झापा,२० साउन । उमेर त मेरो नातिनातिना खेलाएर रमाउँदै बस्ने भयो । तर बाध्यता यस्तो छ कि ज्यामी काम नगरी घरमा बिहान बेलुकी आगो बल्दैन । नरोएको दिन नै हुँदैन । 

उमेरले ५७ वर्ष लागे । उमेरको मात्र त के कुरा र पिरले ज्यान गलेर एक मुठ्ठी सास कुन बेला निभ्छ जस्तो लाग्छ । 

मेरो तीन भाइ छोरा हुन् । एउटा छोरो भारतमा काम गर्दै छ । एउटा छोरो गाउँघरमै छ । तर मलाई पिर मलेसियामा हराएको जेठो छोराको छ । मेरो छोरो गोपाल घिमिरे रोजगारीका लागि मलेसिया गएको १४ वर्ष भयो । घरमा मलाई फोन नगरेको पाँच वर्ष हुन लाग्यो । 

मेरो छोरो कमाउँछु आमा भनेर मलेसिया गएको थियो । उसलाई के भयो मलाई थाहा छैन । तर यहाँ उसको अनुपस्थितिमा के मात्र भएको छैन । उसले छाडेर गएकी बुहारीले संसार छाडेको एक वर्ष हुन लाग्यो । बाउले छाड्दा ६ वर्षको बालखा मेरो नाति अहिले १८ वर्षको लागिसक्यो । उसले आफ्नो बुवा कस्तो हुन्छ भन्ने कुरा अनुभव गर्न पाएको छैन ।

गएदेखि गोपाल फर्केर पनि नेपाल आएको छैन । जाने बेला बुहारीसँगको सल्लाहमा गएको हो । अहिले त उ पनि यो संसारमा छैन । नातिलाई मैले नै पालिरहेको छु । 

छोराछोरीले जसो गरे पनि । बाउआमा भनेर नसम्झिए पनि माया लाग्ने रहेछ । यो आमाको मन रुन्छ भन्ने त छोराछोरीले कहाँ बुझ्दा रहेछन् र । 

मलेसियाबाट मलाई बेलाबेलामा फोन गरिरहन्थ्यो । यतिका वर्ष भइसक्यो बाबु अब त घर आइज न भनेर मैले कति भनेको पनि । मलेसियामा मानिस हराएको, कतिले मारिदिएको, जेल परेको खबर सुन्दा डर लाग्थ्यो ।

बाबु त्यो ठाउँ त खराब रहेछ आइज न भन्थ्यें । म त यहाँको लोकलजस्तै हो मलाई केही हुन्न आमा राम्रो छ मेरो चिन्ता नगर्नु भन्यो । पछिपछि भएपछि चाहिँ इलिगल भएको छु आमा अब बिस्तारै आउँछु भन्थ्यो । 

अन्तिम पटक फोन गर्दा पनि मैले बाबु आइज, त आउनलाई म मर्नु पर्ने हो र भनेको थिएँ । उसले आमा त्यसो नभन्नु मैले सुन पनि किनेको छु अब त म छिट्टै आउँछु भन्थ्यो । म त खुसीले कति गद गद भएको थिए । तर त्यो सुन किनेको छु भनेका दिनदेखि मेरो छोरो घर आउनु त परको कुरा कहिलेकाहीँ आउने फोन पनि बन्छ भयो । 

ज्यामी काम गरेर नाति पालिरहेको छु

बुहारीले नातिलाई भारत तिरै लगेर गएकी थिइन । खै किन हो एक वर्ष अघि उसले पनि आत्महत्या गरिछन् । त्यसपछि नाति एक्लै भयो । अहिले नातिलाई मैले नै ल्याएको छु । पढाई पनि छुटेको रहेछ । अहिले सात कक्षादेखि नातिलाई पढ्न पठाएको छु । म घर बनाउने ठाउँमा ज्यामी काम गर्छु । खेतिपाति हाम्रो केही पनि छैन । यही काम गरेर मैले श्रीमान् र नातिको रेखदेख गरिरहेको छु ।

भारी बोक्दा मुटु फुट्ला जस्तो हुन्छ । तर के गर्नु काम नगरी सुखै छैन । बाबु तलाई थाहा छ तेरो बुवाको भर छैन । आँखाबाट आँसुका धारा बगाउँदै मैले भारी बोकिरहेछु । 

छोराछोरी जति भए पनि यस्तै रहेछ । अलिकति सोझो र मलाई माया गर्ने त थिइस् खै त पनि कता हराइस् बाबु । 

नातिको पनि कोही छैन । आमा पनि छैन । बाउ पनि कहाँ हो कहाँ खबर छैन । बेला बेलामा आमा ड्याडीलाई खोजौँ न भन्छ । घरी घरी त ड्याडी हुनुहुन्न होला नि नत्र त फोन गर्नुहुन्थ्यो नि भनेर गुनासो गर्छ । म बुढी काम गरौँ कि छोरो खोजौँ बुढेसकालमा बेहाल छ ।

खबर मात्र गरे पनि पुग्छ बाबु

सपनामा कति देख्छु । कालो लुगा लगाएको हुन्छ । बोलाउँछु तर बोल्दैन । कहिलेकाहीँ त सपनामा नै भए पनि कुरा गर्न पाए मनको कुरा भन्थेंजस्तो लाग्छ ।

त जहाँ भए पनि आमा भनेर फोन गर बाबु मलाई अरू केही चाहिँदैन । त छस्, तपाईँ सन्चो छ भन्ने सुन्न पाएँ मलाई केही चाहिँदैन । मन लाग्दैन भने घर आइज भनेर कर पनि गर्दिन ।

मलेसियाको कस्तो कस्तो खबर सुन्दा मनले ठाउँ छोड्छ । कहिले त आशै मर्छ । तर आमाको मन न हो । आस नगरी बस्न कहाँ सकिन्छ र । 

(सानी घिमिरेसँग कार्यक्रम देश परदेशका लागि गरिएको कुराकानीमा आधारित । सानीका जेठा छोरा गोपाल घिमिरे पाँच वर्षदेखि मलेसियामा सम्पर्क विहीन छन् ।)