"पश्चिम किल्ला काँगडा पूर्वमा टिस्टा पुगेथ्यौँ
कुन शक्तिको सामुमा कहिले हामी झुकेथ्यौँ !"
यो राष्ट्रकवि माधव घिमिरेको सबै देशभक्त नेपालीद्वारा अत्यन्त रुचाइएको देशभक्तिपूर्ण रचना हो । यसले सुगौलीसन्धि हुनुभन्दा अगाडिको नेपालको भूक्षेत्रको सङ्केत गरेको छ । पृथ्वीनारायण शाहपछि उनैका कान्छा छोरा बहादुर शाहद्वारा परिचालित नेपाली सेनाले वीरतापूर्वक आर्जन गरेको विशाल नेपाल त्यसपछिका शासकहरूले जोगाएर राख्न सकेनन् ।
सन् १८१६ मा सुगौली भन्ने ठाउँमा नेपाल र अङ्ग्रेज कम्पनी सरकारबिच एउटा सन्धि भयो, जुन सुगौलीसन्धिका नामले चर्चित छ । वास्तवमा त्यो सन्धि नेपाल जोगाउने नाममा कम्पनी सरकारसँग भएको थियो, भारत सरकारसँग होइन । जुन कम्पनी सरकारलाई गलत मानेर भारतले सन् १९४७ मा सदाका लागि बिदा नै गरिसक्यो भने त्यसले गरेका सन्धिसम्झौताहरू अद्यापि मानिरहनु कति नामर्द र लज्जास्पद कुरा हो ! त्यसपछि अनेक शासक आए, गए तर त्यो विशाल नेपाली भूभाग सन्धिअनुसार भारतकै हो भनेर स्वीकार गर्दै । कपटले वशीभूत भारतले त त्यो कुरो उठाउने सवालै भएन । उठाउनुपर्थ्यो नेपाली शासक पक्षले, त्यो आँट कसैमा आएन, बरु उल्टै हरेक राजनीतिक निर्णयहरूको निर्णायक नै भारतलाई बनाउन थालियो ।
भारतको दलाली गर्दै उससँग लम्पसार परेर आफ्नो सम्पूर्ण पुंसत्व गुमाउने काम हुँदै गयो । अनि परिणाम देखिन थाल्यो - कालापानी, लिपुलेक र लिम्पियाधुरा हडप्नु ; सुस्ता, महेशपुर, मानेभन्ज्याङलगायत अनेकौँ स्थानका सीमामा अतिक्रमण गर्नु, गौतम बुद्ध भारतमा जन्मिएका हुन् भन्दै विश्वलाई असत्य सूचना दिनु आदि । हुँदाहुँदा अहिले अखण्ड भारतका नाममा नेपालका लुम्बिनी, कपिलवस्तुलगायतका ठाउँहरू आफ्नो नक्सामा पारेर नयाँ संसद्भवनमा राख्नेसम्मको दुस्साहससमेत नरेन्द्र मोदी नेतृत्वको सरकारले गरेको छ ।
यस्तो अवस्थामा नेपालका कथित सत्ताधारी भने त्यसका विरुद्धमा बुलन्द आवाज निकाल्दै त्यसको सशक्त विरोध गर्नु त कता हो कता, त्यही संसद्भवनकाे भित्र छिरेर सफल भ्रमणको हौवा दिँदै तीन करोड नेपालीलाई मूर्ख बनाउँदै यसो गरेँ र उसो गरेँ भन्दै नेपालका रोस्टमहरूमा उभिएर गर्जँदै रहेका छन्, तर यो गर्जन होइन, लाचारीको कुइँकुइँ मात्र हो ।
त यस्ता यस्ता नेपालविरोधी गतिविधि भारतले चलाइरहेका बेला काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र साहले कामविशेषले आफू भारत रहेकै बेला आफूले नेतृत्व गरेको पालिकाको कार्यक्षमा ग्रेटर नेपालको नक्सा राख्ने आदेश दिएका छन् । कतिपय पार्टीका कतिपय कायर मानिसहरू बालेनको यस कदमलाई ओझेलमा पार्न 'पपुलर हुनका लागि' भन्दै ताइ न तुइको विरोधमा लागेका छन् अरे भनेर पनि सुनिँदै छ । यदि यस्ता गम्भीर कुरामा पनि त्यसरी 'अन्डर इस्टिमेट' को बोली बोलिन्छ भने त्यसभन्दा अर्को नीचता केही पनि हुनेछैन भन्ने म ठान्छु । केही जना मिलेर बनाइएको ग्रेटर नेपाल नामक पार्टी यसबेला पनि सक्रिय हुँदैन भने त्यो पनि अब इतिहासको गर्भमा विलीन भएर जानेछ ।
त्यति गतिलो आँट गर्ने बालेनले अब सम्पूर्ण देशभक्त नेपालीलाई समेट्न सक्नुपर्छ जसले गर्दा अङ्ग्रेज कम्पनीसँग गरेको अवाञ्छित सुगौलीसन्धि पूर्णरूपमा निष्कृय बनोस् र पश्चिम किल्ला काँगडादेखि पूर्वको टिस्टासम्मको भूभाग नेपालमा फर्काउन सकियोस् । प्रमुख बालेन्द्र साहलाई हामी सबैले मन, वचन र कर्मले साथ दिन सकौँ । यदि यस पवित्र कदममा पनि कोही साथ दिँदैन भने ऊ र उसले नेतृत्व गरेका झुन्डमय जत्थाहरू पनि बिलाएर जानेछन् भन्ने मलाई लाग्छ । यो पढिदिनुहुने सबै मित्रहरूलाई हार्दिक धन्यवाद ।



















