इटहरी । झापाको शिवसताक्षी नगरपालिका स्थायी ठेगाना भइ हाल इटहरी उपमहानगरपालिका वडा नंवर ४ मा आफन्तको संरक्षणमा बस्दै आएकी किशोरी प्रियंका नेपाललाई एशियन लाइफ इटहरी शाखा कार्यालयले बीमा रकम प्रदान गरेको छ ।
एशियन लाइफ इन्स्योरेन्स कम्पनीमा केही वर्ष अघि १ लाख ५ हजार रुपैयाँको जीवन बीमा गरेकी प्रियंकाकी आमा ३५ वर्षीया टिकादेवी रायमाझीको मृगौला रोगबाट मृत्यु भएपछि उनको हकवालाको रुपमा रहेकी उनकी एकमात्र छोरी प्रियंकालाई कम्पनीले बीमा रकम दिएको हो ।
आइतवार एक कार्यक्रमका बीच सुनसरी क्षेत्र नंवर २ का प्रदेश सभा सदस्य सर्वध्वज साँवाले कम्पनीले उपलब्ध गराएको १ लाख ४१ हजार १५ रुपैयाँको चेक किशोरी प्रियंका नेपाललाई हस्तान्तरण गरेका हुन् चेक हस्तान्तरण गर्दै सांसद साँवाले थोरै थोरै रकम बचत गरेर बीमा गर्न सके आप्mनो जीवन रहँदा आँफैले र जीवन पश्चात आफन्तले पनि राहत पाउने भएकाले यो आर्थिक सुरक्षाको राम्रो माध्यम रहेको बताए
प्रियंकाका अनुसार इटहरीमा केही वर्ष अघिदेखी डेरालिएर बस्दै आएका प्रियंकाका बुवा युवराज नेपालको मृगौला रोगबाट गत पुस २८ गते निधन भएको थियो । श्रीमानको निधनपछि परम्परा अनुसार काज क्रियामा बसेकी टिकादेवी काज क्रियाकै क्रममा वेहोस भएकी थिइन । एक वर्षदेखी मधुमेह रोगबाट पिडित टिकादेवीलाई काजक्रियाको १२ औं दिनमा मधुमेहको असर उच्च भएपछि उनी बेहोस भएकी थिइन ।
माघ ९ गते बेहोस भएपछि उपचारकालागि नोवेल मेडिकल कलेज बिराटनगर पुर्याइएकी टिकादेवीको उपचारकै क्रममा माघ १७ गते विहानको राती निधन भएको थियो । १५ दिनको अन्तरमा दुवै आमा बाबु गुमाएकी प्रियंका अहिले मावली हजुरआमासँग डेरामा बस्दै आएकी छन् । आमा बुवा गुमाएको शोकको घडीमा पनि इटहरीको सेतो वंगला स्कूलबाट एसइइ परिक्षा उत्कृष्ट नतिजा ल्याएर उतिर्ण हुन सफल प्रियंका विज्ञान विषय लिएर प्लस टु गर्ने र त्यसपछि बिएससी नर्सिंग पढने लक्ष्य राखेको बताउँछिन् ।


