काठमाडौं,२९ साउन । नेकपा एमाले दोलखाको गौरीशंकर गाउँपालिका कमिटीले बाढी पहिरो पीडितका विषयमा प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।
गत साउन १८गते गौरीशंकर गाउँपालिका वडा नं ७ र ८ मा गएको बाढी पहिरोका कारण महामारी ल्याउन सक्ने भएकाले तत्कालै सडे गलेका वस्तुहरूको व्यवस्थापन गरिदिन पनि अनुरोध गरिएको छ । पार्टीका पालिका कमिटी अध्यक्ष जङ्गबहादुर गुरुङले बुझाउनु भएको ध्यानाकर्षण पत्रमा बाढी पहिरो क्षेत्रका बालबालिका हालसम्म विद्यालय जान सक्ने अवस्थामा नभएकाले उनीहरूलाई शिक्षाको अधिकारको व्यवस्था गरिदिन पनि माग गरिएको छ ।
हरेक वर्ष दोलखाको उत्तरी क्षेत्र बाढी पहिरोको उच्च जोखिममा पर्ने र त्यसका कारण बर्सेनि जनधनको क्षति भइरहेकोले उक्त क्षेत्रमा भूगर्भविद्को टोली खटाइ स्थायी समाधान खोज्न आवश्यक रहेको तर्फ एमालेले सरकारको ध्यानाकर्षण गराएको छ । तीनै तहका सरकारले गौरीशंकर गाउँ पालिकाभित्र बाढी पहिरो रोकथाम तथा तटीय क्षेत्रमा हुनसक्ने जोखिमलाई मध्यनजर गरेर बजेट विनियोजन गर्न आवश्यक रहेको पार्टीले औँल्याएको छ । हालसम्म उक्त क्षेत्रमा खास गरी संघीय र प्रदेश सरकारले बाढी, पहिरो तथा तटीय क्षेत्र व्यवस्थापनका लागि कुनै पनि पहल कदमी तथा बजेट विनियोजनमा ध्यान नदिएको हुँदा तत्कालै पर्याप्त बजेटको व्यवस्थापन गरिदिन गौरीशंकर गाउँपालिका कमिटीले माग गरेको छ ।


