बारा,१४ कात्तिक । बाराको कलैयास्थित बाल एकता इङ्गलिस बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश स्वर्णकार ‘गुड्डु’ को हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले एक महिलासहित ६ जनालाई पक्राउ गरेको छ । बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले तीन जना नेपाली र तीन जना भारतीय नागरिकलाई पक्राउ गरेर अनुसन्धान थालिएको जानकारी दिएका छन् ।
पक्राउ पर्नेहरुमध्ये एक जना उनकै विद्यालयमा काम गर्ने पूर्व शिक्षिका समेत रहेको प्रहरी स्रोतले जनाएको छ । पक्राउ परेकाहरुको नाम भने प्रहरीले खुलाएको छैन । सोमबार दिउँसो दुई वटा मोटरसाइकल चढेर आएका चार जनाको समूहले स्वर्णकारमाथि गोली प्रहार गरेर भारततिर भागेको प्रहरीले जनाएको छ ।
टाउको र छातीमा गोली लागेर गम्भीर घाइते भएका स्वर्णकारको उपचारका क्रममा वीरगञ्जस्थित बयोधा अस्पतालमा मृत्यु भएको थियो । उनलाई दुई वटा मोटरसाइकलमा आएका आक्रमणकारीले पछ्याएर गोली प्रहार गरेका थिए । आपसी सम्बन्ध र रिसिबीको कारण स्वर्णकारको हत्या भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।




















