केराबारी,२९ असोज । मोरङको केराबारी गाउँपालिकामा कृषि मेला प्रदर्शनी सम्पन्न भएको छ । केराबारी गाउँपालिकाको कृषि शाखाले सोमबार केराबारी १० स्थित मंगलबारे हटियामा कृषि मेला प्रदर्शनीमा गरेको हो।
बिश्व खाद्य दिवसको अवसर पारेर गरिएको कृषि मेला प्रदर्शनीमा कृषकहरुको उल्लेख्य सहभागिता रहेको कृषि शाखाका अधिकृत टेकप्रसाद बास्तोलाले जानकारी दिए ।
केराबारी गाउँपालिका भित्र के कस्ता उपज उत्पादन हुन्छ सो बारे जानकारी लिन,किसानलाई कृषि प्रति उत्प्रेरणा जगाउन, कृषकलाई अरुको भन्दा अब्बल उत्पादन गर्ने उद्देश्यले प्रतियोगि भावना जगाउन कार्यक्रम गरिएको अधिकृत बास्तोलाले बताए ।
प्रदर्शनीमा केराबारीका बिभिन्न वडाका कृषकहरुले उत्पादन गरेका तरकारी, खाद्यान्न बालि, नगदे बाली, फलफुल, दलहन तेलहन बालि, ब्यवसायीक किट(मौरी, च्याउ) औधोगिक बालि एवं अन्यबालि प्रदर्शनमा राखेका थिए।

प्रदर्शनीमा राखिएका बालिहरुको बिभिन्न बिषयमा मोरङ्गको कानेपोखरी गाउँपालिकाका कृषि शाखा प्रमुख सागर पौडेल, लेटाङ्ग नगरपालिकाका कृषि शाखा प्रमुख करण श्रेष्ठ र उर्लाबारी नगरपालिकाका कृषि प्राविधिक रोशन रणपालले बालि स्वस्थताको आधारमा, बजारको आवश्यकता रुची, ब्यवसायिक सम्भावित बालि रंग आकार प्रकार, प्राविधिकहरुको स्वमुल्यांकन र स्थानीय जातको प्रवर्धनका आधारमा मुल्यांकन गरेका थिए।
उनिहरुको मुल्यांकनका आधारमा प्रदर्शनीमा उत्कृष्ठ ठहरिएका ३०जना कृषकलाई पुरस्कृत गरिएको कृषि शाखा अधिकृत बास्तोलाले बताए ।
अधिकृत बास्तोलाले आगामी वर्ष पशु अनि घरेलु तथा लघु उद्यमलाई पनि प्रदर्शनीमा सहभागी गराउने तथा कृषिमा आधुनिकिकरणको मोडल फार्मको प्रदर्शनी गर्ने बताए ।
कार्यक्रममा उत्कृष्ट कृषक तथा कृषि उद्यमीका रुपमा केराबारी १ का प्रेमबहादुर राई,केराबारी २का पालसिंह लिम्बु,केराबारी ३ का सूर्यबहादुर तामाङ केराबारी ७ का डम्बरु बराल र केराबारी ९ का बिक्रम पण्डितलाई पुरस्कृत गरिएको थियो।
त्यस्तै गाउँपालिका स्तरीय “केराबारी गाउँपालिकामा खाद्य सुरक्षाको अवस्था र कृषिको व्यवसायिक सम्भावना” बिषयक खुल्ला बक्तित्वकला प्रतियोगिता पनि गरिएको थियो। प्रतियोगितामा प्रकाश राई प्रथम, निशा पौडेल द्वितीय, कुमार बिश्वकर्मा तृतीय भएका छन्। उनिहरुलाई गाउँपालिकाले पुरस्कृत गरेको छ।
केराबारी गाउँपालिकाका वडा नम्बर २ का वडाध्यक्ष तथा आर्थिक/ कृषि समिति संयोजक प्रेमबहादुर लिम्बुको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष सुमन मिरिङचिङको प्रमुख आतिथ्यता रहेको थियो। त्यसैगरी गाउँपालिकाकी उपाध्यक्ष मनमाया मगर,कोशी प्रदेश कृषि,उद्योग तथा सहकारी मन्त्रालय खाद्य सुरक्षा तथा अनुगमन महाशाखाका प्रमुख डा.दिपा दिवाली,वडाध्यक्षहरु,कार्यपालिका सदस्यहरु लगायतको आतिथ्यता रहेको थियो ।



















