काठमाडौँ — ललितपुर महानगरपालिका–२६ ढोलाहिटीमा होली मनाएर फर्कने क्रममा आइतबार दुई जनाको हत्या खाजाघर सञ्चालकले नै गरेको खुलेको छ । हत्या हुनुको कारण रिसइबी र मदिरा सेवन भएको खुलेको छ ।
जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार मदिरा सेवनका क्रममा दुई समूहका युवाबीच सामान्य विषयमा विवाद सिर्जना हुँदा उत्पन्न रिसिइबीका कारण चक्कु हानाहान भएको र दुई जनाको मृत्यु भएको खुलेको हो । प्रहरीका अनुसार डि पोपिना खाजाघरका सञ्चालक ३१ वर्षीय विजय राईको चक्कु प्रहारबाट रोबस राई र पूजन राईको मृत्यु भएको हो ।
आइतबार राति दुई समूहका युवाहरु होलीमा रङ खेलेर राति खाजा खान ढोलाहिटीको डी पोपिना खाजाघरमा पुगेका थिए । सोही क्रममा उनीहरुले मदिरा सेवन गरेका थिए । राति १० बजेतिर भएको झडपमा पाँचथर घर भई ढोलाहिटी बस्ने २८ वर्षीय रोबस राई र सुनसरी घर भएका ३० वर्षीय पुजन राईको मृत्यु भएको थियो । मृतकहरु दुवै जना फरक फरुक समूहका रहेको प्रहरीले जनाएको छ ।
रोबसको समूह राति मदिरा सेवन गर्न डी पोपिना खाजा घरमा पुगेको थियो । पुजन राईको अर्को समूह पहिल्यैदेखि मदिरा सेवन गरेर बसेको थियो । पुजनको समूहले रोबसको समूहलाई मदिरा सेवन गरेको बेला हेपेको र ‘घर जा’ भन्दै धकेल्न थालेपछि विवाद सुरु भएको देखिएको एसपी नरेशराज सुवेदीले बताए ।
विवाद भएपछि रोबसको समूहका युवाले ९ बजेर ५८ मिनेटमा रोबसलाई फोन गर्दै तत्कालै खाजा घरमा बोलाएका थिए । रोबस खाजाघरमा पुगेपछि दुई पक्षबीच झडप भएको प्रहरीले जनाएको छ ।
प्रहरीले सोमबार बिहानीपख साढे ४ बजेसम्म १८ जनालाई पक्राउ गरेको छ । उनीहरु सबैले मदिरा सेवन गरेको पाइएको प्रहरीले जनाएको छ । स्थानीयसँग प्रहरीले सोधपुछ गर्दा कसैले पनि घटनाबारे जानकारी नभएको दाबी गरेका छन् । खाजाघरका छिमेकीले पनि घटनाबारे आफूहरुलाई केही जानकारी नभएको बताएका छन् । मोबाइल लोकेसन तथा कल डिटेल रिपोर्ट, सिसी टिभी फुटेज मार्फत प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।




















