प्रधानमन्त्री किन यति धेरै भारतको सेवामा लिप्त हुनुभएको छ ? ‘नेपालको प्रधानमन्त्री भारतले बनाइ दिन्छ, प्रधानमन्त्री बन्ने भए भारत जानु’ भन्ने सन्देश प्रवाह गरेर दाहाल के गर्न खोजिरहनु भएको छ ? एउटा सार्वभौम मुलुकको प्रधानमन्त्रीले यतिसम्मको निकृष्ट काम गर्न सुहाउँछ ? किमार्थ सुहाउने र क्ष्यम्य हुने कुरा होइन

  • ✍️गणेश बस्नेत

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यतिबेला आफ्नै आपत्तिजनक हर्कतले बिवादमा तानिनु भएको छ । नेपालमा रहेका भारतीय ब्यवसायी प्रितम सिंहको बिषयमा आफ्नो पदीय मर्यादा, स्वाभिमान र राष्ट्रियतामाथि नै कालो पोत्ने काम प्रधानमन्त्रीकै कुर्सीमा रहेका ब्यक्तिबाट भएको छ ।

सर्वाभौमसत्ता सम्पन्न प्रतिनिधिसभाबाट प्रधानमन्त्री चुनिने तथ्यलाई अन्यत्रै मोडेर भारतले बनाउँछ नेपालको प्रधानमन्त्री भन्ने सन्देश दिन दाहाल हतियारका रुपमा प्रयोग हुनुभएको छ । उहाँले भन्नुभएको छ, ‘मलाई प्रधानमन्त्री बनाउन प्रितम सिंहले धेरै मेहनत गर्नुभयो, धेरै चोटी दिल्ली जानु पनि भयो । काठमाडौंका नेताहरुलाई पनि धेरै छलफल गर्नुभयो ।’

प्रधानमन्त्री दाहालको यो भनाई आइरहँदा हलमा सहभागीहरुले ताली बजाए । किचिक्क हाँसेर ‘म भारतले बनाइ दिएको नेपालको प्रधानमन्त्री’ भन्ने सन्देश दिँदै गर्दा दाहालमा कुनै लज्जाबोध भएन । ताली बजाउनेहरुमा पनि त्यो लज्जा देखिएन । अर्थात लाज पनि लजाउने त्यो हर्कत जारी रहिरह्यो । देशकै लज्जाबोध हुने यो दृष्यलाई इतिहासको गर्भमा छाडनुको बिकल्प छैन । प्रधानमन्त्री दाहालले आफूलाई नयाँदिल्लीले नै प्रधानमन्त्री बनाइ दिएको भनिरहँदा दिल्लीका दूतका रुपमा माओवादीकै नेतृ पम्फा भुसालको निवास प्रितम सिंहदेखि भारतीय दूतहरुसँग छलफल गर्ने अड्डा रहेको तथ्य पनि खोल्नुभएको छ ।

प्रधानमन्त्री किन यति धेरै भारतको सेवामा लिप्त हुनुभएको छ ? नेपालको प्रधानमन्त्री भारतले बनाइ दिन्छ, प्रधानमन्त्री बन्ने भए भारत जानु भन्ने सन्देश प्रवाह गरेर दाहाल के गर्न खोजिरहनु भएको छ ? एउटा सार्वभौमसम्पन्न मुलुकको प्रधानमन्त्रीले यतिसम्मको निकृष्ट काम गर्न सुहाउँछ ? किमार्थ सुहाउने र क्ष्यम्य हुने कुरा होइन । बिगतमा अहिले कायम रहेकै गठबन्धन भारतका लागि कम्फर्टेवल हुन्छ भन्ने अभिब्यक्तिले झस्काइरहेको बेला प्रधानमन्त्रीकै कुर्सीमा रहेर दाहालले दिल्लीभक्ति देखाउनुले झनै पीडा दिएको छ ।

हुन त दाहालकै कारण नेपाली राजनीति विवादास्पद र अस्थिर बनेको कुरामा कुनै संदेह छैन । दाहाल सत्ता र शक्तिका लागि जे पनि गर्न सक्नुहुन्छ भन्ने कुराका दर्जनौं प्रमाणहरु रहेका छन । ‘प्रितम सिंहले मलाई प्रधानमन्त्री बनाउन धेरै पटक दिल्ली पनि जानुभयो’ भन्ने प्रधानमन्त्री दाहालको भनाईले मुलुक र नेपाली जनताको स्वाभिमानमाथि नै नराम्रोसँग प्रहार गरेको छ । प्रधानमन्त्री दाहालको यो हदसम्मका नकचरोपन, आत्मसमर्पणवाद र लाज पनि लजाउने हर्कत अहिलेसम्म देखिएको थिएन । उहाँको यो हदको निकृष्ट कार्य देखेपछि नेपाली जनता भन्न बाध्य हुनुपरेको छ, ‘प्रधानमन्त्री हमारा, दिल्लीका कमारा ।’

प्रधानमन्त्री को हुने भन्ने कुरामा वाह्यरुपमा जतिसुकै चलखेल भएपनि अन्तिम टुंगो लगाउने थलो प्रतिनिधि सभा हो । जननिर्वाचित प्रतिनिधिसभाको सर्वोच्चतालाई अपमानित गर्ने र अवमुल्यन गर्ने दाहालको अभिव्यक्ति क्षमायोग्य छैन । तर यति गम्भीर बिषयमा सत्तारुढ दलका एक जना नेता र सांसद बोल्न सकिरहेका छैनन । यो झन अर्काे बिडम्बना हो । प्रधानमन्त्रीको यो भनाईले उहाँ नेपाल र नेपाली जनताबाहेक सवैतिरको चिन्ता र चासो राख्नुहुन्छ भन्ने तथ्यलाई उजागर मात्रै गरेको छैन प्रधानमन्त्रीको कुर्सीमा बस्न लायक छैन भन्ने प्रमाणित गरेको छ ।