काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही समयअघि एक टेलिभजन कार्यक्रममा दिएको अन्तरवर्ताले राष्ट्रिय राजनीतिमा ठूलो तरङ्ग पैदा गर्यो ।

अन्तरवार्ता दिने क्रममा अध्यक्ष प्रचण्डले पार्टी एकताको बेला अर्का अध्यक्ष केपी शर्मा ओलीसँग गरिएको ‘आलोपालो’ सरकार सञ्चालनबारे सहमतिको प्रशंग उठाएपछि बहस र विवाद अहिलेसम्म जारी छ ।

तर, अहिले आएर प्रचण्डले आफ्नो अभिव्यक्तिले सृजना गरेको परिस्थितिबारे आत्मालोचना गरेका छन् । सोमबार पार्टीको संसदीय दलको बैठकमा अध्यक्ष प्रचण्डले आफ्नो अभिव्यक्तिबाट पर्न गएको अप्ठ्यारो परिस्थितिको जिम्मेवारी लिएका हुन् ।

बैठकमा सहभागी नेकपाका एक सांसदका अनुसार प्रचण्डले बैठकमा आफ्नो अभिव्यक्तिका कारण दुई अध्यक्षबीच असमझदारीको स्थिति सृजना भएको स्वीकार गरेका थिए ।

प्रचण्डको भनाई उद्धत गर्दै उनले भने, ‘पछिल्लो केही दिनमा अलिअलि हामी दुई अध्यक्षबीचमा परेकै हो ।’ यद्यपि, दुई नेताबीच छलफल पछि अहिले त्यो परिस्थितिको अन्त्य भएको पनि प्रचण्डले जानकारी दिएका थिए । ‘हामीले छलफल गर्यौँ र एकअर्कामा विश्वासमा छाँै अझैपनि,’ प्रचण्डले बैठकमा भनेका थिए ।

प्रचण्डले आफ्नो अभिव्यक्तिबारे आत्मालोचना गर्दै त्यसको जिम्मेवारी लिने पनि बताए । ‘म आफूबाट अभिव्यक्त भएका कुराले केही अप्ठ्यारो परेको भए त्यसको जिम्मेवारी लिन्छु । मैले रियलाइज गर्छु । तर अब यो पार्टीलाई बलियो बनाएर अगाडि जाने हो,’ प्रचण्डले भनेका थिए ।

अर्का एक नेताका अनुसार बैठकमा प्रचण्ड निकै गम्भीर देखिएका थिए । ती सांसद भन्छन्, ‘पूर्व एमाले माओवादीको नकारात्मक कुरा खोज्दै हिँड्ने, पूर्व माओवादीले एमालेको नकारात्मक कुरा खोज्दै हिँडेर केही पनि भेटिँदैन । त्यसरी हामी कँहि पुगिदैन । हाम्रो लक्ष्यमा पुग्न सकिँदैन ।’

‘एकअर्कालाई अलि बुझ्न नसकेको उहाँको आशय थियो,’ ती सांसदले भने, ‘पार्टीभित्र एकताको आशय नबुझिकन केही साथीहरुबाट आएका अभिव्यक्ति अनुपयुक्त छन् भनेर प्रचण्डले भन्नु भयो ।’

सोमबार सत्तारुढ नेकपाको संसदीय दलको बैठकमा सरकारको कामकारबाही र पार्टी एकता भएको ढिलाईलाई लिएर नेतृत्वको चर्को आलोचना भएको छ । सोमबार बसेको संसदीय दलको बैठकमा २९ जना सांसदले आफ्ना धारणा राखेका थिए ।

बैठकमा सहभागी एक सांसदका अनुसार २७ जना सांसदले सरकारको कामकारबाही र मन्त्रालयगत बजेटको बिषयलाइ लिएर चर्को असन्तुष्टि जनाएका थिए । दुई जना सांसद पदम गिरी र निरु पालले भने सरकार र प्रधानमन्त्रीको बचाउमा बोलेका थिए । सांसदहरुले मन्त्रीहरुको चर्को आलोचना गरेपछि बैठकमा तीन जना मन्त्री पनि बोलेका थिए ।

दलको बैठक शनिबार पुनः बस्ने भएको छ ।