जनकपर : मधेशमा उत्पात गर्मी थियो । गर्मी छल्न सर्लाही, ईश्वरपुर–१३ का १२ वर्षीय अमित राय साथीसँगै घरनजिकैको बाँके खोला पुगे । खोलाको गहिराइ र पानीसित उनी अभ्यस्त थिए । पौडी खेल्न पनि माहिर ।
अरु दिनजस्तै उनी खोलामा हामफाले । सँगै गएका साथी डिलमै थिए । खोलामा हामफालेको एक मिनेटसम्म अमितले एकपटक पनि डुबुल्की लगाएनन् । निकैबेरसम्म सतहमा ननिस्किएपछि साथी आत्तिए । उनी दौडिँदै बस्तीमा पुगे र अमित खोलाबाट ननिस्केको बताए । स्थानीयवासी तुरुन्तै पुगेर उद्धार प्रयास गरे, सम्भव भएन ।
अमित हामफालेको ठाउँमा गहिरो खाल्डो थियो । स्थानीयले खबर गरेपछि उद्धारमा सशस्त्र प्रहरी खटियो । करिब २४ घण्टाको प्रयासपछि आइतबार खोलाको खाल्डोबाट अमितको शव निकालियो । नुहाउन खोलामा हाम फालेका अमितको टाउको खाल्डोकोमाटोमा गाडिएको थियो ।
उद्धारमा प्रहरी ढिलो पुगेको र मनलाग्दी बालुवा–गिट्टी झिकेर गहिरो खाडल बनाएको भन्दै स्थानीय आक्रोशित भए । बाँके खोला महोत्तरी र सर्लाहीको सीमामा पर्छ । त्यसैले दुवै जिल्लाले ठेक्का लगाएर ढुंगागिट्टी झिक्न दिने गरेका छन् ।
खोलाको पश्चिमी भाग सर्लाहीको ईश्वरपुर नगरपालिका तथा पूर्वी भागमा महोत्तरीको बर्दिवास र सर्लाहीको हरिपूर्वा नगरपालिकाले ठेक्का लगाउँछन् । बर्दिवास र हरिपूर्वा नगरपालिकाले एक–एक वर्षको अन्तरमा खोला ठेक्का लगाउँछन् । यो वर्ष खोला ठेक्का लगाउने पालो हरिपूर्वा नगरपालिकाको हो ।


