पछिल्लो समय घरजग्गा, गाडी र सेयरमा लगानी गर्ने बैंक तथा वित्तिय संस्था वा व्यक्ति अहिले खतिवडाले भनेको कुरा झलझली सम्झिरहेका छन
  • ✍️ रुषा थापा

सत्य कुरा जहिल्यै तितो हुन्छ । सत्य कुरा गर्दा कतिपय मानिसहरु रिसले चुर हुन्छन । उनीहरुलाई त्यस्ता कुरा पच्दैँन । तत्कालिन अर्थमन्त्री युवराज खतिवडाले घरजग्गा, गाडी र सेयरमा लगानी गर्नु जुवा खेल्नु बराबरको रहेको बताउनु भएको थियो । खतिवडाले यी क्षेत्रमा लगानी गर्दा कुन र कति बेला डुबिन्छ भनेर थाहै नहुने दाबी गर्नुभएको थियो ।

साथै, बैंक तथा वित्तिय संस्थालाई समेत ब्याज र घुसको लोभमा आँखा चिम्लेर यी क्षेत्रमा लगानी नगर्न उहाँले सर्तक पनि गराएकै हो । तर, त्यतिबेला खतिवडाको कुरा कसैले सुनेन । उल्टै घरजग्गा, गाडी र सेयर लगानीकर्ताले चर्को विरोध गर्दै राजनीमा मागे । खतिवडालाई अर्थमन्त्री पदबाट हटाउनुपर्ने मागसहित उनीहरुले तत्कालिन प्रधानमन्त्री नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ज्ञापनपत्र समेत बुझाए । बैंकले सय रुपैयाँ कित्तामा निष्काशन गरेको सेयर सेयर दलालीहरुले ३२ सय रुपैयाँमा बेचेर आम सर्वसाधारण ठगिरहेका थिए ।

आनाको पाँच हजार मूल्य नपर्ने खेतीयोग्य जमिन प्लटिङ तथा खण्डीकरण गरी जग्गा दलालीहरुले आनाकै ६५ लाखमा बेचिरहेका थिए । यता, पाँच रुपैयाँ किलोमा बिक्री नहुने फलाम भारतले गाडी बनाएर नेपाललाई लाखौं रुपैयाँमा बेचिरहेको थियो । तर, तत्कालिन अर्थमन्त्री खतिवडाले यी क्षेत्र जोखिमपूर्ण रहेको थाहा पाएपछि बैंक तथा वित्तिय संस्था वा आम नागरिकलाई फस्न तथा डुब्नबाट जोगाउन खोज्नुभएको थियो । त्यसबेला खतिवडाको कुरामा विश्वास गर्नुको साटो बैंक तथा वित्तिय संस्थादेखि आम सर्वसाधारण समेतले विरोध गरे ।

खतिवडाले भनेको कुरा अहिले ढिलो भएपनि प्रमाणित भएको छ । २०७५ सालमा खतिवडाले उक्त अभिव्यक्ति दिनुभएको थियो । अहिले २०८० सालमा आएर यो कुरा सही सावित भएको छ । घरजग्गा, गाडी र सेयरकै कारण सहकारीहरु रातारात भाग्नुपरेको छ । करोडौं बचतकर्ताको खर्बौं रकम डुब्यो । बैंक पनि टाट पल्टिने अवस्थामा पुगेको छ । मुलुकको अर्थतन्त्र नाजुक अवस्थामा पुगेको छ । घरजग्गा, गाडी र सेयरमा आएको मन्दीका कारण बैंकबाट ऋण खाएकादेखि आमनागरिक समेत आत्महत्या गर्न बाध्य भएका छन् । जताततै मन्दी छाएको छ ।

६५ लाख आनामा किनेको घडेरी पैसाको खाँचो परेर लाख रुपैयाँमा बेच्छुभन्दा समेत बिक्री हुन्न । झन् सेयर र गाडीको त कुरै छोडौं । ३२ सयमा किनेको सेयर सय रुपैयाँमा बिक्दैँन । ५० लाख हालेर किनेको गाडी लाख रुपैयाँमा बिक्री हुदैँन । अहिले आम सर्वसाधारण खतिवडाले भनेको कुरा सत्य रहेको बताउँछन् । तर, खतिवडाले भनेकोभन्दा पनि केही कुरा बजारमा भएको छ । खतिवडाले घरजग्गा, गाडी र सेयरमा लगानी गर्नु जोखिमपूर्ण हो, जतिबेला पनि डुब्न सकिन्छ भनेर त भन्नुभएको थियो । तर, यसले गर्दा बजारमा नै पूरा मन्दी आउँछ भन्नुभएको थिएन ।

अहिले बजार पूरै मन्दीमा छ । जताततै कोठा, सटर, फल्याट खाली छ । व्यापारव्यवसाय ठप्प भएको छ । खतिवडा राष्ट्र बैंकका गर्भनर समेत भइसकेका व्यक्ति हुन् । पछिल्लो समय घरजग्गा, गाडी र सेयरमा लगानी गर्ने बैंक तथा वित्तिय संस्था वा व्यक्ति अहिले खतिवडाले भनेको कुरा झलझली सम्झिरहेका छन ।

सहकारी त यीनै क्षेत्रमा लगानी गर्दा भाग्नुपप्यो । तर, अहिले बैंक पनि डुबिसकेको छ । बैंकमा बचतकर्ताको लाम छ । तर, पैसा राख्न होइन, निकाल्न । अहिले घरजग्गा, गाडी र सेयर लगानीकर्ता धमाधम आत्महत्या गरिरहेका छन् । बैंकको ऋण तिर्न नसकेपछि कतिपयले विष सेवन गरेका छन्, कतिपयले पासो लगाएका छन् ।

राष्ट्र बैंकका हालका गर्भनर महाप्रसाद अधिकारी अहिले पनि घरजग्गा, गाडी र सेयरमा लगानी नगर्नुस् भनेर बैंक तथा वित्तिय संस्था र आम सर्वसाधारणलाई सर्तक गराइरहनु भएको छैन । करिब तीन वर्षअघि करोड मूल्यमा किनेको घरजग्गा, गाडी तथा सेयर अहिले बैंकमा धितो राखेर लाख रुपैयाँ कर्जा दिनुस् भन्दा समेत बैंक पैसा छैन भन्छ ।

अहिले बैंकसँग पैसा छैन । तरलताको अभाव छ । किनकि बचतकर्ता सबैले आफ्नो रकम किनेर घरघरमा लुकाएका छन् । ठूल्ठूल्ला व्यापारी समेत आफुहरुले कहिल्यै बजारमा यस्तो मन्दी आएको नदेखेको बताउँछन । मुलुकमा यस्तो मन्दी आएको छ । बैंक टाट पल्टिएको छ । सहकारीहरु रातारात फरार भएका छन । बजारमा पाँच सय र हजारको नोट हाहाकार भइसकेका छ । दुई वर्षअघि लाखौंको व्यापार हुने पसलमा अहिले बहनी हुन समेत छोडेको छ । काठमाडौं उपत्यकाभित्र वा बाहिर जहिले जसो मानिसको चहलपहल हुने गथ्र्यो । तर, अहिले त्यो पनि हराइसकेको छ ।

विदेशी ऋण हवात्तै बढेको छ । प्रत्येक नेपाली नागरिकको टाउकोमा ९० हजार विदेशी ऋण पुगेको छ । नेपालमा धेरै अर्थविद्हरु छन् । उनीहरु आफुहरुलाई अर्थविद् भन्दै मिडियामा अन्तवार्ता दिन्छन् । तर, उनीहरुमा किताबी ज्ञान धेरै भएतापनि व्यावहारिक र बजारी कुरा केही थाहा छैन । बजार कुन अवस्थामा छ ?, बजारमा के भइरहेको छ ? र, के हुने छ ? भनेर उनीहरु अन्जान छन् । पहिलापहिलाका मानिसहरु जतिसुकै पैसाको खाँचो परेपनि बैंक तथा वित्तिय संस्था वा व्यक्तिबाट ऋण लिदैँनन् थिए ।

खतिवडाले भनेको कुरा अहिले ढिलो भएपनि प्रमाणित भएको छ । २०७५ सालमा खतिवडाले उक्त अभिव्यक्ति दिनुभएको थियो । अहिले २०८० सालमा आएर यो कुरा सही सावित भएको छ 

अहिलेका मानिसहरु ऋण लिएर घरजग्गा, गाडी र सेयर किन्छन्, ऋण नै लिएर छोराछोरी विदेश पढाउन पठाउँछन् । ऋण नै लिएर भोजभतेर लगाउँछन् । ९९ प्रतिशत मानिसहरुको घरजग्गा, गाडी र सेयर बैंक तथा वित्तिय संस्थाको नाममा छ । यसरी ऋण लिएका ऋणीहरु अहिले विस्थापित भएका छन् । हिजोका करोडपति आज सडकपति भएका छन् । यता, बैंक तथा वित्तिय संस्था पनि डुब्ने अवस्थामा पुगेको छ । ऋणीले ऋण नतिरेपछि बैंकले घरजग्गा, गाडी र सेयर लिलाम त गप्र्यो । तर, त्यो किन्न मान्छे भेटेन । यसले गर्दा बैंक पनि टाट पल्टिने अवस्थामा पुग्यो ।

हिजो बैंकले ५० लाखको धितो राखेर ३० लाख रुपैयाँ कर्जा दियो । त्यसमा साढे २ लाख घुस, २ प्रतिशत सेवाशुल्क र १८ देखि ४८ प्रतिशत ब्याज असुल्यो । ऋणीले ३० लाख रुपैयाँ ऋणको साँबाब्याज नतिरेपछि ५० लाख पुग्यो । तर, धितो भने घटेर लाख रुपैयाँमा झर्यो, अहिले बैंक पूरै टाट पल्टिसकेको छ । घाटामा गएको छ । तर, पैसा तान्नका लागि आफुहरुले यति धेरै नाफा कमाएको उनीहरुले दाबी गरिरहेका छन् । त्यो मात्र नभई महँगो ब्याजको समेत प्रलोभन देखाइरहेका छन् । बैंकले जतिसकुै धेरै नाफा कमाएको विवरण सार्वजनिक गरेपनि सेयर होल्डरहरुले बोनस पाएका छैनन् ।

मुलुकभर दर्तामा रहेका सहकारीमध्ये ९५ प्रतिशत सहकारी संघसंस्था बचतकर्ताको रकम नै फिर्ता नगरी भागेका छन् । जसोतसो बचेकाले पनि बचतकर्ताको रकम फिर्ता गरेका छैनन् । कर्मचारीलाई तलब दिएका छैनन् र घरभाडा तिरेका छैनन् । पछिल्लो समय कतिपय बैंकका कर्मचारीहरु महिनौं दिनदेखि तलब नपाएको सुनाउँछन् । अनि बैंक तथा वित्तिय संस्थाहरु पूरै टाट पल्टिँदा समेत नेपालका अर्थविद्हरु राजनीतिक पार्टीको झोला बोकेर झुठा आश्वासन देखाउँछन् ।

उनीहरु सत्य कुरा बोल्न डराउँछन् । भनिन्छ, पढेकोभन्दा परेको मान्छे बढी बाँठो हुन्छ । पछिल्लो समय मुलुकको अर्थतन्त्र कतातिर गइरहेको छ भनेर बजारले देखाइसकेको छ । तर, अर्थविद् भनिनेहरु अहिले पनि अर्थतन्त्र ठिकठाक रहेको दाबी गर्छन् । उनीहरुभन्दा त ज्यामी काम गर्ने मान्छेलाई नै अहिले मुलुकको अर्थतन्त्रबारे ज्ञान छ । केही महिनायता मालपोत कार्यालय, यातायात कार्यालय र भन्सार कार्यालय सुनसान छ । जनताले पनि राज्यलाई कर तिर्न छोडिसकेका छन् । बेरोजगारी संख्या ह्वात्तै बढेको छ । गरिबी दिनप्रति दिन बढिरहेको छ । महंगीले सीमा नाघिसक्यो ।

सरकारले समेत ज्येष्ठ नागरिकलाई वृद्धभत्ता दिन नसकिरहेको वा अवकाश सरकारी कर्मचारीलाई तलब नदिएको गुनासो बजारमा सुनिन्छ । मुलुकका विज्ञ तथा आम सर्वसाधारणले सरकारी कर्मचारीको तलबभत्ता कटौती गर्न तथा ज्येष्ठ नागरिककोे भत्ता कटौती गर्न माग गरेपनि सरकारले गरेन । अहिले नै जनताले तिरेको करबाट सरकारी कर्मचारी धान्न धौधौं परेको छ । अनि सरकारले विकास कसरी गर्छ ? र, विदेशीसँग लिएको ऋणको साँवाब्याज कसरी तिर्छ ? । विदेशीसँग लिएको ऋणको साँवाब्याज नतिरे नेपाल विश्व कालोसूचीमा पर्नेछ । यति मात्र नभई नेपालमाथि विदेशी मुलुकको हस्ताक्षेप रहन्छ ।

विदेशीले हाम्रो मुलुकलाई ऋण वा अनुदान नदिए यहाँ न त सरकारी कर्मचारीले तलबभत्ता खान पाउँछन् न ज्येष्ठ नागरिकले भत्ता । देश खाँक्रो भइसकेको छ । तर, राजनीतिक दलका नेताहरु अहिले पनि झुठो भाषण गर्दै हिडिँरहेका छन् । जनताटाईम्सबाट