रुकुम पश्चिम,२ कात्तिक। राष्ट्रपतिबाट कैद मिनाहा गरिएका रुकुम पश्चिममा एक व्यक्तिले जेलमुक्त भएको २५ दिनमा फेरि एक महिलाको घाँटी रेटेर हत्या गरेका छन ।
गत असोज ३ गते संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट कैद माफि भएर कारागार कार्यालय रुकुमबाट कैदमुक्त भएका रुकुमपश्चिमको सानीभेरी गाउँपालिका –९ का ३३ वर्षिय लोकेन्द्र भनिने लोकबहादुर बिकले होटेलमा लिएर एक महिलाको हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।
लोकबहादुरले मुसीकोट नगरपालिका –७ साँखकी २८ वर्षिया भावना बिकको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरिक्षक (डिएसपी) नमराज भट्टराईले जानकारी दिनुभयो । भावनाको हत्या गरेको आरोपी लोकबहादुरले स्विकार गरेको, दशिप्रमाण र अनुसन्धानका क्रममा समेत खुल्न आएको भन्दै प्रहरीले लोकहादुरलाई बुधबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।
उनी बाहिर निस्केको एक महिना नहुँदै यस्तो घटनामा संलग्न भएपछि गम्भीर अपराधमा जोडिएकालाई आममाफी दिएर आलोचना भएको सरकार र सिफारिस गर्ने राष्ट्रपतिमाथि थप आलोचना हुने भएको छ ।
आईतबार होटेल सत्कारमा पुगेका उनीहरुले त्रिवेणी गाउँपालिकाका विकास केसीको नामबाट होटेलको कोठा बुक गराएका थिए । नातामा श्रीमान् श्रीमतीको सम्बन्ध उल्लेख गरेका उनीहरुले दिएको नाम र विवरण गलत रहेको प्रहरीले पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।
बहुबिवाह मुद्धामा कैद भुक्तान गरिरहेका लोक बहादुर असोज ३ गते संविधान दिवसको अवसरमा कैद मिनाहा पाएर कैदमुक्त भएका थिए ।
हत्या आरोपी बिक बिरुद्ध कर्तव्य ज्यान शिर्षकमा मृतकको सासुआमा उजेली कामीले किटानी जाहेरी दिनुभएको छ । पक्राउ परेका बिक बिरुद्ध जिल्ला अदालत रुकुम पश्चिमबाट जरुरी पक्राउ स्विकृति लिई हिरासतमा राखेर अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।
प्रहरीले महिला हत्याको घटनाको अनुसन्धानको लागि कुकुरसहितको अनुसन्धान टोली मगाएको थियो । मंगलबार बेलुका घटनास्थल पुगेको कुकरसहितको बिशेष प्रहरी टोलीले सफल अनुसन्धान गरेको हो । घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम, नेपाल प्रहरीको केनाइन कुकुर शाखा कोहलपुरबाट तालिम प्राप्त कुकुर र दक्ष जनशक्ति परिचालन भएको थियो ।




















