- जोसेफ उराव
केराबारी, ८ भदौ । उत्तरी मोरङको खोकेभोसि सडकमा आवागमनमै समस्या भएपछि केराबारी गाउँपालिकाका अध्यक्ष सुमन मिरिङचिङ मर्मत कार्यमा आफै जुट्नुभएको छ ।
ठेकेदार कम्पनी कान्छाराम कन्ट्रक्सनले ठेक्का लिएर लामो समयसम्म पनि काम नगरी अलपत्र पारेको सडक मर्मतकको लागि अध्यक्ष मिरिङचिङले अगुवाई गर्नु भएको हो ।
अध्यक्ष मिरिङचिङको सक्रियतामा भोगटेनी सडक खण्डमा भएका खाल्डाखुल्डीमा मिक्सगिट्टि हाल्ने काम गरीएको गाउँपालिकामा कार्यरत कविता वान्तवाले जानकारी दिनु भयो । मर्मत कार्य भएपछि शुक्रबार दिउसो देखि यातायात आवागमनमा केहि सहज भएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्थानीय पूर्वाधार विभाग अन्तरगतको ग्रामिण सडक सञ्जाल सुधार आयोजना अन्तरगतको उक्त सडक निर्माणको जिम्मा लिएको कान्छाराम कन्ट्रक्सनले कालोपत्रे गर्ने भनेपनि हालसम्म काम नगर्दा स्थानीयलाई आवामगनमा समस्या भएको ।
केराबारी गाउँपालिकाको वडा नम्बर २ र ३ लाई गाउँपालिकाको केन्द्र सम्म जोड्ने सो सडक लामो समयसम्म निर्माण नहुँदा स्थानीयलाई गाउँपालिकाको केन्द्रसम्म आवत जावत गर्न निकै नै कठिनाई हुने गरेको नेकपा एमाले कोशी प्रदेश कमिटी सचिवालय सदस्य डिल्ली शर्मा अधिकारीले बताउनु भयो ।
नेपाल सरकारको २०प्रतिशत लगानी र एसियाली विकास बैंकको ८० प्रतिशत लगानीमा निर्माण हुने सो सडकको हालसम्म ५ प्रतिशत पनि काम नभएको केराबारी २ का वडाध्यक्ष प्रेम लिम्बुले बताउनु भयो ।
५ वर्ष निर्माण अवधि रहेको उक्त सडकनिर्माणका लागि २०७६साल साउन २० गते ठेक्का सम्झौता भएको थियो । सुन्दरहरैंचा नगरपालिकाको खोर्साने चोक देखि केराबारी बजार हुदैँ भोगटेनी र धनकुटाको सिमानामा सिंहदेवी सम्मको सडकलाई (खोकेभोसि) भन्ने गरिएको छ ।




















