काठमाडौं,३१ भदौ । काठमाडौंको तीनकुनेस्थित श्री दिव्य सः मिल तथा काष्ठ उद्योगमा शुक्रबार राति भएको हत्याकाण्ड मोटरसाइकलको ठक्करपछि भएको विवादको बदला लिँदा भएको खुलेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-९ का २३ वर्षीय सञ्जय भण्डारीले शुक्रबार राति ४ जनाको हत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको बताए।
राठौरका अनुसार केही समयअघि नवीन भनिने विशाल राईले भण्डारीलाई चाबहिलमा मोटरसाइकलले ठक्कर दिएका थिए।
ठक्कर दिएपछि राईले उनलाई कुटपिट पनि गरेका थिए। जन्मजात बोल्न नसक्ने भण्डारीले त्यसपछि राईसँग पटकपटक मोटरसाइकलले ठक्कर दिएको घटनाका विषयमा कुरा गर्न खोजेका थिए।
'कुरा हुन नसकेपछि शुक्रबार उनी काँडाघारीबाट खुकुरी बोकेर राईले काम गर्ने काठ मिलमा गएका थिए,' एसएसपी राठौरले भने, 'मिलमा उनले सुरूमा राईको टाउकोमा खुकुरी हानेर हत्या गरे। त्यसपछि त्यहाँ अरू मान्छे पनि देखेपछि उनीहरूले प्रहरीलाई भनिदिन्छन् भन्ने ठानेर अरू तीन जनाको पनि त्यही खुकुरीले हानेर हत्या गरेको देखिन्छ।'
भण्डारीले सोही मिलमा काम गर्ने दोलखाका कुमार भनिने पूर्णबहादुर भुजेल, उनकी पत्नी अम्बिका भुजेल र आमा शुभद्रा भुजेलको पनि हत्या गरेका थिए।
चार जनाको हत्या गरेर भण्डारी काँडाघारीस्थित दिदीभिनाजुको घरमा गएर बसेका थिए। आइतबार बिहान उनी काठमाडौंमा प्रहरीले आफूलाई पक्रिन सक्ने ठानेर सिन्धुपाल्चोक जान लागेका थिए।
'प्रहरीले उनलाई सिन्धुपाल्चोक जान लाग्दा पक्राउ गरेको हो,' राठौरले भने, 'पक्राउ पर्दा उनले हत्या भएको दिन लगाएका लुगा नै लगाएका थिए भने झोलामा खुकुरी राखेका थिए।'
भण्डारीले सिन्धुपाल्चोकमा कक्षा ८ सम्म र काठमाडौंमा १२ कक्षासम्म सांकेतिक भाषामा पढेका थिए।
उनको बयान लिन प्रहरीले सांकेतिक भाषा विज्ञलाई बोलाएको थियो। भण्डारीले सुरूमा आफूले चार जनाको हत्या गरेको भन्दै कापीमा अंग्रेजीमा लेखेका थिए, 'आई किल्ड फोर पिपल।'
भण्डारीले हत्या गरेको स्वीकार गरेपछि प्रहरीले शनिबार पक्राउ गरेका दीपेन्द्र राईलाई रिहा गरिदिएको छ।
आरोपित भण्डारीले भने- म घर कतिखेर जान पाउँछु ?
आरोपित सञ्जय भण्डारीले आफूले गल्ती गरेको भन्दै माफी मागेका छन् ।आइतबार प्रहरीले उनलाई पत्रकार समक्ष सार्वजनिक गर्ने क्रममा आफूलाई मिडियामा नदेखाउन पनि उनले आग्रह गरेका थिए । उनले आफूलाई पहिलोपटक हत्या गर्दा जेल जानुपर्छ, प्रहरीले पक्राउ गर्छ भन्ने समेत थाहा नभएको दाबी गरेका अनुसन्धानमा संलग्न प्रहरीले अधिकृतले जनाएका छन् ।
उनले पानामा आफ्ना कुरा लेख्दै घटनाको फटाफट जिम्मा लिएका स्रोतले बताए । त्यही क्रममा उनले घर कतिखेर जान सकिन्छ भनेर प्रहरीलाई लेखेर सोधेका थिए ।




















