विराटचोक - मोरङको केराबारी गाउँपालिका-९ मा आमा छोरीलाई खुकुरी हान्ने १ जनालाई बेलबारी प्रहरीले पक्राउ गरेको छ । लेटाङ नगरपालिका-१ का ५२ वर्षिय निरकुमार राईलाई पेस्तोल र खुकुरी सहित पक्राउ गरेको हो ।
बिहिबार बिहान केराबारी-९ भलुवा कि ५० वर्षिया जमुनादेवी राई र उनकी २५ वर्षिया छोरी रनुका राईलाई खुकुरी प्रहार गरी घाईते बनाएको र पेस्तोल समेत देखाएको भन्ने अस्थायी प्रहरी पोष्ट भलुवामा जानकारी प्राप्त हुना साथ तत्काल घटना स्थलमा खटिएको प्रहरी टोलीले राईलाई पक्राउ गरेको थियो ।
पक्राउ परेका राईको साथबाट ४ राउण्ड गोली लोड भएको मेडइन इटाली लेखेको अटो पेस्तोल १ थान, मेडइन चाइना लेखेको नक्कली पेस्तोल १ थान र दाप भएको खुकुरी सहित पक्राउ गरेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
खुकुरी प्रहारबाट घाईते भएका दुबै जनाको विराटनगर स्थित विराट नर्सिङहोममा उपचार भईरहेको छ भने घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बेलबारीबाट इन्सपेक्टर तेजबहादुर दाहाल नेतृत्वको टोलीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।




















