विराटचोक,२७ मंसिर । मोरङको सुन्दरहरैंचा स्थित सुकुना बहुमुखी क्याम्पसमा क्यान्सर रोग सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ । क्याम्पसको प्राथमिक उपचार एकाइको आयोजनामा बुधबार उक्त सचेतना कार्यक्रम सञ्चालन गरिएको हो ।
उक्त सचेतना कार्यक्रममा विराट मेडिकल कलेज टिचिङ हस्पिटल विराटनगरका क्यान्सर रोग विशेषज्ञ डा.अस्मिता रायमाझी र बजार व्यवस्थापक ईश्वर गुरुङले स्तन‚ पाठेघर र अण्कोषमा हुने क्यान्सरका लक्षण‚ असर‚ रोकथाम र उपचार विधिका विषयमा सहभागीहरूलाई सचेतना गराएको सहायक क्याम्पस प्रमुख एवम् अनुसन्धान विभागका प्रमुख गणेशप्रसाद दाहाले जानकारी दिनुभयो ।
कार्यक्रममा स्नातक तहमा अध्ययनरत विद्यार्थी र सो तहमा अध्यापनरत शिक्षकहरूको सहभागीता रहेको थियो ।
उक्त कार्यक्रममा व्यवस्थापन विभागका प्रमुख उमेश उप्रेती‚ शिक्षक खगेन्द्रराज दाहाल र अधिकृत नवराज कोइरालाले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा सहभागी विद्यार्थीहरू र विज्ञ बिचमा उक्त रोग र उपचारका विषयमा प्रश्नोत्तर समेत भएको थियो । कार्यक्रमको अन्तमा विषयविज्ञ र छात्राहरू बीच छुट्टै छलफल गरिएको थियो ।
क्याम्पसले विद्यार्थीहरूका बीचमा यस्ता सचेतनामूलक र परामर्श तथा पथप्रदर्शनका कार्यक्रमहरू सञ्चालन गरेर विद्यार्थीहरूकै माध्यमबाट समाजमा जनचेतना पुर्याउने कार्यक्रम रहेको कुरा सहायक क्याम्पस प्रमुख दहालले जानकारी गराएका छन् ।
विषयविज्ञको टोली र सहभागी सबैलाई क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले धन्यवाद दिँदै कार्यक्रम समापन गरिएको थियो ।




















