जनकपुरधाम- सिरहाको लहानमा ‘भ्यालेन्टाइन डे’ मनाउन कोठामा बोलाएर एक किशोरले नाबालिग बलात्कार गरेको घटना सार्वजनिक भएको छ।

लहान नगरपालिका २ स्थित अरुण यादवको कोठा भाडामा लिएर बस्दै आएका १८ वर्षीय निकेश यादवले १५ वर्षीया नाबालिगलाई बलात्कार गरेका हुन्। बलात्कृत बालिकाको अवस्था गम्भीर छ। बलात्कार आरोपी किशोरलाई लहान प्रहरीले पक्राउ गरेको छ।

सिरहाका प्रहरी प्रवक्ता डिएसपी रविन्द्रराज पाण्डेका अनुसार बुधबार दिउँसो करिब २ बजे अरुणले कोठामै बालिकालाई बलात्कार गरेका थिए। पीडित परिवारले राति १२ बजेमात्र प्रहरीलाई जानकारी गराएको थियो। लगत्तै प्रहरीले आरोपी अरुणलाई नियन्त्रणमा लिएको छ।

बलात्कृत बालिका अत्यधिक रक्तश्राव भएर बेहोस भएकी थिइन्। उनलाई आफन्तले बुधवार साँझ उपचारका लागि प्रादेशिक अस्पताल लहान लगेको थियो। तर त्यहाँ उपचार सम्भव नभएपछि विराटनगरस्थित नोबेल हस्पिटल लगिएको छ।

बलात्कृत बालिका पनि सुखिपुरकै हुन्। लहानमै अध्ययनरत बालिका पनि कोठा भाडामा लिएर बस्दै आएकी थिइन्। अरुणले ‘भ्यालेन्टाइन डे’ मनाउन आफ्नो कोठामा बोलाएर बलात्कार गरेको बुझिएको छ।

प्रहरी प्रवक्ता पाण्डेले बलात्कृत बालिकाको अवस्था अहिले सामान्य रहेको कुरा उनकै आफन्तले बताएको जानकारी दिए।