पथरी,२५ कात्तिक । माेरङकाे पथरीशनिश्चरे प्रीमियर लिगको उपाधी आइतबारे अस्त्रले उचालेको छ । गोर्खा लिजेण्ड माथी ६ विकेटले पराजित गर्दै आइतबारे नयाँ च्याम्पियन बनेको हो ।
फाइनलमा आइतबारेका नृत्य खडोलियाको सतकीय प्रर्दशनमा आइतबारे उपाधी भित्राउन सफल भयो ।
टस हारेर ब्याटिङ गरेको गोर्खाले निर्धारित २० ओभरमा ४ बिकेट गुमाएर १ सय ४९ रन बनायो । गोर्खाका लागि सुजन थपलियाले ७१ रन बनाए । ज्ञानेन्द्र श्रेष्ठले २६ र समित राईले १३ रन बनाए । आइतबारेका दिपेश भण्डारीले ३ दिपक नेपालीले २ र अभिषेक बिकले १ बिकेट लिए ।
१सय ५० रनको लक्ष्य लिएर मैदान उत्रिएको आइतबारेले १५ ओभर ४ बलमा ४ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । जसमा खडोलियाले अविजित १ सय १० रन बनाए । मंगेश राईले अविजित १४ रन बनाए । गोर्खाका आभाष पाहिम र फडेन्द्र पौडेलले समान २-२ बिकेट लिए ।
विजेता आइतबारे अस्त्रलाई पथरीशनिश्चरे नगरपालिकाका प्रमुख मोहन तुम्वापोले ट्रफ्री प्रदान गरे । बिजेताले १ लाख ११ हजार रुपयाँ र ट्रफ्री जित्दा उपविजेता गोर्खाले ७१ हजार रुपयामा चित्त बुझायो ।विधागत तर्फ पनि आइतबारेका खेलाडी हावी भए ।
उत्कृष्ट फिल्डर , म्यान अफ दि टुर्नामेन्टको आइतबारेका मोहम्मद निशार उत्कृष्ट विकेटकिपर आइतबारेकै नृत्य खडोलिया उत्कृष्ट बलर बिरेन्द्रनगर स्टिल टाइगरका सुदिप चौधरी,उत्कृष्ट ब्याटमेन गोर्खाका राज पालुङा, प्रभाशाली खेलाडीमा आइतबारेका दिपेश भण्डारी र उदयमान खेलाडीमा बुद्ध युनाइटेडका सौरव बस्नेत घोषित भए । फेयर प्ले उपाधी बिरेन्द्रनगर स्टिल टाइगरले जित्यो ।
पहिलो संस्करणको उपाधी रोयल किङले जितेको थियो भने दोश्रो र तेश्रो संस्करणको उपाधी सातबाघले जितेको थियो ।
समापन कार्यक्रममा क्रीकेटको सुचना सम्प्रेषणमा महत्त्वपूर्ण भूमिका खेलेको भन्दै पत्रकार अर्जुन काफ्लेलाई सम्मान गरिएको थियो ।




















