विराटचोक,१७ पुस । मोरङ सुन्दरहरैँचामा अवस्थित सुकुना बहुमुखी क्याम्पसमा विद्यार्थीहरू सँग छलफल र अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । क्याम्पस प्रशासनले सोमबार तीन चरणमा विद्यार्थीहरू सँग छलफल र अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको हो । 

पहिलो चरणमा बीएस्सी दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरूको आन्तरिक परीक्षाको नतिजा सार्वजनिक गर्दै उत्कृष्ट स्थान हासिल गर्ने तीनजना विद्यार्थीहरूलाई क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले पुरस्कार वितरण गरेका छन् । नतिजा प्रकाशन र पुरस्कार वितरण कार्यक्रमको सञ्चालन बिएस्सि कार्यक्रमका कोअर्डिनेटर टीकाप्रसाद उपाध्यायले गरेका थिए । 

दोस्रो चरणमा उक्त तहमा अध्यापनरत शिक्षकहरूको अनुपस्थितिमा र क्याम्पस प्रमुख अधिकारी तथा सहायक क्याम्पस प्रमुखहरू द्वय बलराम पोखरेल र गणेशप्रसाद दहालको उपस्थिमा बिएस्सि कक्षाको पठनपाठन‚ पुस्तकालय‚ प्रयोगशाला‚ शिक्षक/कर्मचारीका व्यवहार‚ कोर्सको अवस्थाका विषयमा खुलेर छलफल तथा अन्तर्क्रिया कार्यक्रम गरी गुनासो सुन्ने र पृष्ठपोषण लिने काम गरिएको थियो ।   दोस्रो चरणको कार्यक्रम सहायक क्याम्पस प्रमुख दहालले गरेका थिए भने अर्का सहायक क्याम्पस प्रमुख पोखरेलले अवका दिनहरूमा क्याम्पसले विद्यार्थी र अन्य सबैका गुनासो सुनेर सम्बोधन गरिने बताए । क्याम्पस प्रमुख अधिकारीले साधन र स्रोतले भ्याएसम्म गुनासो पूरा गर्ने तर विद्यार्थीहरूले मेहनत गरेर उत्कृष्ट नतिजा दिनुपर्ने कुरामा जोड दिए । 

तेस्रो चरणमा बिबिए छैटौँ सेमिष्टरमा अध्ययनरत विद्यार्थीहरू बिच छलफल तथा अन्तर्क्रिया कार्यक्रम र गुनासो सुन्ने कार्य गरिएको जानकारी सहायक क्याम्पस प्रमुखले दिएका छन् । उक्त कार्यक्रमका विद्यार्थीहरूलाई पठनपाठन सँग सम्बन्धित विषयमा निर्धक्क भएर मनमा लागेका, देखेका, भोगेका भनाइहरू प्रस्तुत गर्न क्याम्पस प्रमुखले अनुरोध गरे । तेस्रो चरणको कार्यक्रम सञ्चालन बिबिए डाइरेक्ट शङ्कर देवानले गरेका थिए ।