काठमाडौं,३०.भदौ। काठमाडौंको तीनकुने गैह्रीगाउँमा गए राति खुकुरी प्रहार गरी चार  हत्या भएको छ । 

हत्या हुनेमा दोलखाको एकै परिवारका तीन जना छन् । हत्या गरिएकामा दोलखाको कालिञ्चोक गाउँपालिका–८ का करिब ५५ वर्षीय कुमार भुजेल, उहाँकी श्रीमती अम्बिका भुजेल र  भुजेलकी आमा करिब ७० वर्षीय सुभद्रा भुजेल रहेका छन् । 

यसै गरी मोरङ घर भएका १९ वर्षीय नवीन राईको पनि हत्या गरिएको छ ।  तीनकुनेको गैह्री गाउँस्थित दिव्य स-मिलमा उहाँहरूको हत्या गरिएको हो । सो स-मिल नेकपा एमाले दोलखाका नेता बालकृष्ण सिवाकोटीले सञ्चालन गर्नुभएको मिल हो । स-मिलभित्र चार जनाको हत्या गरी एउटा कुनामा लास थुपारेको अवस्थामा फेला परेको छ ।

हत्या गरिएका भुजेल लामो समयदेखि परिवारसहित दिव्य स-मिलभित्रै बस्दै आउनुभएको थियो । उहाँहरूको सामूहिक हत्या भएको छ । हत्या गर्ने व्यक्तिको पहिचान हुन नसकेको काठमाडौं प्रहरीले जनाएको छ ।  

घटना गए राति १२ बजेतिर भएको प्रहरीले जनाएको छ । घटनाको उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान सुरु गरेको छ ।