विराटचोक, १८ मङ्सिर । मोरङको सुकुना बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाजको वैठक सम्पन्न भएको छ । नारायण सुवेदीको अध्यक्षतामा आइतबार बसेको पहिलो बैठकले विभिन्न निर्णयहरुको गरेको छ ।
बैठकले पूर्वविद्यार्थी समाज, सुकुना बहुमुखी क्याम्पस नामको फेसबुक पेज खोली यस पेजमा जोडिनका लागि सबै पूर्वविद्यार्थीलाई अनुरोध गरेको र उक्त पेजबाट रचनात्मक सुझावहरू प्राप्तहुने अपेक्षा गरेको छ । त्यसैगरी समाजले [email protected] नामको इमेल आइडि खोली देश तथा विदेशमा छरिएर रहेका पूर्वविद्यार्थीहरूलाई उक्त इमेलमार्फत रचनात्मक र सिर्जनात्मक सुझावहरू पठाउन आव्हान गरेको छ ।
त्यसैगरी समाजले आगामी मङ्सिर २६ गते मङ्गलबारका दिन विहान ७:०० देखि क्याम्पसको प्राङ्गणमा रक्तदान जीवन दान भन्ने नाराका साथ रक्तदान कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । यस कार्यक्रममा रक्तदान गरी सफल बनाउन सबैलाई आव्हान गरेको छ ।
बैठकमा समाजका निवर्तमान अध्यक्ष राजकुमार ओझा र सहायक क्याम्पस प्रमुख गणेशप्रसाद दहालले समाजले सबै पूर्वविद्यार्थीहरूलाई एक संयन्त्रमा आवद्ध गर्न अपनाउनु पर्ने नीति र कार्यक्रमका विषयमा सुझाएका थिए । बैठकको सञ्चालन सचिव अर्जुन गजुरेलले गरेका थिए । अध्यक्षको हैसियतले सुवेदीले समाजको सफलता नै सबै पूर्वविद्यार्थीहरूको सफलता हो भन्दै सहभागी सबैलाई धन्यवाद दिँदै बैठकको समापन गरेका थिए ।



















