काठमाडौं– गुठी संस्थान र काठमाडौं विश्वविद्यालयको दबाबका कारण नेपाली लोकबाजा संग्राहलय संकटमा पर्ने भएको छ । संस्थान र विश्वविद्यालयले जिल्ला अदालत काठमाडौंमा मुद्धा विचाराधीन रहेकै बेला संग्रालय बसेको सतल खाली गराउन दबाब दिएपछि लोकबाजा संग्राहलय संकटमा परेको हो ।
२०६४ सालमा लोकबाजा संग्राहलय र गुठी संस्थानबीच सम्झौता भई उक्त सतल संग्राहलयले उपयोग गरेको थियो । तर काठमाडौं विश्वविद्यलायले सम्झौता अवधि नसकिँदै गोप्य रुपमा उक्त सतलसहित अन्य सतलहरुलाई लिजमा लिएर संगीत विभाग सञ्चालन गर्ने तयारी गरेको छ । सोही कामका लागि भन्दै विश्वविद्यालय, प्रहरी प्रशासन र गुठी संस्थानले अहिले सतल खाली गराउन संग्राहलयलाई दबाब दिइरहेको संग्राहलयका अध्यक्ष रामप्रसाद कँडेलले जानकारी दिए ।
उक्त संग्राहलयमा ६ सय ५० भन्दा बढी प्रकारका विभिन्न जातजातिका पौरानिक कालदेखिका लोकबाजाहरु संग्रहित रहेका छन् । त्यस्तै ४० हजार घण्टाभन्दा बढी नेपालका लोकगीत, लोकनाच, लोकबाजा, नेपाली चाडपर्व, जात्रामात्राका श्रव्य–दृष्य सामाग्रीहरु (एनालग र डिजिटल) रहेका छन् ।
गुठी संस्थान र विश्वविद्यालयले अनावश्यक दबाब दिन थालेपछि संग्राहलयले २०७४ साल असारमा काठमाडौं जिल्ला अदालतमा मुद्धा दायर गरेको थियो । उक्त मुद्धा अहिले जिल्ला अदालतमा विचाराधीन रहेको छ ।
गुठी संस्थानका प्रवक्ता सरोज थपलियाले भने काठमाडौं विश्वविद्यालसँग सतल पुननिर्माणको सम्झौता भएकोले उनीहरुलाई दिन लागेको स्वीकार गरे । उनले भने, ‘सतल पुननिर्माणका लागि ५० करोड बराबरको फन्ड जुटाउनुपर्छ, त्यसका लागि काठमाडौं विश्वविद्यालयबाट सहयोग जुट्ने प्रतिबद्धता आएकोले हामीले उनीहरुलाई दिन थालेका हौं ।’ यद्यपि, उनले संग्रहालयलाई निस्कनैपर्छ भनेर दबाब नदिएको पनि स्पष्ट पारे ।


