संखुवासभा,१२ माघ  । संखुवासभाको सिद्धकालीमा हत्या प्रकरणमा संलग्न एक जना महिला पक्राउ परेकी छन् । सामूहिक हत्या प्रकरणमा फरार रहेकी चैनपुर नगरपालिका–३ की ३५ वर्षीया कैली तामाङलाई मोरङ प्रहरीको सहयोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए ।

गत २०६० सालमा २ जना पुरुषको सामूहिक हत्या गरिएको घटनामा संलग्न भएकी तामाङ प्रहरीको फरार सूचीमा थिइन् । संखुवासभाको साविकको सिद्धकाली–२ का मंगल लिम्बू र योगेन्द्र दाहालको २०६० फागुन १० गते सामूहिक हत्या भएको थियो । तामाङलाई मोरङको केराबारी गाउँपालिका–१० स्थित मोहन नेपालको घरबाट पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए ।

मोरङबाट पक्राउ परेकी तामाङलाई प्रहरीले बिहीबार इलाका प्रहरी कार्यालय चैनपुर ल्याइएको छ । २० वर्षअघि भएको सामूहिक हत्या प्रकरणमा संलग्न तामाङ कर्तव्य ज्यान मुद्दामा अदातलबाट दोषी ठहर भए पनि फरार थिइन् । गत २०६० सालमा दुई जना पुरुषको सामूहिक हत्या गरिएको घटनामा संलग्न भएकी तामाङ प्रहरीको फरार सूचीमा थिइन् ।

कर्तव्य ज्यान मुद्दाकी प्रतिवादी तामाङलाई घटनामा संलग्न रहेको भनेर संखुवासभा जिल्ला अदालत चैनपुरले दोषी ठहर गरिसकेको छ । जिल्ला अदालतले २०६६ साल फागुन १२ गते उनलाई २० वर्ष कैद सजाय तोकेको थियो । घटनामा संलग्नविरुद्ध दर्ता भएको कर्तव्य ज्यान मुद्दाको १४ वर्षअघि नै अदालतबाट फैसला भइसकेको छ ।