• ✍️ विक्रम के.सी.

रवि लामिछानेहरुलाई केही महिना पहिलेसम्म नेपालका महान क्रान्तिकारी मान्नेहरुको संख्या ठूलो थियो । रवि लामिछानेहरुले संसद्मा देश र जनताका जल्दाबल्दा समस्या उठाएर सरकारलाई हायलकायल पार्ने अपेक्षा गरिएको थियो । भ्रष्टाचार र वेथिति विरुद्ध ठोस रुपमा कुरा उठाएर सरकारलाई ठीक बाटोमा हिँडाउने अपेक्षा गरिएको थियो । रवि लामिछानेको रास्वपाले जे गर्ला भन्ने ठानिएको थियो त्यो गरेन । रवि लामिछानेहरु मुख्य मुद्दाबाट भाग्छन् र सहायक मुद्दा तथा उपसहायक मुद्दा उठाएर स्टन्टवाजी गरिरहेका छन् । 

कांग्रेसका सांसद् सुनिल शर्माले जसरी निर्भिकतासाथ कांग्रेसको आत्माको आवाज बोलेको सुनियो, जसरी जनताको मनको कुरा भनेको सुनियो, त्यो काम रविको पार्टीले गर्नुपर्ने होइन र ? एमालेका सांसद्हरुले भ्रष्टाचारको मूल मुद्दामा सरकारको घाँटी समाउने गरी बोलिरहेका छन्, रवि लामिछानेहरु चाहिँ हावामा गफको तोप पड्काइरहेका छन् ।

यो कुरा अहिलेको जल्दोबल्दो सुनिल शर्मा काण्डको प्रसंगमा चर्चा गरिएको हो ।

  • आरजूलाई पक्रने डर देखाएर प्रचण्डले कांग्रेसको समर्थन निरन्तर पाइरहेको प्रष्ट देखिन्छ ।
  • सरकार टिकाउने अर्काे बैशाखी माधव नेपाललाई पनि प्रचण्डले गतिलै ब्ल्याकमेलिङ गरेको देखिन्छ ।

प्रचण्ड सरकारको भ्रष्टाचार विरोधी अभियान ‘नक्कली’ ठहरिएको छ । विभिन्न काण्ड उधिन्न थालेको प्रचण्ड सरकारले भ्रष्टाचार विरुद्ध सक्कली नै अभियान चलाएको ठानेर धेरै नेपालीले दिल खोलेर समर्थन गरेका थिए । तर, प्रचण्ड सरकारको अभियान देखाउने एउटा गर्ने अर्काे हो भन्ने पुष्टि हुँदै गयो । कांग्रेस सांसद् सुनिल शर्माको गिरफ्तारी र रीहाईपछि भ्रष्टाचार विरोधी अभियानको असलियत पूरै खुलेको छ भने सरकार निर्वश्त्र समेत भएको छ । 

पुष्पकमल दाहाल प्रचण्डसँग प्रधानमन्त्री बन्न एकल बहुमत छैन, अरु पार्टीको बैशाखीमा टिक्नुपर्ने अवस्था छ । बैशाखी भरपर्दाे छैन भन्ने प्रचण्डले यो गठवन्धन बनाउँदा पक्कै बुझेको हो । बैशाखी भरलाग्दो नभएपछि टिक्नलाई के उपाय लगाउने ? प्रचण्डले प्रधानमन्त्री पदमा टिकिरहनका लागि विभिन्न रणनीति अपनाएको देखिन्छ । तीमध्ये सबैभन्दा मुख्य रणनीति हो– ब्ल्याकमेलिङ गर्ने । 

हुन त नेपालमा ब्ल्याकमेलिङको राजनीति नयाँ होइन तर धम्की र ब्ल्याकमेलिङको राजनीतिलाई संस्थागत गर्ने काम प्रचण्ड र उहाँको माओवादीले नै गरेको हो । अहिलेको भ्रष्टाचार विरोधी अभियान आफैंमा ब्ल्याकमेलिङ राजनीतिको एउटा हिस्सा मात्र हो भन्ने अब चाहिँ छर्लङग भएको छ । 

देउवालाई ब्ल्याकमेलिङ

सत्ता गठवन्धनमा रहेका कांग्रेसलाई प्रचण्डले भूटानी शरणार्थी काण्ड र ललिता निवास काण्ड लगाएर ब्ल्याकमेलिङ गर्नुभयो । शरणार्थी काण्डमा कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजू देउवाको नाम स्पष्टसँग मुछिएको छ । सरकार गिराउने खोजेको अवस्थामा आरजूलाई सुनिल शर्मा बनाइदिने प्रचण्डको योजना रहेको जगजाहेर छ । कांग्रेसमा सबैलाई यो कुरा थाहा छ, तर, प्रचण्डको ब्ल्याकमेलिङका अगाडि सबै लाचार छन् । त्यसैगरी ललिता निवास प्रकरणमा देउवाका ससुराली खलकका नातेदारहरु मुछिएका छन् । 

आरजूलाई पक्रने डर देखाएर प्रचण्डले कांग्रेसको समर्थन निरन्तर पाइरहेको प्रष्ट देखिन्छ । सरकार टिकाउने अर्काे बैशाखी माधव नेपाललाई पनि प्रचण्डले गतिलै ब्ल्याकमेलिङ गरेको देखिन्छ । संसद्मा वार्षिक बजेट यथास्थितिमा कुनै हालतमा पास नगर्ने अडानमा रहनुभएका माधव नेपाल रातारात कसरी निहुरमुन्टी ‘न’ बनेर समर्थन गर्न पुग्नुभयो ? ब्ल्याकमेलिङकै कमाल भन्न स्पष्ट छ । 

माधव भागेकै हाे ?

माधवलाई ललिता निवासमा फसाइदिन्छु भन्दै प्रचण्डले ब्ल्याकमेलिङ गरेको आकलन गर्न गाह्रो छैन । प्रचण्डले फसाइदिन सक्छन् भन्ने बुझेर माधव नेपाल विदेश भागेको अर्थात् भ्रमणमा गएको चर्चा अहिले सर्वत्र छ । जेल पर्ने निश्चित देखिए विदेश पलायन हुने, जोगिने बन्दोवस्त मिल्ने भए स्वदेश फर्कने माधव नेपालको रणनीति छ भनेर माधवकै पार्टीका कार्यकर्ताहरु चर्चा गरिरहेका छन् । 

उपेन्द्र यादवको जनता समाजवादी पार्टीलाई पनि प्रचण्डले नमज्जासँग ब्ल्याकमेलिङ गरिरहेको अब गोप्य कुरा रहेन । आफ्नै पार्टीका कार्यकर्ताहरुलाई आन्दोलनमा उतारेर प्रचण्डले गौर हत्याकाण्डको फायल खोल्ने लिखित सम्झौता गर्नुभएको छ । हत्याकाण्डको फायल खोल्ने, हत्याराहरुलाई कारवाही गर्ने प्रचण्डको पवित्र उद्देश्य हुन्थ्यो भने उहाँको नेतृत्वमा कथित जनयुद्धका बेलाका हजारौं हत्याको पनि फायल खुल्थ्यो होला । उपेन्द्रलाई तह लगाउने, ब्ल्याकमेलिङ गर्ने नियतसाथ नै गौर हत्याको फायल उधिन्ने प्रयास भएको जसपाकै नेताहरुले बताएका छन् । 

ब्ल्याकमेलिङको यस्तो राजनीतिले प्रचण्डको कुर्सीको आयु केही लम्बिन सक्छ तर सुनिल शर्मा प्रकरणमा जस्तै भण्डाफोर हुने हो भने प्रचण्डको राजनीतिक आयु नै समाप्त हुन सक्छ । 

ओलीसँग सकिएन ?

प्रचण्डले प्रमुख प्रतिपक्षी एमाले र यसका नेता केपी शर्मा ओलीलाई भने अहिलेसम्म ब्ल्याकमेलिङमा फसाउन सक्नुभएको देखिँदैन । एमाले र ओलीलाई कसरी बदनाम गर्न र फसाउन सकिन्छ भनेर अहिले बालुवाटारमा पक्कै पनि रणनीति बनिरहेको होला । तर, अब प्रचण्डको रणनीतिले काम गर्दैन, किनभने प्रचण्डले भ्रष्टाचार उन्मुलन गर्नलाई भन्दा आफैं भ्रष्टाचारमा लिप्त हुन र उत्तर कोरियाको किम वंशको जस्तो निष्कंटक राज चलाउने उद्देश्यले अहिले ताण्डव मच्चाएको सबैले बुझिसकेका छन् । अर्काे शब्दमा भन्ने हो भने भण्डाफोर भइसकेको छ । 

रविलाई पासपाेर्टकाे डर

प्रचण्डले ब्ल्याकमेलिङ गर्न कसैलाई बाँकी राख्नुभएको छैन । सबैलाई थाहा भइसकेको कुरा के हो भने रास्वपाका रवि लामिछाने कमजोर धरातलमा उभिनुभएको छ । उहाँको राहदानीको पासपोर्ट काण्ड ज्यूँदै छ । पासपोर्ट काण्डबाट रविले अहिलेसम्म क्लिन चिट नपाइसकेको अवस्था हो । पासपोर्ट काण्ड लगाएर राजनीति समाप्त पारिदिउँ ? भन्दै प्रचण्डले पक्कै ब्ल्याकमेलिङ गरिरहनुभएको छ । यही भएकाले रवि र रास्वपाको पार्टी लिंग नछुट्टिने अवस्थामा पुगेको छ । 

रविको पार्टी मूल मुद्दामा प्रवेश नै गर्दैन । मूल मुद्दामा प्रवेश गर्दा प्रचण्ड र उनको सरकारको विरोध गर्नुपर्ने हुन्छ । मूल मुद्दा बाहेकका खुद्रे पपुलर मुद्दा सिर्जना गरेर त्यसैमा रविको पार्टी रमाएर बसिरहेको छ । रविको पार्टीले मूल मुद्दाबाट पन्छिएर सहायक मुद्दा, उप मुद्दा र उपसहायक मुद्दाहरुलाई उछाल्नु भनेको पासपोर्ट काण्डकै कमाल हो भन्ने बुझ्न गाह्रो छैन । 

पछिल्लो भण्डाफोर हो– सांसद् सुनिल शर्माको मुख थुनिएको विषय । सुनिल शर्माले कांग्रेसको आत्माको आवाज बोलिरहनुभएको थियो, जनताको मनको कुरा बोलिरहनुभएको थियो । वास्तवमा रवि लामिछानेहरुले संसद्मा बोल्नुपर्ने कुरा सुनिल शर्माले बोलिरहनुभएको थियो । रवि लामिछानेहरु बोल्नुपर्ने मुख्य कुरा नबोलेर सहायक कुरा मात्र बोलिरहेको प्रसंग माथि उल्लेख भइसकेको छ । सुनिल शर्माले जसरी सत्यको जगमा उभिएर तथ्य कुरा बोल्न रवि लामिछानेहरुलाई केले छेकेको हो ? पासपोर्ट काण्डले नै छेकेको होइन र ?

माओवादी नेता नपक्रने ?

सुन तस्करीमा माओवादी पार्टीका उच्च नेताहरु लिप्त भएर लागेको भन्न सकिने अनेक आधार देखिएका छन् । वर्षमान पुन, कृष्णबहादुर महरा लगायतका नेताहरुको सुन तस्करसँगको कनेक्सन छताछुल्ल भइसकेको छ । छताछुल्ल भइसकेको विषयमा छानवीन गर्न प्रधानमन्त्री र गृहमन्त्रीले किन नमानेको ? एअरपोर्टबाट दर्जनौं पटक सुन तस्करी भएर भित्रिएको आधार फेला परिसकेको छ । सुन भित्राउन दिने, तस्करीको सुन पगाल्न कारखाना चलाउन दिने काम कसरी भयो ? यसमा गृहमन्त्रीकै मिलेमतो छ भनेर जो कसैले आशंका गर्न सक्छ । आम जनताले उठाएका यस्ता विषयमा संसद्मा आवाज उठाए वापत सुनिल शर्मालाई दण्डित गर्ने प्रयास गरिएको छ । 

अब अति भो

नेपालमा शक्तिशाली भ्रष्टाचार विरोधी अभियान चाहिएको छ । यावत भ्रष्टाचारको छानविन गर्न शक्तिशाली आयेग चाहिएको छ । यो काम प्रचण्डबाट हुँदैन, प्रचण्डलाई गर्न दिन पनि हुँदैन । प्रचण्डलाई नै सबै छानविन गर्न दिने हो भने सुनकाण्डको जरासम्म पुग्न सकिँदैन । प्रचण्डलाई घेरा हालेर बसेको गिरोह नै सय किलो सुनको असली मालिक हो भन्न सकिने धेरै आधार छ । 

भ्रष्टाचारको छानविन गरेर मात्र हुँदैन, गौर हत्याकाण्ड सहित सयौं हत्याकाण्डको पनि छानविन हुनुपर्छ । यसका लागि प्रचण्डले सरकारबाट विदा लिनुपर्छ । सनराइज खबरबाट