फैलन सक्ने भय बढेको चिकित्सकले बताएका छन् । उपत्यकामा फोहोर थुपिँ्रदा दुर्गन्ध फैलिएको छ । उपत्यकावासीहरु सडकमा नाक छोपेर हिँड्न बाध्य छन् । प्रतिकूल मौसमका तथा घना बस्ती रहेकाले उपत्यकामा छिट्टै संक्रमण फैलने खतरा बढेको भन्दै चिकित्सकले चिन्ता व्यक्त गरेका छन् । नुवाकोटको ककनी गाउँपालिका–२ मा स्थित सिस्डोल ल्यान्डफिल साइटमा फोहोर व्यवस्थापन हुँदै आएकोमा स्थानीयले विभिन्न माग राख्दै अवरोध गरेपछि समस्या उत्पन्न भएको हो ।
काठमाडौं महानगरपालिकाको नेतृत्वमा २०६२ देखि उपत्यकाका तीनवटै जिल्लाको फोहोर सिस्डोलमा व्यवस्थापन हुँदै आएको छ । काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोल सहमति भए पनि स्थानीयले अवरोध कायमै राख्दा फोहोर उठाउन नसकिएको बताउँछन् । उपत्यकामा दैनिक ११ सय टन फोहोर संकलन हुने गरेको छ । यस अवधिमा थुप्रिएको ५ हजार टन बढी फोहोर अस्तव्यस्त छ । महानगरपालिकाका वातावरण विभाग संयोजक हरिकुमार श्रेष्ठ जनप्रतिनिधिले सहमतिका विषयमा स्थानीयलाई विश्वस्त पार्न नसक्दा स्थानीयले अवरोध नरोकेको बताउँछन् । श्रेष्ठका अनुसार स्थानीयलाई जग्गा उपयोगबापत दिइँदै आइएको रकममा पुनरावलोकन गर्ने सहमति भएको थियो । श्रेष्ठले भने, ‘सर्वपक्षीय छलफलबाट सहमति भएकाले स्थानीयको अवरोधले फोहोर व्यवस्थापन रोकिँदैन । फोहोर बोकेका गाडी यताबाट गएका छन् र जाने क्रम जारी छ । छिट्टै थुप्रिएको फोहोरको व्यवस्थापन हुनेछ ।’
शुक्रबार काठमाडौं महानगरपालिकाको अगुवाइमा सहरी विकास मन्त्रालय, स्थानीय जनप्रतिनिधिलगायतको उपस्थितिमा भएको वार्ताका क्रममा स्थानीयको अवरोध रोक्ने सहमति भएको थियो । तर, शनिबार फोहोर बोकेर त्यहाँ पुगेका कन्टेनरलाई अवरोध गरियो । प्रहरीले बल प्रयोग गरेर अवरोध हटाउने प्रयास गरे पनि अवरोध रोकिएन ।
स्थानीयले सिस्डोल व्यवस्थापन संघर्ष समिति गठन गरेर आन्दोलन गर्दै आएका छन् । उनीहरुले जनप्रतिनिधिले संघर्ष समितिको प्रतिनिधित्वबिना नै जनप्रतिनिधिले सम्झौताको नाटक गरेकाले फोहोर ल्याउन नदिने बताएका छन् । संघर्ष समितिका सचिव सन्तराज श्रेष्ठ भन्छन्, ‘हामी फोहोर व्यवस्थापनको विरोधी होइनौं । तीन वर्षका लागि भनेर सम्झौता गरिएको स्थानमा १४ वर्षसम्म फोहोर थुप्रिँदा समस्यामा छौं । हामी फोहोरको वैज्ञानिक व्यवस्थापन गरोस् र हामीलाई समस्याबाट मुक्त गराओस् भन्नेमा आसमा छौं । जनप्रतिनिधिले हाम्रो मागमाथि राजनीति गरे ।’
उपत्यकाको फोहोर व्यवस्थापनका लागि तत्कालका लागि सरकारसँग कुनै विकल्प छैन । सहरी विकास मन्त्रालयले नुवाकोटकै बन्चरेडाँडामा अर्को ल्यान्डफिल साइट निर्माण गरिरहेको छ । तर, निर्माणको सुस्तता तथा बाँकी प्रक्रियाका कारण अझै समय लाग्ने देखिन्छ । सहरी विकास मन्त्रालयअन्तर्गतको सहरी विकास विभागका महानिर्देशक इन्जिनियर मणिराम गेलाल आगामी महिनाबाट बन्चरेडाँडामा फोहोर व्यवस्थापन गर्न सकिने सम्भावना रहेको बताउँछन् ।
फोहोरले संक्रमण यसरी बढ्न सक्छ
फोहोर हुनु भनेको जविाणु उत्पत्ति हुनु हो । यदि फोहोरमा केमिकल पनि मिसिएको छ र त्यो कुनै न कुनै माध्यमबाट व्यक्तिको शरीरमा पस्यो भने रोगको जोखिम पनि उच्च हुन सक्छ । फोहोर जम्मा भएको ठाउँमा ब्याक्टेरिया हुन्छन् । फोहेरमा भएको संक्रमणको जीवाणु खानेकुरासम्म कुनै न कुनै माध्यमबाट पुग्न सक्छ । सफा ठाउँभन्दा फोहोर ठाउँमा संक्रमणको जोखिम बढी हुन्छ । फोहोरकै कारण झडापखाला र टाइफाइड हुन सक्छ । तसर्थ, घरवरपर सफाइ गर्न जरुरी छ ।


