- भगवती अर्याल
विराटचोक,१२ मंसिर । मोरङको सुन्दरहरैंचामा रहेको सुकुना बहुमुखी क्याम्पसको परिषदको सत्रौँ बैठक सम्पन्न भएको छ । सोमबार भएको परिषदको बैठकको उदघाटन सत्रमा नेपाल सरकार‚ शिक्षा‚ विज्ञान तथा प्रविधि मन्त्री प्रमिलाकुमारी यादवको प्रमुख आतिथ्यता रहेको थियो ।
उक्त क्याम्पसको पुर्व विधार्थी समेत रहनुभएकी मन्त्री यादवले उदघाटन गर्दै आफू क्याम्पसको पूर्वविद्यार्थी पनि भएका नाताले क्याम्पसको भौतिक‚ आर्थिक र प्राविधिक विषयमा सहयोग गर्ने र क्याम्पसले गरेको प्रगतिमा सन्तोष व्यक्त गर्नु भयो ।
त्यसैगरी कार्यक्रमका विशिष्ट अतितिको रुपमा प्रतिनिधि सभाका सदस्य माननीय डा.सुनिलकुमार शर्माले क्याम्पसले प्राविधिक र व्यवसायिक धारका कार्यक्रम सञ्चालन गर्नु पर्ने र यसका लागि आफूले सहयोग गर्ने बताउनु भयो ।
उक्त कार्यक्रमा जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्बर राई‚कोसी प्रदेशका पूर्वराज्य मन्त्री राजकुमारओझा‚जनता बहुमुखी क्याम्पस इटहरीका सहायक क्याम्पस प्रमुख डा.टोलनाथ काफ्ले‚पूर्व क्याम्पस प्रमुख पीतकुमार श्रेष्ठ‚राजनीतिक दहलहरूको तर्फबाट नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष दुष्यन्त भट्टराई‚ प्राध्यापक सङ्घको तर्फबाट जनार्दन गुरागाईँ र स्वतन्त्र विद्यार्थी युनियनका सभापति सन्तोष लिम्बूले क्याम्पसको विकास र विस्तारका विषयमा आआफ्नो धारणा राख्नु भएको थियो ।
क्याम्पस सञ्चालक समितका अध्यक्ष केशव अधिकारीको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रको सञ्चालन सहायक क्याम्पस प्रमुख एवम् अनुसन्धान विभागका प्रमुख गणेशप्रसाद दहालले गर्नु भएको थियो ।
त्यसैगरी उद्घाटन सत्रको कार्यक्रम सम्पन्न भएपछि परिषदको बन्दसत्रको बैठक सञ्चालन भएको थियो । क्याम्पस सञ्चालक समितका अध्यक्ष केशव अधिकारीको अध्यक्षतामा सम्पन्न भएको बन्दसत्रमा सञ्चालक समितिको तर्फबाट क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
क्याम्पस प्रमुख अधिकारीले प्रस्तुत गर्नु भएको वार्षिक प्रगति प्रतिवेदनमा नीति तथा कार्यक्रम‚वार्षिक कार्ययोजना‚आर्थिक वर्ष २०८०र ०८१ को बजेट‚ आन्तरिक लेखा परीक्षण प्रतिवेदन र वाह्य लेखा परीक्षण प्रतिवेदन उपर छलफल तथा प्रश्नोत्तर भई रचनात्मक र सिर्जनात्मक सुझाव सहित पारित गरीएको सहायक क्याम्पस प्रमुख गणेशप्रसाद दहालले जानकारी दिनु भयो ।
तीन चरणमा भएको क्याम्पसको परिषदको सत्रौँ बैठकको पहिलो सत्रमा १७४ जना विद्यार्थीहरूलाई १३ लाख चालिस हजार बराबरको छात्रवृत्ति वितरण गरिएको थियो । जनताहरुद्वारा संचालित सुकुना बहुमुखी क्याम्पस कोशी प्रदेशकै पब्लिक क्याम्पसहरु मध्ये उत्कृष्ट र धेरै विद्यार्थीहरुको रोजाइमा पर्ने क्याम्पसको रुपमा स्थापित भएको छ ।






















