खोटाङ,१२ माघ । नियमन गर्ने संयन्त्र प्रभावकारी नहुँदा खोटाङमा पेट्रोल विक्री वितरणमा मनपरी भइरहेको पाइएको छ । मोटरसाईकलमा प्रयोग हुने पेट्रोल केही पसलहरुमा राखेर मनपर्दो मूल्यामा बिक्रीवितरण भइरहेको पाइएको हो । केही व्यवसायीले पेट्रोल पम्पबाट पेट्रोल खरिद गरेर ड्यु र मिनरल वाटरको खाली बोत्तलमा भरेर बढी मूल्या लिएर बिक्रीमा राख्ने गरेका छन् ।
पेट्रोल पम्पमा नेपाल आयल निगमले तोकेको मुल्यमा पेट्रोल पाइए पनि पसलमा राखिएको पेट्रोल दोब्बर–तेब्बर मूल्यामा बिक्री गर्ने गरिएको उपभोक्ताको गुनासो छ । उसो त स्वयं पेट्रोल पम्पले नै आयल निगमले तोकेकोभन्दा बढी मूल्या लिने गरेको सामाजिक सञ्जालमै गुनासो आइरहेका छन् ।
गाउँका पसलमा समेत बोत्तलमा पेट्रोल भरेर बिक्री गर्न राखिएको देख्न सकिन्छ । खुद्रा पसलमा साँढे दुई लिटरको जम्बु ड्युको बोत्तममा पेट्रोल भरेर ४७० देखि ७०० रुपैयाँ सम्ममा बिक्री गर्ने गरिएको एक उपभोक्ताले बताएका छन् । आयल निगमले बिहिबार पेट्रोलको मूल्या प्रतिलिटर १७१.५० तोकेको छ ।
‘केही व्यापारीले अबैधरुपमा पेट्रोल बेचिरहेका छन्, पेट्रोल पम्पबाट पेट्रोल लगेर तेब्बर मूल्या लिएर कालोबजारी गरिहेका छन्,’ ती उपभोक्ताले भने, ‘पेट्रोल पम्प छ भन्ने थाहा नपाउने उपभोक्ता त्यही पसलको पेट्रोल किन्न वाध्य छन् । यसको कसले नियमन गर्ने, कसले कारबाही गर्ने ?’
मध्यपहाडी लोकमार्गका कारण जिल्लामा सवारी साधनको चाप बढ्दोछ । जिल्ला बाहिरबाट आएका उपभोक्ता पेट्रोल खरिदका क्रममा बढी ठगिनेगरेका छन् । जिल्ला भित्रिएका नयाँ मान्छेलाई पेट्रोल पम्पको ‘लोकेसन’ थाहा हुन्न । त्यही भएर उनीहरु पसलमा राखिएको पेट्रोल खरिद गर्नेक्रममा दोव्वर–तेव्वर बढी पैसा तिर्न वाध्य छन् ।
यस्तै, चोरीका बाईक चलाइरहेका चालकले पनि बोत्तलमै पेट्रोल प्रयोग गर्नेगरेका छन् । दिक्तेलबजारबाट पेट्रोल पम्प जानेक्रममा ट्राफिक प्रहरीको चेकिङ पार गर्नुपर्ने हुन्छ । ट्राफिकको चेकिङबाट जोगिनका लागि चोरीका बाईकलाई पसलमा राखिएको पेट्रोल हाल्ने गरिएको श्रोत बताउँछ ।
उद्योग बाणिज्य संघ खोटाङका अध्यक्ष राजनप्रसाद आचार्यले बोत्तलमा पेट्रोल भरेर बिक्रीमा राखेको देखिइरहेको बताउँछन् । ‘व्यापारीले बोटलमा पेट्रोल भरेर विक्रीवितरण गरिरहेको हामीले पनि देखेका छौँ । किनेका पनि छौँ,’ आचार्यले भने, ‘कालोबजारी गरेर उपभोक्तालाई ठग्ने प्रवृति मौलाएको छ । हामी नियमन गर्न लाग्छौँ ।’
पेट्रोल खरिदका क्रममा उपभोक्ता ठगिएको गुनासो नआएको खोटाङका प्रमुख जिल्ला अधिकारी पवित्रप्रकाश शाहले बताए । ‘उपभोक्ता ठगिएको विषयमा कुनैपनि गुनासो आएको छैन । खुद्रा पसलका व्यापारीले बोत्तलमा पेट्रोल भरेर विक्री वितरण गरेकारहेछन् भने अनुगमन गरेर कारवाही गर्छौँ,’ प्रमुख जिल्ला अधिकारी शाहले भने, ‘कालोबजारी गर्नु नियम विपरित हो, चाँडै एक्सन लिन्छौँ ।’ यो समाचार राजधानी राष्ट्रिय दैनिकमा छ




















