• युवराज बास्कोटा
  • नेकपा (एमाले)का केद्रीय कमिटी सदस्य, शब्द–श्रद्धाञ्जली साभार 

पथरी,१० साउन । पूर्वको हिरा भनेर चिनिनुहुने आरसी अर्थात् रामचन्द्र थपलियाको मंगलबार निधन भएको छ । पछिल्लो केही समययता स्वास्थ्योपचारको अवस्था नाजुक बन्दै गएपछि थप सघन उपचारका लागि राजधानी काठमाण्डौँ लगिएको थियो । काठमाण्डौँस्थित वीर अस्पताल कक्षमा सघन उपचार पाइरहनुभएका उहाँलाई बचाउने प्रयास हिजोदेखि टुटेको छ । 

झापाको सुरुङ्गास्थित निज निवासतर्फ काठमाण्डौँबाट उहाँको पार्थिक शरीर ल्याइरहिएको छ । आज मध्यान्ह १ बजे कन्काइमाइ खोला घाटमा उहाँको अन्तिम दर्शनसहित अन्त्येष्टि हुने कार्यक्रम तय भएको शोकाकूल परिवारजनको तर्फबाट भाइ भगतचन्द्र थपलियाले जनाउनुभएको छ । 

कमरेड आरसी– देहान्तको समयसम्म नेकपा (एमाले), कोशी प्रदेश कमिटी सचिवालय सदस्यको जिम्मेवारी निर्वाहको क्रममा हुनुहुन्थ्यो । कमरेड आरसी अर्थात् रामचन्द्र थपलियालाई पूर्वी पहाडी जिल्ला तेह्रथुमबाट आरम्भ भएको कम्युनिष्ट आन्दोलन निर्माणको प्रश्नमा चट्टान भएर अनवरत उभिन र लाग्न सक्ने पात्रको रूपमा निशंकोच लिइन्छ, निर्धक्क चिनिइन्छ । 

कम्युनिष्ट आन्दोलन र मोर्चासम्बद्ध संगठन निर्माणकालका अत्यन्तै कहालीलाग्दा कष्टकर दिनहरू र कमरेड आरसीको संलग्न–सक्रियतामा सधैँभरि अभिन्न र अन्योन्याश्रित सम्बन्ध छ । 

बाल्यकालीन दिनहरूमै तीक्ष्णबुद्धिको धनी कमरेड आरसी शिक्षाको उज्यालो ज्योति छर्ने कामको मसाल बोकेर निस्कनुभयो । औसतमाझ उभिँदा अग्रगति र प्रगतिका साथ अध्ययन गर्नुभएका उहाँले आफूलाई शिक्षा, जागरण र चेतना विकासको मिसाल बनाउनुभयो । 

शिक्षण पेशासँगको सम्बन्ध सामिप्यताले एकाबेलामा कमरेड आरसीलाई चुहान डाँडास्थित चुहान डाँडा क्याम्पसको प्रमुख बनायो । पेशामा रहँदा होस् वा अघिपछि ! कमरेड आरसीले आफ्नो सम्पूर्ण उर्जा, उर्वरता र सामथ्र्यलाई कम्युनिष्ट आन्दोलनको वृद्धि–विकासमा खर्चनुभयो । 

बंश र बंशले बीजांकुरण गराएको अंश भने झैँ कमरेड आरसीको सहोदर भाइ कमरेड भगतचन्द्र थपलिया सपरिवार पूर्वोत्तर मोरङको कम्युनिष्ट आन्दोलन निर्माणको प्रश्नमा उब्जने प्रश्नको निरुपण सँगसँगै यसको मूलधारमा मियो बनेर उभिनुभएको छ । 

तेह्रथुमको कम्युनिष्ट आन्दोलनले उहाँलाई सधैँभरि एउटा निडर बाजजस्तो निर्भीक स्वभावको धनी हस्तीका रूपमा, इमान र निष्ठाको इस्पातिलो संगठकका रूपमा, यहाँको सामाजिक–राजनीतिक कामको हकमा एउटा गर्विलो धरोहरको रूपमा सम्झने छ । यहाँको इतिहास अभिलेखनमा गह्रुंगो लेखन उहाँको हुनेछ । 

दाजुको बिग्रँदो स्वास्थ्य अवस्थाकै समयदेखि एकदमै विक्षिप्त बन्नुभएका कमरेड भगतचन्द्र थपलिया सहित थपलिया परिवारजनमा पर्न गएको यो बज्रपात सहन गर्ने क्षमता वृद्धि होस् ! शोकाकूल सबैमा सहानुभूति राख्दै दिवंगत अग्रज कमरेड आरसीप्रति अश्रुभावपूर्ण शब्द–श्रद्धाञ्जली अर्पण गर्दछु ।

नेकपा (एमाले)का केद्रीय सदस्य  युवराज बास्कोटाको फेसबुक वालबाट साभार गरिएको शब्द–श्रद्धाञ्जली