पोखरा,१७ पुस । सहकारीको क्षेत्र विस्तारका क्रममा घुस लिएको आरोपमा पक्राउ परेका कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली जेल चलान भएका छन् । सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीका पूर्व रजिष्ट्रार समेत रहेका पराजुलीसहित चार जना पुर्पक्षाका लागि कारागार चलान भएका हुन् ।
सहकारी रजिष्ट्रार कार्यालय गण्डकीका पूर्व रजिष्ट्रार उनले पोखराको मित्रमिलन सहकारीको क्षेत्र ११ वटै जिल्लामा विस्तार गर्नका लागि सहकारीबाट १ करोड ५ लाख घुस लिएको आरोप छ ।
कास्की जिल्ला अदालतका न्यायाधीश ऋषिराम आचार्यको इजलासले उनीहरुलाई पुर्पक्षका लागि कारागर पठाउन आदेश दिएको हो । थुनामा जानेमा सहकारीका सञ्चालक गोपाल खनाल, बुद्धिसागर पौडेल र राजु बरालसमेत रहेका छन् ।
कास्कीको मित्रमिलन सहकारीको कार्यक्षेत्र थप गर्न रकम लिएको आरोपमा प्रहरीले पराजुलीलाई पुस ११ गते पक्राउ गरेको थियो । उनले कार्यक्षेत्र थप गर्न भनी एक करोड पाँच लाख रुपैयाँ लिएको अनुसन्धानका क्रममा देखिएको थियो ।
सहकारी रजिष्ट्रार कार्यालयको प्रतिवेदनले २६ करोड रुपियाँ अपचलन भएको देखाएको छ । प्रहरीले ३२ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेकोमा हालसम्म ६ जना पक्राउ परेका छन् । अन्य फरारको खोजी भइरहेको कास्की प्रहरीका प्रवक्ता डीएसपी श्रवणकुमार विकले जानकारी दिए । पोखरा २१ का वडाध्यक्ष दीपक सुवेदीसहित दुई दर्जनभन्द बढी अझै फरार छन् ।




















