काठमाडाैं,२५ साउन । नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई पक्राउ गर्ना साथ प्रहरीले शर्माकाे फाेन खाेसेकाे बुझिएकाे छ ।आफू आज पक्राउ पर्ने शर्माले केही दिन अघि नै जानकारी पाइसकेकाे बताइएकाे छ । 

आज शर्मालाई पक्राउ गर्न जाँदा शर्माले पुलिससँग पक्राउ पुर्जी माग्नुभएकाे थियाे । तर, पुलिसले पक्राउ पुर्जी थानामै लगेर दिने भन्दै शर्मालाई पक्राउ गरेकाे बुझिएकाे छ ।

सुनिल शर्मा पक्राउ पर्नासाथ पुलिसले शर्माकाे फाेन खाेसेकाे थियाे । त्यस पछि शर्माले एक विशेष काम भन्दै पुलिस सँग फाेन मागेर एक म्यासेज गर्नु भएकाे बुझिएकाे छ । 

  • शर्माकाे म्यासेज यस्ताे छ:

न मलाई पक्राउ पुर्जी दिईयो,न सभामुखसँग पक्राउको अनुमति लिईयो... लौ मेरो फोन पनि खोसिदिए... ( फोन काटियो)

- सुनिल शर्मा,सांसद नेपाली कांग्रेस

  • सांसद  शर्माको सांसद पद अब के हुन्छ ?

नक्कली शैक्षिक प्रमाणपत्रसम्बन्धी अभियोगमा  पक्राउ परेका सांसद शर्माको सांसद पद पनि धरापमा परेको छ । 

उनीमाथि लागेको अभियोग प्रमाणित भएमा सांसद शर्माको सांसद पद जानेछ भने उनले ७ वर्षसम्म कैद सजाय पाउन सक्छन् । नेपालको संविधानको धारा १०३ को उपधारा ६ मा फौजदारी कसुरमा कुनै सांसद पक्राउ परेमा पक्राउ पर्ने बित्तिकै त्यससम्बन्धी जानकारी सदनको अध्यक्षता गर्ने व्यक्तिलाई तुरुन्त जानकारी दिनुपर्ने प्रावधान रहेको छ ।  

सोही व्यवस्थाअनुसार सीआईबीले सभामुख देवराज घिमिरेलाई शर्मा पक्राउको सूचना दिइसकेको छ । प्रतिनिधिसभा नियमावली २०७९  को नियम २४८ अनुसार संविधानको धारा ३ अनुसार कुनै सदस्य पक्राउ परेको सूचना प्राप्त भएपछि सभामुखले त्यसको जानकारी सदनलाई तत्काल दिनुपर्ने प्रावधान रहेको छ । 

सोही नियमको उपनियम ३ मा कानुन बमोजिम ३ वर्ष वा सो भन्दा बढी कैदको सजाय हुने वा नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोग पत्र दायर भई पुर्पक्षको लागि थुनामा रहेमा वा फरार रहेमा निलम्बन गरिने व्यवस्था रहेको छ ।  यो व्यवस्थाअनुसार सांसद शर्मा निलम्बन हुन सक्नेछन् । 

यस्तै अभियोग प्रमाणित भएमा उनले फौजदारी कसुर अन्तर्गत लिखत किर्ते सम्बन्धी कसुरमा सजाय पाउन सक्नेछन् । ‘मुलुकी अपराध संहिता २०७४’ को परिच्छेद २५ मा रहेको लिखतसम्बन्धी कसुरअन्तर्गत ७ वर्ष कैद र ७० हजार रुपैयाँ जरिवानाको सजाय पाउने व्यवस्था रहेको छ । अपराध संहिताको दफा २७६ को उपदफा ४ को (ग) मा यससम्बन्धी व्यवस्था रहेको छ ।   

गत प्रतिनिधिसभा निर्वाचनमा उनी नेपाली कांग्रेसका तर्फबाट मोरङ क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए ।