विराटचोक,२१ पुस । मोरङको सुन्दरहरैँचा स्थित सुकुना बहुमुखी क्याम्पसमा कविता गोष्ठि सम्पन्न भएको छ ।क्याम्पसको नेपाली शिक्षण विभाग अन्तर्गत रहेको अतिरिक्त क्रियाकलाप उपसमितिको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
उक्त गोष्ठिमा शिक्षक तथा विद्यार्थीहरू गरी २७ जनाले कविता वाचन गरेका थिए । दुई सत्रमा पठन पाठन हुने उक्त क्याम्पसको विहानी सत्रमा शिक्षक तथा विद्यार्थीहरू बीच कविता गोष्ठि सम्पन्न भएको सहायक क्याम्पस प्रमुख एवं अनुसन्धान एकाइका प्रमुख गणेशप्रसाद दाहालले जानकारी दिए ।
क्याम्पस प्रमुख अर्जुनराज अधिकारीको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा सहायक क्याम्पस प्रमुख बलराम पोखरेल‚ प्राध्यापक संघका सभापति जनार्दन गुरागाईँ‚ कविता समीक्षक डा. दीपकप्रसाद न्यौपाने‚ नेपाली विभाग तथा अन्य विभागका शिक्षकहरू र विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।
शुक्रबार भएको उक्त कार्यक्रममा क्याम्पस प्रमुख अधिकारीले विद्यार्थीहरूका सुन्दर साहित्यिक सिर्जनाहरूका लागि क्याम्पसले अवसर दिने र संरक्षण गरिने कुरामा क्याम्पस प्रमुख अधिकारीले जोड दिएका छन् ।
नेपाली शिक्षण विभाग उपसमितिका संयोजक दीपक गौतमको सभापतित्वमा भएको उक्त कार्यक्रमको सञ्चालन उपसमितका सदस्य शिक्षणसहायक रेखा सुवेदीले गरेकी थिइन् ।
कोशी प्रदेशकै ठुलो सुकुना बहुमुखी क्याम्पसमा बिज्ञान ,ब्यावस्थापन ,शिक्षा,मानविकी बिआइसिटी लगायतका बिषयमा पढाई हुने क्याम्पसमा स्नातकोत्तर सम्म गरी ४ हजार भन्दा बढी विद्यार्थीले अध्यन गरीरहेका छन ।
क्युएए प्राप्त उक्त क्याम्पसको राम्रो भौतिक संरचना,सुन्दर शान्त वातावरणमा पठन पाठन देखि विद्यार्थीहरुलाई आवत जावतमा कलेज बसहरुको सुविधा समेत रहेको छ ।




















