• रेवती निरौला 

लेटाङ,१६ माघ  ।  मोरङको लेटाङ नगरपालिका वडा नम्बर ९ जाँतेस्थित श्री माध्यमिक विद्यालयले आफ्नो ५१ औं वर्षिकोत्सव सम्पन्न गरेको छ । आज लेटाङ नगरपालिकाका नगर प्रमुख भूपेन्द्र कुमार लावतीको प्रमुख आतिथ्यता तथा उपप्रमुख कृष्ण कुमारी निरौलाको विशिष्ट आतिथ्यतामा वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरिएको हो । 

वार्षिकोत्सवको अवसरमा माघ १० गतेदेखि विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गर्ने विभिन्न कार्यक्रम सञ्चालन गरिएकोमा सोमबार विभिन्न कार्यक्रमसहित पुरस्कार वितरण गर्दै वर्षिकोत्सव सम्पन्न गरिएको छ । सामुदायीक तथा सँस्थागत विद्यालय स्तरीय फुटबल प्रतियोगिता सञ्चालन गरिएकोमा छात्रतर्फ नमुना इंग्लिस वोर्डिङ स्कुल प्रथम तथा आयोजक श्री मावि दोश्रो भएका छन् । यस्तै छात्रातर्फ र जुनियर तर्फको फुटबलमा भने श्री मावि प्रथम भएको छ ।

यसैगरि श्री माविका शिक्षक र वसन्त हरियाली सामुदायीक वन उपभोक्ता समूहबीच मैत्रीपूर्ण फुटबल खेल खेलाइएकोमा वसन्त हरियाली विजयी भएको छ । यस्तै महिलातर्फ अभिभावक, स्थानीयवासी र विद्यालयका कर्मचारी तथा शिक्षिकाहरुबीच हाँडीफोर खेल खेलाइएकोमा विद्यालयकी कर्मचारी सुशीला गिरीले हाँडि फोर्न सफल हुनु भएको छ । 

कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि, सभाध्यक्ष लगायतले विजयी भएका विद्यार्थी तथा खेलाडीहरुलाई मेडल, ट्रफी, र नगद पुरस्कार प्रदान गर्नुभयो । सो अवसरमा विद्यार्थीहरुले गीत तथा नृत्य समेत प्रस्तुत गरेका थिए । 

विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्ण प्रसाद लुइँटेलको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय सामाजिक संस्थाका प्रतिनिधि, अभिभावकहरु लगायतको समेत अतिथ्यता रहेको थियो । 

वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लुइँटेलले विद्यालयले चाँडै अँग्रेजी माध्यममा पठन पाठन सुरुवात गर्ने जानकारी दिुनयभो । उहाँले विद्यालयले अगामी वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गर्ने सोच बनाएको भन्दै त्यसका लागि आवश्यक तयारीलाई पनि अघि बढाउनु पर्ने बताउनुभयो ।