शनिश्चरे,१२ भदौ । मोरङको पथरी शनिश्चरेमा सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपाल नगर कार्यसमितिले मातहतका सम्पूर्ण विद्यालयको अवस्था सुक्ष्म अध्ययन गर्ने र यसबारे प्रतिवेदन तयार गर्ने भएको छ ।
यत्रतत्र सामुदायिक विद्यालयको दैनन्दिन प्रशासन र पठनपाठन विधिमाथि प्रश्न उठिरहेको बेला नगर कार्यसमिति अध्यक्ष युवराज बास्कोटाको अध्यक्षतामा भदौ १२ गते मंगलबार वडा नं. १ स्थित पञ्चायत माविको सभाकक्षमा सम्पन्न पहिलो बैठकमार्फत नगरको हकमा भने सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघले यस्तो निर्णय लिएको हो ।
सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालको विधानमा व्यवस्था भएअनुसार नगर कार्यसमिति २१ सदस्यीय हुनुपर्ने उल्लेख छ । निर्माणताका विभिन्न कारणले रिक्त हुन पुगेको जिम्मेवारीमा क्रमशः प्रकाशबहादुर कार्की, काशीहाङ राई, कृष्ण थापा, पर्शुराम कटुवाल, सन्तोष थापा र चन्द्रकला तिम्सिनालाई सदस्यमा मनोनयन गरेर बैठकले कार्यसमितिलाई पूर्णता दिने काम गरेको छ ।
बैठकले नगरभित्र सबै सामुदायिक विद्यालयलाई सदस्य बनाउने अभियान चलाएसँगै सदस्य सम्बद्ध विद्यालय श्री रामजानकी आधारभूतमा बालविवाह, करणीविवाह, यौनजन्य हिंसाविरुद्धको अनुशिक्षण अभियान र श्री भागीरथ माविमा लागू औषधविरुद्धको जनसचेतना अभियान सञ्चालनमा ल्याउन विद्यालय व्यवस्थापन समितिलाई राय सुझाउँदै आयोजन गरिने सो प्रकृतिका अभियानमा सम्पूर्ण रूपले सहकार्य गर्ने निर्णय गरेको छ ।
सामुदायिक विद्यालय निर्माणकालअन्तर्गत समयका विभिन्न कालखण्डमा विभिन्न कोण र जोडबाट योगदान गर्नुहुने कैयौं स्थानीय अभिभावकलाई सम्बन्धित विद्यालयको सल्लाहकार समिति, सम्बन्धित विद्यालयद्वारा उत्पादित विभिन्न विधाका विद्यार्थी–स्थानीय अभिभावकलाई परामर्शदाता समुहमा र समयसमयमा चासोपूर्वक सहयोग गर्नुहुने स्थानीय व्यक्तित्वलाई सहयोग–दाता समूहमा आवद्ध गर्न विद्यालय व्यवस्थापन समितिलाई राय सुझाव दिने निर्णय गरेको छ । यसो गर्न सक्दा सामुदायिक विद्यालयप्रति सम्बन्धित व्यक्तिको सम्बन्ध–सामिप्यता बढ्ने, उनीहरूको योगदानको प्रतिफलस्वरुप सार्वजनिक रूपमा सम्मान हुने, सामुदायिक विद्यालयतर्फ टुटेको सम्बन्ध पुनर्जागृत हुने, विद्यालयको व्यवस्थापन र वृत्ति वृद्धि–विकासमा अनिवार्य सरोकार रहने र सम्मानित व्यक्तित्वमार्फत तिनका छोराछोरीहरू सामुदायिक विद्यालयप्रति आकर्षित हुन सजिलो हुने तर्क कार्यसमिति सचिव ज्ञानेन्द्रप्रसाद अधिकारीले बताउनुभयो ।
प्रत्येक महिनाको अन्तिम शुक्रबार सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपाल, पथरी शनिश्चरे नगरपालिका कार्यसमितिको बैठक पालैपालो प्रत्येक विद्यालयमा त्यो विद्यालयको प्रशासन व्यवस्थापनसँग समन्वय गरी अनिवार्य आयोजना गर्ने टुंगो लागेको उपाध्यक्ष ललिता कार्कीले जनाउनुभयो ।
बैठकले नगरपालिका शिक्षा शाखाको सहयोग र समन्वयात्मक भूमिकामा सदस्य विद्यालयहरूको स्थलगत अध्ययन अवलोकन गर्ने, अध्ययन अवलोकनमा नगरले उच्च सुझबुझ र महत्त्वका साथ तयार गरेको शैक्षिक क्यालेण्डरअनुसार सञ्चालित चुस्त र गुणस्तरीय पठनपाठनका अतिरिक्त विद्यालयको संरचनागत विकास, पूर्वाधार विकास, न्युनतम आवश्यकताअनुसार विकासको सम्भाव्यता, शिक्षक कर्मचारीको वृत्ति–विकासको अवस्था, विव्यस गठन र सञ्चालन प्रक्रिया, आमा समूहको गठन र सञ्चालन विधि, शिक्षक अभिभावक संघको गठन र सञ्चालन, विद्यालयको सार्वजनिक लेखा, विद्यार्थी संख्याको अनुपातमा शिक्षकको मौजुदा अवस्था, विद्यालय र विद्यालयसम्बद्ध जनशक्तिको मर्यादा व्यवस्थापन, विद्यालय र सरोकारवालाको सार्वजनिक भेटघाट, भए गरिएका भेटघाट, संवाद र यसले निकालेका निष्कर्षको कार्यान्वयनका सवल पक्षहरूको अध्ययन गर्ने कार्ययोजना तय भएको सदस्य प्रमिशा धिमालले जोड्नुभयो ।



















