- ✍️ आचार्य अमृत
एकजना ५० वर्ष जतिका पुरुष मान्छे घरमा आए र 'अमृत सरको घर यही हो, होइन त ?' भन्दै बरन्डाको तल देखा परे । 'अँ, यही हो', मैले भनेँ । त्यसपछि उनी सरासर माथि नै चढे । अनुहारले चिनेको देखाएन तर सभ्यतापूर्वक बस्न आग्रह गरेँ । अझै सम्झने प्रयास गरेँ तर पार लाग्नेजस्तो लागेन । अनि उनैले मुख खोले,' यहाँले मलाई चिन्ने सम्भावना थिएन र छैन, त्यसो हुँदा म यहाँलाई चिनाइहेर्छु । त्यो घटना पनि बिर्सनुभएको रहेछ भनेचाहिँ मैले सबै कुरा नै भन्नुपर्ने हुन्छ, तर अलिकति कुरो काेट्ट्याउँदै सम्झनुभयो भने मैले अरू केही भन्नु पर्दैन ।'
उनले त्यति भनेपछि । मैले उनलाई कता कता देखेजस्तो लाग्यो । जमानामा त मलाई चिन्ने मानिसहरू टप मेमोरीवाला भन्ने पनि गर्थे । तर आज ? यसरी आफू भनेर आएका मान्छेलाई चिन्न सकिरहेको थिइनँ । आफ्नो स्मरण शक्तिमा ह्रास आएछ अब भन्ने लाग्दै थियो, उनले सुरु गरे । भने, 'सर नामजुङ कति बस्नुभयो ?' उनको प्रश्नले फेरि मलाई उनको अनुहार हेरायो । उनका प्रश्नको उत्तर दिनुको सट्टा 'मैले हजुरलाई चिनेँ' भनिहालेँ । उनले छक्क परेको अनुहार लगाए । अब मैले प्वाक्क भनिहालेँ, 'हजुर झोँछे बस्ने मीनकृष्ण मानन्धर नै हो नि !' मेरो कुरो सुनेर उनी खित्का छोडेरै हाँसे तर घरमा अरू सदस्य पनि भएकाले एकै छिनमा हाँसो रोके र भने, 'मैले यसरी चिन्नुहोला भनेर सोचेकै थिइनँ ।'
वास्तवमा कुरो के भएको थियो भने नामजुङ बसेका बेला अर्थात् २५ वर्षअगाडि म झापा घर जान भनी गोरखा बजारसम्म आएँ । बर्खाको दिन थियो । नारायणघाटबाट पूर्व जाने बसमा चढ्ने उद्देश्यले म नारायणघाटसम्म जाने सार्वजनिक गाडीमा चढेँ । बस चढ्नुअघि गोरखा बजारमा एउटा छाता किनेँ, हुनत मसँग एउटा अलि पुरानो छाता झोलामा छँदै पनि थियो ।
दुर्भाग्यवश, तेह्र किलोमा आएपछि गाडी बिग्र्यो, त्यसैबेला पानी पर्न पनि सुरु गर्यो । एकछिन त बन्छ होला भनेर पर्खेर बसियो, तर आधा घण्टापछि भनियो, 'गाडीको एउटा सामान नै फेर्नुपर्ने भयो, गोरखामा त्यो सामान पाइँदैन, नारायणघाट नै पुग्नुपर्छ । हजुरहरूलाई भाडा फिर्ता गर्नुपर्ने पो भयो ।'
अब उपाय भएन । अर्को गाडी खचाखच भएर आउने हुनाले बिचबाट चढ्ने सम्भावना पनि कमै थियो । त्यसैले मैले हिँडेर आँबुखैरेनी पुग्ने विचार गरेँ र छाता उघारेर लागेँ ओरालो । म हिँडेको देखेपछि एकजना मान्छे पनि हिँडे तर उनीसँग छाता रहेनछ । त्यतिबेला अलिअलि मात्र पर्दै थियो तर अब पानीले बेसरी पर्ने छाँट ल्यायो । उनलाई बाटो हिँड्ने साथी ठानी मैले झोलाबाट अर्को छाता निकालेँ र एउटा छाता उनीतिर बढाएँ । उनले 'धन्यवाद' त्यो छाता समाएर ओढे । अब हामी आफूअनुसारका गफ गर्दै झर्न थाल्यौँ । उनी २५ वर्षका हट्टाकटा जवान व्यक्ति थिए भने म पनि उनीभन्दा केही जेठो मात्र थिएँ । दुवै जना कस्सिएर नै हिड्यौँ । पानीबाटैभरि दर्किइरह्यो । बेलुका साढे पाँच बजे हामी आँबुखैरेनी पुग्यौँ । उनीचाहिँ पोखराबाट आएको बस समातेर काठमाडौँतिर लागे, छाता फर्काए । मचाहिँ थाकेर हत्तु भएकाले त्यहीँ बास बस्ने भएँ । भोलिपल्ट बिहान म पूर्व आउने बस फेला पारेर त्यसैमा चढी घर फर्केँ ।
त्यतिबेला मोबाइलको चलन थिएन । काठमाडौँमा फोन भए पनि गाउँमा जहाँ पायो त्यहाँ फोन थिएन । त्यसैले आजजस्तो नम्बर साटासाट गर्ने कुरै थिएन र भएन । त्यसपछि उनको र मेरो भेट कहिल्यै पनि भएन ।
आज तिनै मान्छे मलाई भेट्न खोज्दै आएका थिए । मैले त्यस दिन छाता दिएकामा साह्रै गुन लागेको रहेछ र उनका नजरमा म असल मान्छे भएको रहेछु । उनले खोलेरै यो कुरो आज पनि भने । उनले धेरै पहिले नै मलाई भेट्न आउन खोजेका थिए रे, तर मौका मिलेनछ । यसपटक विराटनगर आउने काम परेर उनी विराटनगर आएका रहेछन् । म सुकुना आएको कुरो पहिले नै कसैबाट सुनिसकेका रहेछन् । यसरी सोधीखोजी गर्दै उनी आएका रहेछन् । उनलाई एकरात बस्नका लागि अनुरोध गरियो, उनले माने । भोलिपल्ट पनि बिहान खाना खान आग्रह गर्दा त्यो पनि माने र त्यसै दिन उनी काठमाडौँतिर प्रस्थित भए ।
उनी नै झोँछेनिवासी मीनकृष्ण मानन्धर थिए ।
आज सोच्छु, कहिलेकाहीँ कसैलाई सानो सहयोग गर्दा पनि त्यो निकै मूल्यवान् हुन सक्ने रहेछ र संसारमा कृतज्ञ व्यक्तिहरू पनि निमिट्यान्न भइसकेका हुँदा रहेनछन् ।



















