विराटनगर — पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिका लागि प्रतिस्पर्धामा रहेका सञ्जेश कोइरालाको निधन भएको छ । विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त दिएर छनौटमा परेका १७ जना दाबेदारमध्येका कोइरालाको उपचारका क्रममा निधन भएको हो  । 

उपकुलपति छनौट तथा सिफारिस समितिले सोमबार सूचना मार्फत उम्मेदवारहरूको प्रस्तुतिकरणको तालिका सार्वजनिक गरेको थियो ।उपचारका लागि काठमाडौँको नर्भिक अस्पतालमा भर्ना भएका ६३ वर्षीय कोइरालाको मंगलबार दिउँसो निधन भएको पारिवारिक श्रोतले जनाएको छ । 

उच्च रक्तचाप सम्बन्धी समस्याको उपचार गराउँदै आएका कोइरालाको मिर्गौलामासमेत समस्या देखिएपछि काठमाडौँस्थित नर्भिक अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा क्रममा निधन भएको बताइएको छ ।

सेवा आयोगको रजिष्ट्रार तथा प्राध्यापक संघको सभापति समेत भइसकेका कोइराला यसअघि पूर्वाञ्चल विश्वविद्यालयको योजना महाशाखा प्रमुख थिए । त्यसपछि उनी चार वर्षका लागि अनुगमन तथा मूल्यांकन केन्द्रको प्रमुख नियुक्त भएका थिए ।