काठमाडौं । केकमा अवैध लागूऔषध गाँजा मिसाएर अनलाइनमार्फत बिक्री गरेकाे आराेपमा प्रहरीले एक जनालाई काठमाडाैंबाट पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा काठमाडौंकाे घट्टेकुलो बस्ने २६ वर्षीय विशन मानन्धर रहेका नेपाल प्रहरीकाे लागूऔषध नियन्त्रण ब्युराेले जनाएकाे छ । ब्युराेले आइतबार पत्रकार सम्मेलन गरेर उनलाई सार्वजनिक गरेकाे हाे ।

मानन्धरले विगत एक वर्षदेखि इन्स्टाग्राममा 'बम्ब डट उङ नेपाल' नामकाे अकाउन्ट बनाएर गाँजा प्रयोग गरी मफिन लगायत केक बनाई बिक्री वितरण गर्दै आएका ब्युराेले जनाएकाे छ ।

विशनले विगत १ वर्षदेखि आफ्नै घरमा गाँजा मिसावट गरिएका केकका विभिन्न प्रकारहरू बनाई अनलाइन डेलिभिरीमार्फत अवैध कारोबार सञ्चालन गरेको खुलेको ब्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक गोविन्द थपलियाले जानकारी दिनुभयाे । उनले बनाएका केक प्रयोगकर्ता विशेषगरी होष्टलमा बसेका युवाहरू रहेको देखिएको पनि उहाँले जानकारी दिनुभयाे ।

आफ्नो अवैध कारोबारलाई गोप्य रूपमा सञ्चालन गर्न विशनले विश्वासिला व्यक्तिलाई मात्र इन्ड्राइभमार्फत केकहरूको डेलिभरी गर्ने गरेको खुलेको पनि ब्युराेले जनाएकाे छ ।

विशनको घरकोठामा खानतलासी गर्दा गाँजाको धुलो १ सय २१ ग्राम, तयारी अवस्थाको केकको झोल १ सय ७८ ग्राम, लागूऔषध गाँजा ३ केजी ७ सय ५४ ग्राम, सेतो रङको डिजिटल तराजु १, इलेक्ट्रिक ओभन १, ग्लोबल आईएमई बैंकको एटीएम कार्ड, अर्डरको सामन डेलिभरी गर्ने नीलो र रातो रङका हाते झोला लगायत बरामद गरिएको पनि ब्युरोले जनाएको छ ।

चकलेट टपिङ बोतल १, चकलेट कपको बन्डल २, एडिबेल लेज बट्टा १, ब्रेड क्रम्स प्याकेट १, चकलेट पाउडर प्याकेट १, चोको चिप्स प्याकेट १, चोको चिप्स बट्टा २, चकलेट मोल्ड २, चकलेट पाउडरको बट्टा १, ओभन पञ्जा १ जोर, स्टिकर १, मैदाको पीठो बट्टा ५, चकलेट स्प्रिङकल बट्टा १, बम्बुङ नामको छाप १, चिनीको बट्टा १, चकलेट प्याकिङ गर्ने सिल्भर पेपरको झोला १, पानी टेपको रोल १ समेत बरामद गरिएको ब्युराेले जनाएकाे छ ।