काठमाडौं,६ असोज । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले माध्यमिक तहसम्मको शिक्षाको जिम्मेवारी स्थानीय तहलाई दिने प्रस्ताव उचित नभएको बताउनु भएकोछ ।
शुक्रबार काठमाडौंमा नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघको दोश्रो राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै अध्यक्ष नेपालले विद्यालय शिक्षा सम्बन्धी विधेयकमा प्रस्तावित व्यवस्थाले माध्यामिक तहसम्मको शिक्षाको जिम्मेवारी स्थानीय तहले गर्न नसक्ने समेत बताउनु भएको हो ।
शिक्षाको जिम्मेवारी स्थानीय तह दिदा कसरी उपयोग गर्ने कुरामा मात्र सीमित हुन सक्ने अवस्था बन्न सक्ने भएकाले प्रश्न उठ्न सक्ने उहाँले बताउनु भयो । उहाँले अधिकारको विकेन्द्रीकरणको कुरा सोचेर पालिका तहमै माध्यमिक तहसम्मको अधिकार दिएको भन्दै अहिले नै संविधान संशोधन हुने अवस्था नरहेको जिकिर गर्नुभयो ।
अध्यक्ष नेपालले सडकमा उत्रेका शिक्षकहरुको जायज मागलाई सम्बोधन गर्न सरकार गम्भीर हुनुपर्ने जिकिर गर्नुभयो । उहाँले अहिले आन्दोलनको उपलब्धी कसरी जोगाउने भन्ने चिन्ता रहेको भन्दै भष्टाचार कमिशनतन्त्र, ढिलासुस्ती लगाएतको व्यापक विरोध गर्नुपर्ने बताउनु भयो ।



















