- अम्बिका भण्डारी
बेलबारी — अमेरिकन फौजी किरा तथा कटम्स किरा जस्ता रोगको महामारीका कारण मकै सखाप भई किसानहरु मारमा परिरहेका बेला बेलबारी नगरपालिकाबाट वितरण हुने बिषादीमा मनोमानी हुने गरेको पाइएको छ ।
बेलबारी नगरपालिकाको कृषि बिकास शाखामा बिषादी लिन आएका कतिपय कृषकहरुलाइ बिषादी छैन भन्दै फर्काइएको भेटिएपछि सो रहस्य खुलेको हो । शुक्रबार बेलबारी नगरपालिका पुग्दा बेलबारी ४ का कृषकलाइ कृषि शाखामा रहेकी एक कर्मचारीले बिषादी सकिएको छ एक हप्तापछि आउनोस् भन्दै फर्काएकी थिइन् । विषादी भएर पनि नदिइएको थाहा पाएपछि कृषकहरु बेलबारी नगरपालिकाका मेयर दिलप्रसाद राइको कार्यकक्षमा पुगे ।
एउटा हातमा किराले बिगारेको मकै र अर्को हातमा प्लास्टिकमा हालेको मकै खाने झुसिलेजस्तो किरा लिएर आएका कृषकले मेयर राइलाइ मकै देखाउंदै आफुहरु विषादी लिन आएको तर नपाएको गुनासो राखे । मेयर राइले तत्कालै कृषि शाखा प्रमुख सन्तोष खरेललाइ बोलाएर वहाँहरुले किन बिषादी पाउनु भएन भनेर सोधे । जवाफमा खरेलले बिषादी भएको तर आफुले राखेको भन्दै कृषकहरुलाइ शाखाबाट केही विषादी दिए ।
मेयरको सोर्सबाट किसानले बिषादी पाएको केही बेरपछि कृषि शाखामा गएर हामीले कृषकहरुले बिषादी पाउन सोर्स फोर्स नै लगाउनुपर्ने हो र भनी कृषि शाखा प्रमुख सन्तोष खरेललाइ सोध्यौं । उनले आफुहरु माथिल्लो तलामा एउटा तालिममा रहेको र शाखामा नयाँ मिस भएकोले थाहा नभएर त्यस्तो भएको दाबी गरे । मकैका लागि सबैखाले बिषादीहरु पर्याप्त भएको भन्न पनि उनी पछि परेनन् । त्यसपछि हामी नगरपालिकामा आएर बिषादी लिई फर्केका कृषकहरुको घरमै पुग्यौ । बेलबारी ४ खड्गबहादुर राइको घरमा पुग्दा उनी किराले खाएर खाली गरेको खेत हेर्दै टोलाइरहेका थिए । झन्डै दुइ महिनाअघि १ बिघा जग्गामा मकै लगाएका र यस अघि आफैले किनेर बिषादी लगाएको बताउने राइले नगरपालिकाबाट थोरै बिषादी पाएको तर धेरै भने किनेर ल्याएको बताए । अनि पो थाहा भो, नगरपालिकाले केही बिषादी दिएको भएपनि कृषकहरुले कृषि शाखाकै कर्मचारीले लेखिदिएको औषधी निजी पसलबाट किनेर लागेका रहेछन् ।
बिषादी लिन नगरपालिका आउने मध्येकी मन्जु शिवाले आफुले प्रतिकेजी छ सयका दरले किनेर एक बिघा खेतमा मकै लगाएको तर हाल किराको प्रकोपले मकै सखाप हुन लागेको बताइन् । उनले नगरपालिकाबाट टाठाबाठा र खेतीपाती नै नगर्नेहरुले पनि कृषिजन्य सामग्री, बिउ बिजन र बिषादीको पाउने गरेको बताइन् । टोल बिकास समिति सदस्य समेत रहेकी मञ्जुले वडा र टोल मार्फत कृषकलाइ कुषि सामग्री वा बीउ बिषादी दिएकोे आफूले थाहा नपाएको बताईन् ।
बेलबारी मात्रै होइन, अहिले जताततै कृषकले रोपेका मकैमा किराको महामारी छ । धेरैजसो मकै बाली लगाएका कृषकहरु हाल अमेरिकन फौजी किरा र कटम्स किराको प्रकोपबाट पिडित भएका छन् तर स्थानीय तहहरुले किसानका समस्या बुझ्न र समाधान गर्न सकेका छैनन् ।



















