काठमाडौं — सरकारी वकिल कार्यालयले रूपन्देहीको सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको आरोपमा २८ जनाविरूद्ध मुद्दा दायर गरेको छ।
सहकारीका ८ हजारभन्दा बढी बचतकर्ताको ९६ करोड रूपैयाँ हिनामिना गरेको आरोपमा सहकारीका संरक्षक जिबी राई र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनसहित २८ जनाविरूद्ध कार्यालयले मुद्दा दर्ता गरेको हो। इलाका प्रहरी कार्यालय, बुटवलले दुई महिनासम्म अनुसन्धान प्रतिवेदन बुझाएपछि कार्यालयले सोमबार जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो।
मुद्दा चलाइएकाहरुमा जिबी राई, ओमप्रकाश गुरूङ, कुमार रम्तेल, दुर्गा चापागाईं पाण्डे, दीपेश पुन, भविश्वर अर्याल, निता थापा, दीपक न्यौपाने, रोशनी गुरूङ, सागर केसी, सुरज श्रेष्ठ, राजु बराल, भूपेन्द्र राई, देवेन्द्रबाबु राई, धिरजकुमार दास, असरफ अलि सिद्धिकी, बुद्धि गुरूङ, दिनेश रोका, आशिष आनन्द, मजहर मोहम्मद, लिगल ढुंगाना, मन प्रसाद गुरूङ, पौ बहादुर गुरूङ, स्यान्ड्रिक राजभण्डारी, आशिष रानाभाट, हेमन्त अधिकारी, कविता तामाङ र नवीन अछामीलाई प्रतिवादी बनाएर मुद्दा दर्ता भएको जिल्ला अदालत रूपन्देहीका सूचना अधिकारी अनन्त मरासिनीले जानकारी दिए। बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाममा पटक पटक गोर्खा मिडिया प्रालिमा रकम आएको देखिए पनि लामिछानेलाई प्रतिवादी बनाइएको छैन ।
जिल्ला सरकारी वकिल कार्यालयलले जिल्ला अदालत रुपन्देहीमा दायर गरेको अभियोजनमा उल्लेख भएअनुसार ग्यालेक्सी टेलिभिजनको एक लाख ८० हजार कित्ता सेयर बराबर एक करोड ८० लाख र थप ऋण वापत दुई करोड रुपैयाँ लामिछानेको नाममा गएको देखिएको छ ।
गोर्खा मिडिया नेटवर्कको ग्लोबल आइएमई बैंकको खाता नम्बर ००१–००१–०१५–००००२२४ मार्फत् रवि लामिछानेको नाममा जम्मा हुँदा सेवा शुल्क कट्टी गरेर एक करोड ९६ लाख रकम जम्मा भएको देखिएको हो । उक्त रकम २०७७ साल चैत १८ गते जम्मा भएको अभिलेख सरकारी वकिल कार्यालयले अदालत पेश गरेको अभियोजनमा उल्लेख छ ।
सो सहकारीबाट पटक पटक गरेर गोर्खा मिडिया प्रालिमा रकम आएको देखिए पनि लामिछानेलाई भने प्रतिवादी बनाइएको छैन । लामिछाने निकट स्रोतले दिएको जानकारीअनुसार ऋण लिँदैमा प्रतिवादी बनाइहाल्नुपर्छ भन्ने लाग्दैन । ओखलढुंगाका गितेन्द्रबाबु राई (जीबी), स्याङ्जाका ओमप्रकाश गुरुङ, रोल्पाका दिपेशकुमार पुनलगायतका २८ जनालाई प्रतिवादी बनाइएको छ ।
पुन पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा हुन् । अहिलेसम्म उक्त सहकारी प्रकरणमा तीनजना पक्राउ परेका छन् । २८ जना प्रतिवादी बनाइएको मुद्दामा ८६ करोड १८ लाख २३ हजार ७५४ बिगो भराउन माग गरिएको छ।



















